कारोबार


राष्ट्रिय वाणिज्य बैंकले ५४ नवनियुक्त कर्मचारीलाई दियो पूर्वसेवाकालीन तालिम

राष्ट्रिय वाणिज्य बैंकले ५४ नवनियुक्त कर्मचारीलाई दियो पूर्वसेवाकालीन तालिम

नेपालखबर
चैत २०, २०७९ सोमबार १२:४६, काठमाडौँ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीहरुलाई सोमबारबाट १४ दिने पूर्वसेवाकालीन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ। 

लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट बागमती र गण्डकी प्रदेशकालागि छनौट भएका उनीहरुलाई तालिम दिएको हो। 

तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सैद्धान्तिक ज्ञानले मात्र प्रतिष्पर्धामा सफलता हासिल गर्न नसकिने हुँदा यो दुईहप्ताको तालिमबाट प्राप्त हुने व्यावहारिक ज्ञानले कार्यस्थलमा नागरिकलाई सेवा दिन सहयोग पुगि संस्थाको उत्पादकत्व वृद्धि गर्न यो युवा जनशक्ति उपयोग हुने बताए। 

उनले अन्य प्रदेशका सहायकस्तरका कर्मचारीहरुको भर्ना प्रक्रिया छिट्टै पूरा भएपछि पुरानो बैंक नयाँ कर्मचारीयुक्त हुने बताए।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी वहन गर्दा अपनाउनुपर्ने कर्तव्यबोध गराउँदै ग्राहकहरुको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताए। 

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनीले आजकाल प्रविधिको प्रयोगमार्फत जोखिम बढिरहेकाले ग्राहकलाई सचेत भएर डिजिटल बैंकिङ्ग सेवा प्रयोग गर्न सिकाउनुपर्ने बताए। कार्यक्रममा मानव संसाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ५४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावलीबमोजिम शपथ गराएका थिए। 

कार्यक्रममा बैंकका विभागीय प्रमुख पदमा लक्ष्मी जि.सी., मानव संसाधन विभागका उपप्रमुख हरिबाबु आचार्यलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो। बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २६५ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad