अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१.५५ प्रतिशत रहेको पाइएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहकार्यमा गरिएको एक अध्ययनबाट अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१.५५ प्रतिशत रहेको देखिएको हो।
महासंघ र आइएफसीले ३ महिना लगाएर गरेको ‘स्टेट अफ प्राइभेट सेक्टर इन नेपाल’ अध्ययन प्रतिवेदनअनुसार अर्थतन्त्रका १८ वटा क्षेत्रमा निजी क्षेत्रको योगदान र अवस्था पत्ता लगाइएको छ।
अहिलेसम्म वास्तविक तथ्यमा आधारित भएर कस्को हिस्सा कति छ भन्ने एकिन भएको थिएन। अध्ययनमा उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, घरेलु तथा साना उद्योगमा दर्ता भइ खुलेका उद्योगले दिएको रोजगारीको अवस्थासमेत पत्ता लगाइएको छ।
अध्ययनले नेपालको कुल ग्राहस्थ्य उत्पादनमा गणना गरिने १८ वटा क्षेत्रमा निजी तथा सार्वजनिक क्षेत्रको योगदान निकालिएको हो।
पछिल्लो दशकमा निजी क्षेत्रको योगदान औसतमा ८० प्रतिशत देखिएको छ। अर्थतन्त्रमा नीजि क्षेत्रको सबैभन्दा बढी हिस्सा २०१२/१३ मा ८६.६७ प्रतिशत थियो। २०२०/२१ मा ८० प्रतिशतमा झरेको थियो।
अध्ययनअनुसार निजी क्षेत्रले सन् २०२१/२२ सम्म ५५ लाख जनालाई रोजगारी दिएको छ।
प्रतिवेदन क्षेत्रगतरूपमा हेर्दा कृषि ९७.६, खानी उत्खनन्मा ९९.६१, उत्पादनमुलक क्षेत्रमा ९९.९९, विजुली, ग्यासलगायतमा ६५.८८, खानेपानी आपूर्ति व्यवस्थापनमा, ९६.७१, निर्माण क्षेत्रमा ८४.४, होलसेल रिटेल व्यापारमा ९३.१९, यातायात तथा भण्डारणमा ९७.१८, होटल रेष्टुरेन्टमा सतप्रतिशत, सूचना प्रविधिमा ५८.६३, वित्तीय क्षेत्रमा ७१.०४, घरजग्गामा ९९.९३, व्यावसायिक, वैज्ञानिक तथा प्रविधि क्षेत्रमा ६४, प्रशासनिक सहयोगमा (आउटसोर्सिङ व्यवसाय) १०० प्रतिशत, स्वास्थ तथा सामाजिक कार्यमा ३०.६१, शिक्षामा ६२.९, मनोरञ्जन क्षेत्रमा ८६.४ प्रतिशत योगदान रहेको छ।
प्रतिवेदनका अनुसार व्यवसाय सञ्चालन गर्न ३१ प्रतिशत व्यवसायीले बैकबाट ऋण लिने गरेको अध्ययनबाट देखिएको छ। १४ प्रतिशतले व्यवसायीले सहकारीबाट ११ प्रतिशत सरसापटी लिएर व्यवसाय सञ्चालन गरेको पाइएको हो।
Shares

प्रतिक्रिया