ad ad

कारोबार


यूएईमा नेपाली चालकले जिते ७१ करोड, भन्छन्- अझै गाडी चलाइरहन्छु

यूएईमा नेपाली चालकले जिते ७१ करोड, भन्छन्- अझै गाडी चलाइरहन्छु

नेपालखबर
बैशाख ६, २०८० बुधबार १७:५०, काठमाडौँ

संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका एक नेपालीको क्षणभरमै भाग्य चम्किएको छ। 

पदम नाम गरेका नेपाली चालकले यूएईको महजुजको १२४औँ ड्रमा २ करोड दिर्हाम राशिको पुरस्कार जितेका हुन्। 

२ करोड दिर्हामको बुधबारको विनिमय दरअनुसार नेपाली ७१ करोड ७० लाख हाराहारीमा हुन आउँछ। 

उनको चिठ्ठाका सबै पाँचवटा नम्बरहरु ५, १०, ४१, ४६ र ४९ मिलेको थियो। उक्त ड्रको नयाँ संरचनाअनुसार सन् २०२३ मा विशाल राशिको पुरस्कार जित्ने उनी पहिलो व्यक्ति भएको खालिजटाइम्सले जनाएको छ।  

हरेक महिना कमाउँथे ५७०० दिर्हाम, बने करोडौँका मालिक 
पदमले हरेक महिना ५७०० दिर्हाम आम्दानी गर्दै आएका छन्। काममा व्यस्त हुनुका बाबजुद उनी मानिसहरुलाई पनि सहयोग गर्दै आएका छन्। 

‘म दृष्टिविहीन र वृद्धावस्थाका मानिसहरुलाई सकेको सहयोग गर्छुृ, अब म ठूलै रकम सहयोग गर्न सक्ने भएको छु’, पदमले भनेका छन्। 

उनी २३ वर्षदेखि यूएईमा बसिरहेका छन्। त्यहाँ उनलाई ड्राइभरको रुपमा एउटा कम्पनीले लिएको थियो जहाँ उनी अहिले पनि काम गरिरहेका छन्। 

कसरी बने विजेता? 
उनले महजुजमा चिठ्ठाका टिकट बिक्री सुरु भएदेखि नै किन्नथालेका थिए। त्यसअघि यसको नाम अर्कै थियो। उनले जित्नसकेका थिएनन्। तर जब महजुज टिकट बिक्री गर्न थालियो उनले ३५ दिर्हाम र ३५० दिर्हाम जितेका थिए। 

अहिले यो उनका लागि केही खास भएको छ जसलाई पदम सपनामा समेत कल्पना गर्न सक्दैनन्। 

नेपाली प्रवासी उनले श्रीमती र छोरीलाई सोधेर १–१ अंकको लक्की नम्बर छानेका थिए। त्यसपछि उनले अन्य तीनवटा छाने। उनले आफ्नै हिसाबले नम्बर छान्ने गरेका थिए। 

उनी हरेक शनिबार राति विजेता घोषणाको पर्खाइमा हुन्थे। भर्खरै विदाबाट फर्किएका कारण गत हप्ताको संस्करण उनले हेर्न पाएका थिएनन्। 

‘मलाई अर्को दिन ड्रबाट फोन आयो। तर मैले विश्वासै गर्न सकिन र कसैले मसँग जिस्किएको सोचेँ’, उनले भने। 

तर जब उनले एपमा चेक गरे अनि थाहा पाए– उनको सपना पूरा भयो। 

‘मैले फोन लगाइहालेँ, उनीहरुले हो भने’, पदमले भने, ‘त्यसपछि त जमिन नै भासिएको महशुस भयो।’

त्यसपछि उनले श्रीमतीलाई फोन गरे। ‘उनले पनि मैले जिस्किएको सोचिन्’, पदमले भने, ‘तर जब मैले प्रमाणसहित सबै कुरा भनेँ, त्यसपछि औधी खुसी भइन्।’

जितेको रकमबाट श्रीमतीको मेडिकल खर्च व्यहोर्ने उनको योजना छ। यसबाहेक ऋण तिर्ने र छोरीको भविष्यका लागि बचत गर्ने योजना पदमले बनाएका छन्। उनले यूएईमा नै आफ्नो परिवार राख्न चाहेका छन्। त्यसका लागि केही सम्पत्ति आफ्नो घर बनाउन खर्चिनेछन्। 

करोडपति बनेका उनी आफ्नो ड्राइभर पेसा पनि जारी राख्ने र महजुज टिकट किनिरहने बताउँछन्। 

त्यही ड्रमार्फत एक फिलिपिनी प्रवासीले १० लाख दिर्हाम पुरस्कार पनि जितेका छन्। उनीबाहेक एक भारतीय प्रवासीले ४०० ग्रामको सुनको सिक्का जितेका छन्। 

यसअघि गुल्मीका भरत विकले पनि महजुजको लक्की ड्रमार्फत ३५ करोड ( १० मिलियन दिर्हामको) चिठ्ठा उपहार पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .