कारोबार


जलविद्युतको विश्व भेलामा मन्त्री पुनको आग्रहः नेपालमा लगानी गर्न आउनूस्

जलविद्युतको विश्व भेलामा मन्त्री पुनको आग्रहः नेपालमा लगानी गर्न आउनूस्

नेपालखबर
पुस २७, २०७६ आइतबार १४:३६,

उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नेपालमा जलविद्युत क्षेत्रमा लगानी गर्न अन्तर्राट्रिय समूदायलाई अपिल गरेका छन्।

अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघ (इरिना) को अबुधाबीमा जारी १०औं साधारणसभाको जलविद्युत सत्रमा आइतबार बोल्दै मन्त्री पुनले नयाँ संविधान जारी भएसँगै नेपालमा राजनीतिक स्थायित्व कायम भएको तथा नेकपा नेतृत्वको सरकारले लगानीमैत्री वातावरण निर्माण गर्दै लगेको बताए।

जलविद्युत क्षेत्रमा लागानीमैत्री वातावरण निर्माणका लागि सरकारले कानूनी सुधार, क्षेत्रीयस्तरमा बजार विस्तार तथा विद्युत नियमन आयोग स्थापनाजस्ता काम गरेको उनको भनाइ थियो। मन्त्री पुनले सार्वजनिक निजी साझेदारीमा जलविद्युतमा लगानी प्रवद्र्धन गर्ने नेपाल सरकारको नीति रहेको चर्चा गर्दै ढुक्क भएर नेपालमा लगानी भित्र्याउन अपिल गरे।

नेपाल सरकारले आगामी १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको जानकारी सभालाई दिँदै मन्त्री पुनले आन्तरिक बजारमै विद्युत खपतका लागि विभिन्न योजनासमेत अघि सारेको उल्लेख गरे।

उनले विद्युत खपत बढाउन विशेष आर्थिक क्षेत्रमा कर छुट, विद्युतीय सवारी साधनमा प्रवद्र्धन, विद्युतीय उपकरण चार्जर सेन्टरहरु स्थापना गर्न लागिएको बताए। मन्त्री पुनले आइरेनालाई नेपालमा लगानीका लागि सहयोग जुटाइदिन आग्रह गर्दै विद्युत उत्पादन गर्न, प्रसारण लाइन निर्माण गर्न तथा वितरण गर्न सस्तो र प्रभावकारी प्रविधि स्थापनामा सघाउन अनुरोध गरे।

फरक प्रसंगमा मन्त्री पुनले जलवायु परिवर्तनका कारण हिमालयहरु पग्लने क्रम बढेकामा चिन्ता प्रकट गर्दै उर्जा क्षेत्रको सुरक्षाका लागि त्यसलाई रोक्न गर्नुपर्ने काममा गम्भीर हुन सबैको ध्यानाकर्षण गराए।

करिब १ सय २० मुलुकका मन्त्रीहरु सहभागी सभामा नेपालका तर्फबाट मन्त्री पुनको नेतृत्वमा प्रतिनिधिसभा सदस्यहरु राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा र भुमी त्रिपाठी तथा यूएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, उर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल, वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारी र मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईं सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad