ad ad

कारोबार


वैशाखदेखि कर्जाको ब्याजदर घट्ने, हाल कुन वाणिज्य बैंकको कर्जा सस्तो?

वैशाखदेखि कर्जाको ब्याजदर घट्ने, हाल कुन वाणिज्य बैंकको कर्जा सस्तो?

केशर बोगटी
चैत १२, २०७९ आइतबार १८:५१, काठमाडौँ

बैंकर्स संघले गत माघ १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको थियो। 

माघमा मुद्दतीको ब्याजदर घटाएपछि चैतदेखि लागू हुने गरी साधारण निक्षेपको ब्याजदर ०.४ प्रतिशतले घटाइयो। 

निक्षेपको ब्याजदर घटाउने निर्णय भएपछि कर्जाको ब्याजदर पनि परिवर्तन हुने देखिन्छ। तर, आगामी १ वैशाखदेखि मात्रै कर्जाको ब्याजदर परिवर्तन हुने भएको छ। 

त्रैमासिक रूपमा आधारदरमा भएको औसत घटबढको आधारमा सोही अनुपातमा कर्जाको ब्याजदर पनि घट्ने भएकाले निक्षेपको ब्याजदर घटे पनि यसको असर तत्काल देखिनेछैन। 

माघ, फागुन र चैतमा निक्षेपको ब्याजदरको आधार दर कति हुन्छ सोही अनुपातमा वैशाखमा कर्जाको ब्याजदर पनि घट्ने बैंकरहरूको भनाइ छ। बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदा बैंकको खर्चसमेत घट्ने भएकाले आधारदर पनि घट्ने हुन्छ।

वाणिज्य बैंकहरुले मासिक रुपमा निक्षेपको ब्याजदर घटाउन र बढाउन सक्ने व्यवस्था छ। तर, कर्जाको ब्याजदर भने त्रैमासपछि मात्र घटबढ हुन्छ। 

चैत मसान्तसम्म कुन वाणिज्य बैंकको कर्जा सस्तो? 
हाल सबैभन्दा सस्तो कर्जा राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराइरहेको छ। 

बैंकले न्यूनतम १४.२९ देखि १६.२५ प्रतिशतसम्म ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ। चालू आवको माघमा बैंकको आधारदर सबैभन्दा कम ९.२९ प्रतिशत रहेको छ। माघमा बैंकको कर्जा सबैभन्दा सस्तो देखिएको छ। 

त्यसैगरी दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा सस्तो देखिएको छ। चालू आवको माघ मसान्तसम्ममा स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर ९.८६ प्रतिशत छ। बैंकले आधार दरमा ५ प्रतिशत प्रिमियम थपेर कर्जा प्रवाह गरिरहेको छ। 

तेसो सस्तो ब्याजदर भएको बैंक एभरेष्ट बैंक हो। बैंकको आधार दर ९.८६ प्रतिशत छ। यसमा बैंकले ५ प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह गर्दै आइरहेको छ। जसकारण अन्य वाणिज्य बैंकहरुभन्दा नेपाल बैंकको कर्जा सस्तो छ।  

फागुनमा बैंकर्स संघले कर्जाको लिने प्रिमियम दर घटाउने निर्णय गरेको थियो। तर, प्रिमियम दर १ प्रतिशत प्रिमियम घटाउने निर्णय कार्यान्वयन आएको छैन। 

प्रिमियम दर घटाउँदा चैतमा कर्जाको ब्याजदर यसै पनि घट्ने थियो। चैतसम्म अधिकांश बैंकले ५ प्रतिशत नै प्रिमियम तोकेर कर्जा प्रवाह समेत गरिरहेका छन्।

केही बैंकहरुले ६ प्रतिशतसम्म प्रिमियम तोकेर कर्जा प्रवाह गर्दै आइरहेका छन्। 

कुन बैंकको कर्जा सबैभन्दा महँगो? 
सनराइज बैंक, सिटिजन्स बैंक, माछापुच्छ्रे, लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंकको आधार दर ११ प्रतिशतमाथि छ। 

यी वाणिज्य बैंकहरुको आधार दर उच्च हुँदा कर्जा समेत महँगो भएको हो। 

सबैभन्दा महँगो कर्जा सनराइज बैंकको छ। बैंकको फागुनमा तय गरेको आधार दर ११.४९ प्रतिशत छ। सोही आधारदरमा बैंकले ५ प्रतिशत प्रिमियम तोकर कर्जा प्रवाह गर्दै आइरहेको छ। 

त्यसैगरी सिटिजन्स बैंकको आधार दर ११.३९ प्रतिशत रहेको छ। बैंकले आधार दरमा ५ प्रतिशत प्रिमियम जोडेर कर्जा प्रवाह गरिरहेको छ। 

लक्ष्मी बैंकले ११.२२ प्रतिशत, माछापुच्छ्रे बैंकले ११.३५ प्रतिशत, प्राइम कमर्सियल बैंकले ११.३४ प्रतिशत र प्रभु बैंकको ११.२१ प्रतिशत आधार दरमा प्रिमियम तय गरी कर्जा प्रभाव गरिरहेका छन्। 

आठ वाणिज्य बैंकको आधार दर ११ प्रतिशत थोरै
कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक, नबिल बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकको आधार दर ११ प्रतिशत कम रहेको छ। 

कृषि विकास बैंकको आधार दर १०.३४ प्रतिशत र नबिल बैकको आधार दर १०.१० प्रतिशत छ। बैंकले आधार दरमा ५ प्रतिशत प्रिमियम तर गरी कर्जा प्रवाह गर्दै आइरहेको छ। 

यता नेपाल इन्भेष्टमेन्टले १०.४२ प्रतिशत, एनआईसीले १०.५८ प्रतिशत, ग्लोबल आइएमईले १०.७५ प्रतिशत, सानिमा बैंकले १०.७६ प्रतिशत, हिमालयन बैंकले १०.९१ प्रतिशत, सिद्धार्थ बैंकले १०.७४ प्रतिशत र एनएमबि बैंकले १०.६३ प्रतिशतमा प्रिमियम जोडेर कर्जा प्रवाह गरिरहेका छन्।  

कर्जाको प्रिमियम यति नै लिनुपर्छ भन्ने छैन : गुणाकर भट्ट 
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट आधार दरमा एक पटक तोकिएको प्रिमियम परिवर्तन गर्न नपाउने बताउँछन्। 

उनका अनुसार ओभरडाफ्ट र चालू पुँजी कर्जा जस्ता अल्पकालीन पुनः नयाँ बनाउँदा बैंकहरुले प्रिमियम थप्ने सक्छन्। तर, यसअघि लिएको कर्जाको प्रिमियम परिवर्तन गर्न नपाउने व्यवस्था छ।  

‘कसैले पाँच वर्षको घर कर्जा लिएको छ त्यसको प्रिमियम पहिले नै ५ प्रतिशत तोकेको छ भने पुन प्रिमियम थप्न भने पाइँदैन’, उनले भने, ‘नयाँ कर्जामा कति प्रिमियम लिने त्यो बैंकहरुले नै तय गर्छन्।’

तर, पछिल्लो समय बैंकहरुले अधिकतम प्रिमियम ५ प्रतिशत लिन लिइरहेको भट्टले बताए।

उनका अनुसार बैंकहरुले स्प्रेडदर भने चैतमा ४.२ र असार मसान्तदेखि ४ प्रतिशतमा झार्नुपर्नेछ। 

‘विस्तारै कर्जाको ब्याजदर घटाउनुपर्छ’
यता नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले विस्तारै बैंकको ब्याजदर घटाउँदै जानुपर्ने बताएका छन्। 

‘बैंकहरुले लिने कर्जाको प्रिमियममा कुनै सीमा निर्धारण गरिएको छैन’, उनले भने, ‘तर, स्प्रडेदरमा सीमा निर्धारण गरिएको छ। चैतमा स्प्रेड ४.२ र असारमा ४ प्रतिशतमा ल्याउनुपर्नेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .