ad ad

कारोबार


महँगिएको सुन धितो राख्दै सस्तो ब्याजमा ऋण निकाल्ने बढे

महँगिएको सुन धितो राख्दै सस्तो ब्याजमा ऋण निकाल्ने बढे

सम्झना घिमिरे
असोज ७, २०८१ सोमबार १८:१०, काठमाडौँ

बैंक तथा वित्तीय संस्थाले दिने ऋणको ब्याजदर एकल अंकमा आएसँगै महंगिएको सुनचाँदी धितो राखेर ऋण लिनेहरु बढ्नथालेका छन्। 

सुनको मूल्य बढ्दा धितोको मूल्यांकन समेत बढ्ने हुँदा घटेको ब्याजको मौका छोपेर ऋण लिनेहरु बढेका हुन्। 

नेपाल राष्ट्र बैंकका अनुसार एक महिनामै सुनचाँदी धितो राखेर ऋणीले बैंक तथा वित्तीय संस्थाहरुबाट १ अर्ब ७३ करोड रुपैयाँबराबरको कर्जा लगेका छन्। 

गत असार मसान्तसम्म सुनचाँदी धितोबापत ५८ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो। साउनमा आउँदा यस्तो कर्जा ६० अर्ब २१ करोड रुपैयाँ पुगेको हो। 

सोमबार सुनको मूल्य १ लाख ५९ हजार २ सय रुपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च हो। सुनले मूल्यमा नयाँ ‘रेकर्ड’ कायम गरिरहँदा ऋणीले त्यसको फाइदा उठाउँदै धितो राखेर कर्जा लिन थालेका हुन्। 

मूल्य बढेसँगै धितोबापतको मूल्यांकन स्वतः बढ्ने हुँदा कर्जा पनि अन्य समयको तुलनामा बढी पाइन्छ। बैंकहरुले धितो मूल्यांकन गर्दा बढेको मूल्यलाई आधार मानेर सोहीअनुसार कर्जा प्रवाह गर्छन्। यही मौकामा ऋणीले सुनचाँदी धितो राखेर कर्जा बढाएका हुन्। 

विगत वर्षहरुको तुलनामा यो वर्ष सुन धितो राखेर प्रवाह हुने कर्जा बढ्ने सम्भावना छ। आर्थिक वर्षको पहिलो महिना साउनमा नै करिब २ अर्बले कर्जा गएपछि यो वर्ष अन्य वर्षहरुभन्दा बढी कर्जा जाने देखिएको छ। 

केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४३ अर्ब ११ करोड रुपैयाँबराबरको सुन धितो राखेर ऋणीले कर्जा लगेका थिए भने आव २०७८/७९ मा ५२ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगेका थिए। त्यसयता आव २०७९/८० मा ५५ अर्ब ५३ करोड रुपैयाँ ऋण लगेका ऋणीले गत आव २०८०/८१ मा ५८ अर्ब ४८ करोड रुपैयाँ सुन धितो राखेर कर्जा लगेका हुन्। साउन महिनामा यस्तो कर्जा २.९ प्रतिशतले बढेर ६० अर्ब २१ करोड रुपैयाँमा पुगेको छ। 

अहिले वाणिज्य बैंकहरुले ९.६८ प्रतिशत औसत ब्याजदरमा कर्जा दिँदै आएका छन्। गत वर्ष सोही अवधिमा ऋणीले यसरी कर्जा लिँदा औसतमा १२.२४ प्रतिशतसम्मको ब्याज तिर्नुपरेको थियो। 

पछिल्लो ६ महिनायता बैंक तथा वित्तीय संस्थाहरुसँग कर्जा लगानी गर्न योग्य रकम प्रशस्त भएपछि बैंकहरुको कर्जाको ब्याजदर एकल अंकमा ओर्लिएको छ। आर्थिक सुस्ततामा सुधार आउन नसक्दा बैंक तथा वित्तीय संस्थाहरुबाट अपेक्षित कर्जा प्रवाह हुनसकेको छैन। अहिले कर्जा निक्षेप अनुपात ७८ प्रतिशतले ओर्लिनपुगेको छ। योसँगै कर्जाको माग घटेर ब्याजदर एकल अंकमा आउँदा सुनचाँदी धितो कर्जा बढेको छ। 

सामान्यता एकल अंकमा ब्याजदर ओर्लिँदा सेयरबजार र सुनमा लगानी बढ्छ। सेवाग्राहीहरुले कर्जाको ब्याजदर घटेको मौका छोपेर यी क्षेत्रमा लगानी गर्ने गर्छन्। तर पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्यले उच्चतम ‘रेकर्ड’ कायम गरिरहेको छ भने सेयरबजार पनि घट्दो लयमा नै छ। यो अवस्थामा बढेको सुनको मूल्यको फाइदा उठाउँदै बैंकबाट धितो राखेर लिइने ऋणलाई बढाएका छन्।

