सरकारले बहुचर्चित तल्लो अरुण जलविद्युत् आयोजनाका लागि ९२ अर्ब ६८ करोड रुपैयाँको लगानी स्वीकृत गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा बिहीबार नयाँबानेश्वरमा बसेको लगानी बोर्डको ५३औँ बैठकले उक्त निर्णय गरेको हो।
बैठकले तल्लो अरुणसहित ५ वटा जलविद्युत परियोजनाका लागि १ खर्ब ४६ अर्ब २२ करोड वैदेशिक र २१ अर्ब ३७ करोड स्वदेशी गरी जम्मा १ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत गरेको हो।
बैठकले तल्लो अरुण जलविद्युत परियोजनाका लगानी स्वीकृत गर्दै विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौता सहमतिको दस्तावेज तयार पारेर बोर्डसमक्ष पेश गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति पनि बनाएको छ।
त्यसैगरी, १०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी-१ जलविद्युत परियोजनाको ३३ अर्ब १९ करोड, ७० मेगावाटको दूधकोसी-२ (जलेश्वर) जलविद्युत परियोजनाको २० अर्ब ३५ करोड, ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत परियोजनाको १३ अर्ब ४४ करोड र ४३ मेगावाटको अप्पर मादी खोला जलविद्युत परियोजनाका लागि ७ अर्ब ९३ करोड लगानी स्वीकृत गरिएको छ।
त्यसैगरी बोर्ड बैठकले मन्त्रिपरिषद्को निर्णयानुसार पश्चिम सेती र सेती नदी-६ जलविद्युत् परियोजना विकासका लागि एएचपीसी लिमिटेड इन्डियासँग भएको समझदारीपत्र अनुसार विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न निर्देश दिएको छ।
बोर्डले तमोर जलाशययुक्त परियोजना, लजिष्टिक परियोजनाहरु र भेहिकल म्यानुफ्याक्चरिङ एसेम्ब्ली प्लान्टको प्रगतिबारे पनि जानकारी लिएको छ।

Shares

प्रतिक्रिया