ad ad

कारोबार


२१ वर्षपछि एउटै एजेन्डामा उद्योग महासंघ र परिसंघ

२१ वर्षपछि एउटै एजेन्डामा उद्योग महासंघ र परिसंघ

नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १८:२८, काठमाडौँ

उद्योगी व्यवसायीका दुई मुख्य छाता संगठनहरु दुई दशकपछि समान एजेन्डा बोकेर अघि बढ्ने भएका छन्। 

नेपाल उद्योग वणिज्य महासंघबाट असन्तुष्ट पक्षले सन् २००२ मा स्थापना गरेको नेपाल उद्योग परिसंघ र महासंघले आर्थिक समस्यामा एकै एजेन्डामा अघि बढ्ने जनाएका हुन्।   

परिसंघ स्थापनाको २१ वर्षसम्म यी दुई संगठनबीच पानी बाराबारको अवस्था थियो। 

उद्योगी व्यवसायीहरुको हकहितको मूल उद्देश्य लिएर स्थापना भएका दुवै संस्थाहरुले संयुक्त विज्ञप्तिहरु समेत जारी गर्दैनथे। 

उद्योग वाणिज्य महासंघको एक कार्यकाल अध्यक्ष भएका विनोद चौधरी परिसंघका संस्थापक अध्यक्ष हुन्। 

महासंघमा पशुपति मुरारका अध्यक्ष भएको समयमा महासंघको २०७३ सालको साधारणसभामा चौधरीलाई सहभागी गराएका थिए।

त्यसपछि विशेष एजेण्डाहरुमा संयुक्त विज्ञप्तिहरु पनि जारी गर्न थालिएको थियो। 

अहिले चन्द्रप्रसाद ढकाल अध्यक्ष भएपछि महासंघको टोलीले परिसंघको कार्यालय नै पुगेर अर्थतन्त्रको समस्यामा संयुक्त ऐक्यबद्धता अपनाउने बताएको हो। 

सो क्रममा नेपाल उद्योग परिसंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा स्वागत समेत गरेको छ। उक्त स्वागत भेटमा यस्तो ऐक्यबद्धता भएको हो।  

कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु सुरकृष्ण वैद्य, ज्योत्सना श्रेष्ठ, हेमराज ढकालसहित कार्यसमिति सदस्यहरुलाई गरेका थिए।  

सो अवसरमा परिसंघ र महासंघले विद्यमान अर्थतन्त्रको समस्या समाधानका लागि सहकार्य गर्ने ऐक्यबद्धता व्यक्त गरेका हुन्।  

कार्यक्रममा परिसंघका अध्यक्ष अग्रवालले वर्तमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्र सुधार, निजी क्षेत्रमैत्री ऐन, नियम निर्माणका लागि सहकार्य गर्दै सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउनुपर्ने बताए।

उनले निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि छाता संगठनहरु मिलेर समाधानका उपायसहित सरकारसमक्ष प्रस्तुत हुनुपर्ने बताए।

एक भएर अगाडि बढ्दा निजी क्षेत्रको समस्या समाधान भएको दृष्टान्त प्रस्तुत गर्दै उनले आगामी दिनमा पनि अर्थतन्त्र सुधारसहित लगानीमैत्री वातावरण निर्माणका लागि एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र चलायमान बनाउन, विद्यमान अर्थतन्त्रको चुनौती सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्ने बताए।

निजी क्षेत्रले संगठित रुपमा उठाएका विषयहरुलाई सरकारले गम्भिरता पूर्वक लिएको बताउँदै समान ध्येयका साथ अगाडि बढे समस्या समाधान हुने विश्वास व्यक्त गरे।

परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले विद्यमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न यथार्थपरक समाधानका उपायहरुसहित सरकारलाई सुझाउनुपर्ने बताए। 

परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले थप प्रभावकारी रुपमा निजी क्षेत्रका समान समस्या समाधानका लागि समान समाधानका उपायहरु खोज्नुपर्ने बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए। 
कार्यक्रममा परिसंघका उपाध्यक्ष हेमराज ढकाल, परिसंघ गभर्निङ काउन्सिल सदस्य शिवरतन सारडा, योगेश्वरलाल श्रेष्ठलगायत सहभागी रहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .