ad ad

ग्लोबल


श्रीलंकामा चुनिए असफल हिंसात्मक विद्रोह गरेको वामपन्थी पार्टीबाट राष्ट्रपति

मार्क्सवादी दिसानायकेले सक्लान् आर्थिक संकट समाधान गर्न?
श्रीलंकामा चुनिए असफल हिंसात्मक विद्रोह गरेको वामपन्थी पार्टीबाट राष्ट्रपति

श्रीलंकाको राष्ट्रपतिमा विजयी भएका अनुरा कुमारा दिसानायके


नेपालखबर
असोज ६, २०८१ आइतबार २०:३,

उनले भारत सरकारबाट असम्भवप्रायः निमन्त्रणा पाए। 

गत फेब्रुअरीमा अनुरा कुमारा दिसानायकेले नयाँ दिल्ली भ्रमण गरे। जहाँ उनले भारतका विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र अन्य वरिष्ठ कूटनीतिज्ञहरूसँग भेट गरे।

दिसानायके सरकारमा थिएनन्। २२५ सिटको संसदमा उनको पार्टीसँग जम्मा तीन सिट थियो। उनको पार्टीलाई प्रायः भारतको भूराजनीतिक शत्रु चीननिकट पनि मानिन्थ्यो।

तैपनि भारतले उनलाई महत्त्व दिएर निम्त्यायो। यो श्रीलंकामा उनको बढ्दो शक्तिको एउटा संकेत थियो। उनका चुनावी सभामा मानिसहरूको बाक्लो उपस्थिति थियो। केही सर्वेक्षणहरूले उनलाई अगाडि देखाएका थिए।

नभन्दै उनले शनिबार भएको श्रीलंकाको राष्ट्रपतिको चुनाव जितेका छन्।

राष्ट्रपति रनिल विक्रमासिंगे, राजापाक्षे परिवारका उत्तराधिकारी नमाल राजापाक्षे, विपक्षी नेता तथा पूर्वराष्ट्रपति आर प्रेमदासाका छोरा सजित प्रेमदासजस्ता चिरपरिचित उम्मेदवारलाई हराएर ५५ वर्षका अनुरा कुमारा दिसानायकेले चुनाव जिते।

सत्तामा कहिल्यै जम्न नसकेको जनता विमुक्ति पेरामुना (जेभीपी) का नेता हुन् उनी। जसले विगतमा दुईपटक असफल हिंसात्मक विद्रोह गरेको थियो।

राजापाक्षे परिवारलाई लखेट्न भएको विद्रोहको नेतृत्व कुनै पनि दलले दाबी गरेन। तर, जेभीपीले सक्रिय सहभागिता जनाएको थियो। राजापाक्षेले राजीनामा दिएपछि उत्पन्न भएको शक्ति शून्यताको अवस्थामा दिसानायके हस्तक्षेपकारी नेताका रूपमा उदाएका थिए। उनले जनतालाई व्यापक परिवर्तन, सामाजिक न्याय र भ्रष्टाचारविरुद्ध उभिन आह्वान गरेका थिए। 

यससँगै उनको पार्टी विश्वसनीय र प्रमुख राजनीतिक शक्तिका रूपमा उदायो। पार्टीसँगै दिसानायकेको व्यक्तिगत आकर्षण पनि चुलियो।

दिसानायके नेसनल पिपुल्स पावर नामक गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका थिए। गरिबीमा रहेका जनतालाई सहयोग गर्ने र भ्रष्टाचारीलाई कारबाही गर्ने वाचाका कारण उनले सबैभन्दा बढी मत पाएको विश्लेषण गरिएको छ। 

गरिब परिवारमा जन्मेका दिसानायके
कोलम्बोबाट करिब १७७ सय किलोमिटर टाढा रहेको थम्बुट्टेगामा नामक स्थानमा गरिब परिवारमा जन्मेका दिसानायके आफ्नो गाउँबाट विश्वविद्यालयमा भर्ना हुने पहिलो विद्यार्थी थिए।

पहिले युनिभर्सिटी अफ पेरादेनियामा भर्ना भएका उनले आफूमाथि राजनीतिक विचारका कारण धम्की आएपछि युनिभर्सिटी अफ केलानिया सरेको बताएका छन्। 

विज्ञान विषयमा उनले १९९५ मा स्नातक पास गरे र राजनीतिमा सक्रिय भए। १९८७ मै उनी जेभीपीमा आबद्ध भइसकेका थिए।

‘म जागिर खान र सेटल हुन कहिल्यै इच्छुक थिइनँ। राजनीतिमा मेरो जोस थियो। म सधैँ यो समाजलाई बदल्न र सुधार्न चाहन्थेँ,’ उनले भनेका छन्।

१९९८ सम्ममा उनी जेभीपीको निर्णायक समिति पोलिट्ब्युरोमा पुगिसकेका थिए। तर, सन् २००० मा सांसद चुनिएपछि उनको खास राजनीतिक आरोह सुरु भयो। 

जेभीपीले २००४ मा श्रीलंका फ्रिडम पार्टीसँग गठबन्धन गर्‍यो। त्यसमा उनले महत्त्वपूर्ण भूमिका खेले र चन्द्रिका कुमारातुंगाको सरकारमा कृषिमन्त्री पनि बने। तर, तमिल टाइगर्स र सरकारबीच सुनामी राहतका लागि भएको सहमतिमा असहमति जनाउँदै उनले र उनका पार्टीका मन्त्रीहरूले राजीनामा दिएका थिए। 

२०१४ मा उनी पार्टीको नेता भए। नेतृत्वमा पुगेपछि उनले पार्टीको छवि बदल्ने कोसिस गरे। 