नेपाल बैंकका प्रमख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डे धितो मूल्यांकन बढेसँगै खर्च जोहो गर्नका लागि धितो राख्नेहरु बढेको बताउँछन्। 

‘एक वर्ष अघिसम्म १ लाख रुपैयाँ बजार मूल्य भएको सुनको धितो मूल्यांकन र जर्तीसहित कटाएर ऋणीले ५६ हजार रुपैयाँसम्म ऋण पाउन सक्ने थिए। तर अहिले सोही सुन १ लाख ५९ हजारमा हुँदा धितो मूल्यांकन बढेर ऋणीले ७५ हजारसम्म ऋण पाउन सक्छन्। यसले कर्जा लिने ग्राहक बढाएको हो’, उनले नेपालखबरसँग भने।  

राष्ट्र बैंकका अनुसार साउन महिनामा कुल ६० अर्ब २१ करोड रुपैयाँ सुन धितो राखेर कर्जा प्रवाह हुँदा वाणिज्य बैंकहरुबाट ५५ अर्ब ५४ करोड रुपैयाँ, विकास बैंकहरुबाट १ अर्ब ६५ करोड रुपैयाँ, फाइनान्स कम्पनीहरुबाट ३ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। 

बैंक तथा वित्तीय संस्थाहरुले कर्जा नगएको बेला सुनचाँदी धितोमै पनि कर्जा प्रवाह बढाउन लागेका छन्। १५ वटा वाणिज्य बैंकहरुले अर्बमा कर्जा प्रवाह गरिरहँदा ५ वटा वाणिज्य बैंकहरुले भने साउन महिनामा सुनचाँदी धितोमा कर्जा प्रवाह गरेका छैनन्। 

अन्य धितोको तुलनामा बैंकहरुका लागि सुनचाँदी धितो बढी खर्चिलो हुने गर्छ। सुन परीक्षणदेखि मूल्यांकनसम्मका कार्यहरुले खर्चिलो बनाउने हुँदा  बैंकहरु यस प्रकृतिको धितोमा राख्न उति उत्साहित हुँदैनन्। सीईओ पाण्डे सबै बैंकहरुसँग सुन परीक्षण गर्नका लागि उपकरणसँगै दक्ष जनशक्ति नहुँदा पनि ऋण प्रवाह नगरेको बताउँछन्। यद्यपि दुई सरकारीसहित अन्य १३ बैंकले भने यसखाले ऋण प्रवाह बढाएका छन्।

सबैभन्दा धेरै नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईएमबी बैंक र प्राइम बैंकले सुनचाँदी धितोमा ऋण दिँदा स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन, नेपाल एसबीआई, एभरेस्ट र ग्लोबल आईएमई बैंकले धितोमा कर्जा प्रवाह गरेका छैनन्। 

राष्ट्र बैंकका अनुसार नेपाल बैंकले साउन महिनासम्म २३ अर्ब ३८ करोड रुपैयाँ सुन धितोमा कर्जा प्रवाह गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। 

सीईओ पाण्डे नेपाल बैंकले यसखाले कर्जा उच्च पहाडी क्षेत्रमा बढी भएको बताउँछन्। 

‘सहरी क्षेत्रसँगै यस पटक उच्च पहाडी र पहाडी क्षेत्रमा पनि सुनचाँदी धितो राखेर कर्जा लिने क्रम बढेको छ। मूल्य बढेपछि आफूसँग भएको सुनको कर्जा धेरै पाइने भएपछि सामाजिक खर्च गर्नका लागि पनि धितो राखेर ऋण लिने बढेका हुन्’, उनले भने।  

यता प्राइम बैंकले ६ अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गर्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब १८ करोड, लक्ष्मी सनराइज बैंकले ६८ करोड रुपैयाँ सुनचाँदी धितोमा कर्जा प्रवाह गरेको छ। 

योबाहेक नबिलले ५१ करोड, एनआईसी एसियाले ३ करोड, माछापुच्छ्रेले १२ करोड, कुमारीले २५ लाख, सिद्धार्थले १ करोड, कृषि विकास बैंकले १ करोड, सिटिजन्सले ७० करोड, प्रभु बैंकले ७ करोड, सानिमा बैंकले ८ लाख र एनएमबी बैंकले ६ लाख रुपैयाँबराबरको कर्जा प्रवाह गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .