चालू आर्थिक वर्ष २०७९/०८० को पुस मसान्तमा वाणिज्य बैंकको खराब कर्जा बढेर २.३५ प्रतिशत पुगेको छ।
गत असारमा १.२० प्रतिशत रहेको वाणिज्य बैंकहरुको खराब कर्जा दोस्रो त्रैमाससम्ममा १.१५ प्रतिशतले बढेको हो।
बैंकहरुको खराब कर्जा २०७६ यता निरन्तर सुधारिँदै आएको थियो। तर चालू आवमा भने एकाएक बढ्न थालेसँगै चर्चा बढेको छ।
२०६८ मा वाणिज्य बैंकको खराब कर्जा ३.१९ प्रतिशत थियो। जुन हालसम्मको सर्वाधिक पनि हो।
त्यसपछि भने निरन्तर घट्दै गइरहेको खराब कर्जा विस्तार घट्दै २०७९ असारमा १.२० प्रतिशतमा झरेर यो वर्ष पुन: बढेको हो।
एकाएक खराब कर्जा बढ्दा सम्रग क्षेत्र नै समस्यामा पर्ने त होइन भनेर चर्चा सुरु भएको छ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ तेस्रो त्रैमासमा बैंकहरुको खराब कर्जा सुधार हुँदै जाने बताउँछन्।
‘खराब कर्जा चालू आर्थिक वर्ष अन्त्यतिर धेरै नै सुधार हुन्छ’, उनले भने, ‘विस्तारै विकास खर्च बढ्दै जाने र समग्र क्षेत्र चलायमान हुने हुँदा कर्जा सुधार हुन्छ।’
उनले चालू आवको अन्ततिर विकास खर्च हुने हुँदा भुक्तानीको पाटो अघि बढ्न गई खराब कर्जामा सुधार हुने बताए।
कुन वर्ष कति थियो खराब कर्जा?
२०६७ असारमा वाणिज्य बैंकको खराब कर्जा २.४८ प्रतिशत थियो। जुन बढेर २०६८ असारमा ३.१९ प्रतिशत पुगेको थियो।
त्यसयता विस्तार सुधार हुँदै २०६९ असारमा २.६० प्रतिशत, २०७० मा २.५६ प्रतिशत, २०७१ मा २.९२ प्रतिशत, २०७२ मा २.६८ प्रतिशत, २०७३ मा २.४१ प्रतिश र २०७४ सालमा १.५३ प्रतिशतमा आइपुगेको थियो।
२०७५ असारमा वाणिज्य बैंकको खराब कर्जा १.५२ प्रतिशतबाट पुन बढेर २०७६ सालमा २.४१ प्रतिशत, २०७७ मा १.८१ प्रतिशत, २०७८ मा १.४० प्रतिशत, २०७९ असारमा १.२० प्रतिशत रहेको खराब कर्जा २०७९ पुस मसान्तमा २.३५ प्रतिशत पुगेको छ।
प्रतिक्रिया