१९७१ र १९८७ मा दुईपटक हिंसात्मक विद्रोह गरेको जेभीपी दुवैपटक असफल भएको थियो। उनले त्यो हिंसात्मक विगतसँग पार्टीको नाता टुटाउने कोसिस गरे। उनले सार्वजनिक रूपमै ती घटनामा पार्टीको सहभागितालाई लिएर दुःख व्यक्त गरे।

‘१९८८/८९ को अवधि हाम्रा लागि भयानक आश्चर्यको समय थियो। कसरी त्यस्तो भयो, हामी कल्पना गर्न सक्दैनौँ। हामी स्वीकार्छौं, कयौँ अत्याचार भए। हुनै नहुने घटना भए। हामी स्वीकार्छौं,’ उनले डेली मिररसँगको अन्तर्वार्तामा भनेका छन्, ‘त्यो प्रलयकारी अवधिको २५ वर्ष बित्यो। यसबाट हामीले तितो पाठ सिक्यौँ र जेभीपीको हातबाट अब त्यस्तो घटना फेरि नहुने वाचा गर्छौं।’

दिसानायके पहिलोपटक २०१९ मा राष्ट्रपतिमा उठेका थिए। तर, उनले मात्र ३ प्रतिशत मत पाएका थिए।

‘हामीमध्येकै एक’
श्रीलंका आर्थिक संकटमा परेपछि २०२२ यता जेभीपीले मतदाताको असन्तुष्टिलाई उपयोग गर्ने कोसिस गर्दै आएको छ। सो पार्टीले आफूलाई व्यवस्था परिवर्तनको आवाज ठान्ने गरेको छ।

दिसानायके भ्रष्टाचारविरोधी अडानका कारण परिचित छन्। उनले विगतका सरकारहरूलाई पनि जवाफदेही हुन आह्वान गर्दै आएका छन्।

मतदाताले अलग राजनीतिक अभ्यास र संस्था खोजेको युनिभर्सिटी अफ कोलम्बोका राजनीतिशास्त्री प्रदीप पेरिस बताउँछन्।

‘यो नतिजाले के देखाउँछ भने २०२२ मा हामीले देखेको विद्रोह अझै समाप्त भएको छैन,’ उनी भन्छन्।

उनको निर्वाचनले श्रीलंकामा ‘शासन परिवर्तन’ को छाप छाड्ने सेन्टर फर पोलिसी अल्टरनेटिभ्सका कार्यकारी निर्देशक पाइकियासोथी सर्वनामुत्तु बताउँछन्।

‘उनको चुनावी वाचाको मुख्य हिस्सा भनेको भ्रष्टाचारीमाथि कडा कारबाही पनि थियो,’ उनी भन्छन्, ‘तर, मेरो विचारमा सबैभन्दा मुख्य कुरा के हो भने उनी धेरै हदसम्म जनताका मान्छे हुन्। मानिसहरूमा उनी कुनै वंशका होइनन, कोलम्बोका होइनन्, त्यसकारण हामीमध्येकै एक हुन् भन्ने भाव छ।’ 

कतिपयले उनलाई चमत्कारी व्यक्तित्त्व भएका नेता मान्ने गरेका छन्। दिसानायकेका लागि सुरुवाती एक वर्ष वास्तविक परीक्षा हुने उनको भनाइ छ। 

‘यदि उनले ठूलो माछालाई जेल हाल्न सकेनन् भने उनले केही समस्या सामना गर्नुपर्नेछ,’ उनी भन्छन्, ‘अर्कोतिर, उनले लोककल्याण, अनुदानको वाचा गरेका छन्। तर, पैसा कहाँबाट आउँछ?’

वामपन्थी राष्ट्रपतिको आर्थिक नीतिमाथि प्रश्न
उनले कर घटाउने, सार्वजनिक सेवा राम्रो पार्ने, पर्यटन र स्थानीय आर्थिक गतिविधिलाई ध्यान दिने वाचा गरेका छन्।

तर, श्रीलंका अभूतपूर्व संकटसँग जुधिरहेको छ, केही वर्षयता। वामपन्थी राष्ट्रपतिले त्यस्तो आर्थिक संकट साम्य पार्न नसक्ने दाबी समेत कतिपयले गर्दै आएका छन्।

‘तर, पैसा कहाँबाट आउँछ भन्ने स्पष्ट योजना उनले अगाडि सार्न सकेका छैनन्,’ सर्वनामुत्तु भन्छन्, ‘उनको आर्थिक नीति हेर्ने टिमको विज्ञता र अनुभवमाथि पनि प्रश्न छन्। उनीहरूको परीक्षित होइनन्। र, कतिपय त जेभीपीको मार्क्सवादी पृष्ठभूमिका छन्।’

आलोचकहरूले उनलाई ‘श्रीलंकाली माओवाद, सिंहला जातीय सर्वोच्चता र आर्थिक पपुलिजमको मिश्रण’ भएको पनि बताएका छन्।

श्रीलंकाको वैदेशिक ऋण ४० अर्ब डलर छ। त्यसमध्ये १२.६ अर्ब डलर ऋणको भाका सार्न सुरुवाती सम्झौता भएको छ। अब सो सुरुवाती सम्झौता समेत जोखिममा पर्नसक्ने चिन्ता व्यक्त गरिँदै आएको छ।

यस्तोमा, नयाँ नेताहरूले जनतालाई परिवर्तनको अभास दिलाउन नसके पहिलेका शासकहरूले भोगेकै आक्रोश उनीहरूले पनि भोग्नुपर्ने चेतावनी विश्लेषकहरूले दिएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .