कारोबार


नागार्जुन नगरले टेलिकमको समन्वयविनै केबल व्यवस्थापन गर्दा टेलिफोन र इन्टरनेट बन्द

नागार्जुन नगरले टेलिकमको समन्वयविनै केबल व्यवस्थापन गर्दा टेलिफोन र इन्टरनेट बन्द

नेपालखबर
फागुन २१, २०७९ आइतबार १२:१४, काठमाडौँ

शुक्रबारदेखि काठमाडौं उपत्यकाको नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित गुम्बाचोकमा वडा कार्यालयले केबल व्यवस्थापन गर्ने सिलसिलामा नेपाल टेलिकमका संरचनामा क्षति पुगेको छ। 

टेलिकमका अनुसार वडा कार्यालयले केबल व्यवस्थापन गर्ने सिलसिलामा एरियल केबलमा क्षति पुगेकाले गुम्बाचोकका सयौं यस कम्पनीका सेवाग्राही एक्कासि टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवाबाट वञ्चित हुनुपरेको हो। 

‘नेपाल टेलिकमले पटक–पटक दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन पूर्वाधार निर्माण र केबल व्यवस्थापनका कार्यहरु सम्पन्न गर्नका लागि सहयोग र समन्वयका लागि अनुरोध गरिरहँदा पनि कम्पनीका पूर्वाधारमा क्षति पुर्याई अत्यावश्यक सेवाहरु अवरुद्ध गरिएको प्रति कम्पनी दुख व्यक्त गर्दछ’, टेलिकमले भनेको छ, ‘अत्यावश्यक सेवाका रुपमा रहेका दूरसञ्चार सेवाहरु अवरुद्ध नगरिकन अन्य कार्यहरु सम्पन्न गर्नको लागि कम्पनीसँग सहकार्य र समन्वय गर्न पनि सम्बन्धित सबै निकायसँग पुनः अनुरोध गर्दछौँ।’ 

सेवा प्रवाहमा समस्या आएको सो क्षेत्रमा कम्पनीले यथासम्भव छिटो मर्मत कार्य सम्पन्न गर्ने तयारी गरेको छ। 

नेपाल टेलिकमले अन्डरग्राउन्ड केबल, एरियल केबल, फाइबर लगायतका संरचनासँग विभिन्न उपकरणहरु आबद्ध गरी अत्याधुनिक दूरसञ्चार सेवाहरु सुलभ दरमा उपलब्ध गराइरहेको छ। 

अन्य विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको छ। 

यसबाट अत्यावश्यक सेवाका रुपमा रहेका दूरसञ्चार सेवाहरु केही अवधिका लागि उपयोग गर्नबाट हजारौं प्रयोगकर्ताहरु तत्काल वञ्चित हुनुपर्ने अवस्था आउने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad