ad ad

कारोबार


पूर्वराजा ज्ञानेन्द्र शाहकाे ग्रुपले सोल्टी होटलकाे सेयर धिताेपत्र बजारबाट किन्नुपर्ने

पूर्वराजा ज्ञानेन्द्र शाहकाे ग्रुपले सोल्टी होटलकाे सेयर धिताेपत्र बजारबाट किन्नुपर्ने

दीपक भट्ट
पुस २८, २०७६ सोमबार ८:०,

पाँचतारे होटल सोल्टीमा १० प्रतिशत लगानी रहेको हङकङको कम्पनी ‘होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेड’ बाहिरिने प्रक्रिया टुंग्याउन उद्योग विभागले नेपाल स्टक एक्सचेन्जको राय माग गरेको छ। नेपालमा उद्याेग दर्ताविनै होलिडेले होटलमा लगानी गरेको कारण कम्पनीको सेयर खरिदबिक्री प्रक्रिया टुंग्याउन विभाग अलमलिएको हो।

सोल्टीमा होलिडेको १० प्रतिशत अर्थात् ७२ लाख ५० हजार अमेरिकी डलरको ७३ लाख २६ हजार कित्ता सेयर रहेको छ। उक्त सेयर सोल्टी होटलकै अर्को लगानीकर्ता सोल्टी इन्टरप्राइजेज कम्पनीले किन्ने सहमति समेत भइसके पनि विभागमा आएर प्रक्रिया रोकिएको छ। स्रोतका अनुसार विभागले उक्त सेयर बिक्री सेयरबजारमार्फत जानुपर्ने बताएको छ। यसका लागि ‘सेकेन्डरी मार्केट’मा जानुपर्ने र त्यसपछि मात्रै नामसारी हुने भएकाले के गर्ने भन्नेबारे नेप्सेसँग राय मागेको हो।

उक्त सेयर खरिदकर्ता र बिक्रेता कम्पनीबीच सबै सहमति भइसकेपछि प्रक्रिया कम्पनी रजिस्ट्रार हुँदै उद्योग विभागमा पुगेर अड्किएको हो। उद्योग विभागले सेयर नामसारी गराउन नसकेपछि नेप्सेसँग सुझाव मागिएको बारे होटलले जानकारी पाएको स्रोतले जनाएको छ।

नेप्सेका सीईओ चन्द्र सिंह साउदले पनि सोल्टी होटलको राय मागको पत्र आएको तर त्यसको जवाफ भने नदिएको नेपालखबरलाई जानकारी दिए। उनले भने, ‘अहिले नेप्से आफ्नो वार्षिक उत्सवको कार्यक्रममा जुटेकोले धेरै फाइलहरु हेर्न भ्याएका छैनौँ। त्यसमा सोल्टी होटलको पनि फाइल छ। तर आवश्यक सुझावसहितको प्रतिउत्तर केही दिनमा दिन्छौँ।’

किन्ने र बेच्ने कम्पनीबीच सहमति भइसकेको र त्यसलाई होटल सञ्चालक समितिले स्वीकृति दिए पनि कानुनअनुसार उक्त सेयर दोस्रो बजारबाट नै बिक्री हुनुपर्ने स्थिति देखिएकोले राय÷सुझावअनुसार अघि बढ्नुपरेको विभाग स्रोतले जानकारी दियो।

याे पनि
होटल सोल्टीबाट बाहिरिँदै हङकङकाे कम्पनी, साढे ७२ करोड लगानी फिर्ता हुने

विभागले के भन्यो ? 
होलिडेको उक्त सेयर बिक्रीका लागि सोल्टी इन्टरप्राइजेजलाई स्वीकृति दिने र सेयर बिक्रीबापतको रकम विदेशी कम्पनीलाई फिर्ता पठाउन दिन राष्ट्र बैंकलाई सिफारिस गर्नेबारे विभागमा गत २५ गते विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक उदय कुमार गुप्ताको संयोजकत्वमा बैठक बसेको थियो।

सोही बैठकले नेप्सेसँग राय मागेर सोही आधारमा निर्णय लिने बताएको हो। बैठकमा होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेड उद्योग दर्ता नभई कम्पनीमा विदेशी लगानी भई सोहीबाट सोल्टी होटल लिमिटेड उद्योगको सेयर खरिदबिक्री भएको देखिएकाे बारे छलफल भएकाे थियाे। 

विभागका अनुसार यसलाई विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन आउनुपूर्व नै कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभाग, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड समेतको तत्कालीन कानुनबमोजिम मान्यता दिई सेयर लगत समेत कायम गरेको अवस्थामा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ को दफा ३२ (२) को प्रावधान उपदफा १ मा जुनसुकै कुरा लेखिएको भए पनि यो ऐन प्रारम्भ हुनुअगावै स्वीकृति लिएको विदेशी लगानी हकमा त्यस्तो लगानी हुँदाको बखतमा बहाल रहेको विदेशी लगानीसम्बन्धी प्रचलित कानुनमा भएको अवस्था लागू हुनेछ। सोबमोजिम कुनै विदेशी लगानीकर्ताले पाएको कुनै सुविधामा असर पर्ने गरी निजको मञ्जुरीविना कुनै परिर्वतन गरिनेछैन।

यो व्यवस्थाअनुसार होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडले सोल्टी होटलको आफ्नो नाममा रहेको सेयर सोल्टी इन्स इन्टरप्राइजेजलाई बिक्री गर्न अनुचित देखिँदैन तर प्रस्तावित सेयर खरिदबिक्री नेपाल स्टक एक्सचेन्जमार्फत दोस्रो बजारबाट हुनुपर्ने देखिँदा यस सम्बन्धमा प्रचलित धितोपत्र ऐन र नियमावली आकर्षित हुने वा नहुने यस सम्बन्धमा नेप्सेको सल्लाहअनुसार अघि बढ्ने जानकारी विभागले सोल्टी होटललाई दिएको हो।

सोल्टी होटलमा २०६३ सालसम्म एक अर्ब २६ करोड ७० लाख दुई हजार एक सय ५५ रुपैयाँ मात्रै लगानी रहेको उक्त कम्पनीले पुँजी वृद्धि गर्दै आफ्नै लगानीकर्ताबाट एक अर्ब ६३ करोड ८६ लाख ५ हजार ५ सय ४३ रुपैयाँ लगानी थप गरी २ अर्ब ९० करोड ५६ लाख ७ हजार ६ सय ९८ रुपैयाँ पुर्याएको थियो।

उक्त होटलमा होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको १० प्रतिशत, इन्टरप्राइज प्रालिको ३९ दशमलव ५७, वायुसेवा निगमको १२ दशमलव २६ र सर्वसाधारणको ३८ दशमलव १७ प्रतिशत लगानी रहेको छ। होलिडे इन्स इन्भेस्टमेन्ट लिमिटेडको सेयर खरिद गर्न लागेको सोल्टी इन्टरप्राइजेज कम्पनी भने पूर्वराजा ज्ञानेन्द्र शाह, सिद्धार्थ राणालगायतको कम्पनी हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .