कारोबार


पर्यटक पर्खिरहेको हाँडिकोट

पर्यटक पर्खिरहेको हाँडिकोट

हाँडिकोट


तारानाथ आचार्य
फागुन १८, २०७९ बिहिबार १८:१३, बागलुङ

यस वर्षको हिउँदमा हिमपात नभएर सेताम्मे हुन नपाएको हाँडिकोट पर्यटक पर्खिरहेको छ। हिउँका पारखीका लागि न्यानो हिउँदले हाँडिकोट पुग्न दिएन तर खुलेको आकाश, कोपिला लागेका गुराँस र बिहान बेलुकाको सिरेठो अनि पुरातात्विक संरचनाले पर्यटकलाई पर्खिरहेका छन्। 

सहरको कोलाहल र प्रदूषण छाडेर हाँडिकोट पुग्दा मन प्रफुल्लित हुन्छ। माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि जस्ता दर्जनौँ हिमश्रृङ्खलाको मनमोहक दृश्यले हाँडिकोट पुग्ने जोकोहीलाई प्रफुल्ल बनाउँछन्। बिहानी सूर्योदयको पहिलो किरणदेखि बेलुकी सूर्यास्तसम्म हिमालले अनेक रङ्ग फेर्छ। तल हरियाली वनजङ्गल डाँडामा पुग्दा बादलभित्र हराएजस्तो हुन्छ। 

यो दृश्य आफैँमा एउटा सुन्दर कला भएको भान हुन्छ।  बाग्लुङको जैमिनी नगरपालिकामा रहेको हाँडिकोट टापुबाट देखिने केही दृश्य साँच्चिकै अद्भूत लाग्छन्। जैमिनीको वडा नं १० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको सङ्गमस्थल हो - हाँडिकोट।

समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोटमा वर्षाको समयमा जुकाको समस्या, हुस्सु र कुहिराले ढाकिने र हिउँदमा हिउँले घुम्टो हाल्दा पनि पर्यटक नियमित पुगेका हुन्छन्। हाँडिकोटले जति प्राकृतिक र पौराणिक महत्त्व बोकेको छ त्यति पर्यटक भित्र्याउन नसकेको जैमिनी–१० राङ्खानीका मित्र थापा बताउँछन्। 

बाइसे चौबिसे राजाका पालामा रहेको दरबार उठेपछि उराठलाग्दो भएको हाँडिकोटले पछिल्लो समय न्याय पाउन थालेको छ। समथर जमिन, राजदरबारका भग्नावशेष, मन्दिर र शीला सुसज्जित हाँडिकोट पुगेर पहाडको खोँचमा मडारिएको बादलसँग तस्बिर खिचाउने आज भोलि दिनदिनै पुग्छन्।

विस्तारै पर्यटक पुग्दै गरेको हाँडिकोटको प्रचारप्रसारमा सरकारी निकायको भन्दा स्थानीयको जोड छ। हाँडिकोट टापुमा केही वर्षदेखि मेला महोत्सव गर्ने र आन्तरिक पर्यटक पुर्‍याउने गर्न थालिएको छ। यस वर्ष हाँडिकोटमा चौथो हाँडिकोट महोत्सव हुँदै छ। हाँडिकोट सामुदायिक विकास केन्द्र राङ्खानीले फागु पूर्णिमाको अवसर पारेर महोत्सव आयोजना गरेको हो। 

हाँडिकोट चिनाउनकै लागि केही वर्षदेखि मेला र महोत्सवको माध्यमबाट प्रचार थालिएको केन्द्रका अध्यक्ष रोशन थापाले जानकारी दिए। यसपटक फागुन १७ देखि २२ गतेसम्म विविध कार्यक्रम गरेर आफ्नो संस्थाको वार्षिकोत्सवसँगै हाँडिकोटमा महोत्सव आयोजना गरिएको थापाले बताए। 

महोत्सवमा आयोजना गरिने भलिबल खेलमा सहभागी हुने खेलाडी, सांकृतिक कार्यक्रममा सहभागी हुने कलाकार र महोत्सव हेर्न आउने दर्शकले हाँडिकोटको प्रचार गर्ने संस्थाको विश्वास छ। महोत्सवमा स्थानीय कला संस्कृतिको प्रस्तुतिका साथै स्थानीय परिकारको पनि प्रदर्शनी गरिने छ। यसले हाँडिकोटसँग जोडिएको गाउँको आर्थिक विकासमा सहयोग गर्ने संस्थाको बुझाइ छ। 

यसअघि पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेर सडकले जोडिएपछि हाँडिकोटमा नियमित रूपमा पर्यटक पुग्न सजिलो रहेको नगर उपप्रमुख हरिहर शर्मा बताउँछन्। हाँडिकोटको पर्यटन विकास र यसलाई अझै आर्कषक बनाउनका निम्ति भौतिक पूर्वाधार निर्माण गर्न  नगरपालिकाले लगानी बढाएको छ। 

हालसम्म दृश्यावलोकन स्तम्भ, प्रतिक्षालय निर्माण, मन्दिर निर्माणका लागि रु २२ लाख खर्च गरिसकिएको छ भने यस वर्ष खानेपानी व्यवस्थापनका लागि रु नौ लाखमा ट्याङ्की निर्माण गरिएको उपप्रमुख शर्माले बताए। 

माथि डाँडामा पानीको स्रोत नभएका कारण झन्डै पाँच सय मिटर तल खानेपानीको ट्याङ्की निर्माण गरेर लिफ्टिङ प्रविधिबाट माथि लैजाने योजना छ। आगामी आर्थिक वर्षमा पनि दृश्यावलोकन स्तम्भमा रेलिङ र तारजालीका लागि रु तीन लाख विनियोजन गरिएको नगरपालिकाले जनाएको छ। 

हाँडिकोट चौबिसे राज्यका पालामा रहेको भुरेटाकुरेमा गनिन्छ। त्यसैले यहाँ पुरातात्विक महत्त्वका क्षेत्र पनि छन्। भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका कतिपय सामग्री यहाँ सङ्ग्रह गरेर राखिएको छ। त्यसका लागि सङ्ग्रहालय बनाएर संरक्षण गर्ने नगरपालिकाको योजना छ। 

व्याडथला र डाँडाखानीबाट दुई हजार दुई सय मिटर अग्लो हाँडिकोट उक्लेपछि वरपरका सबै बस्तीसमेत देखिन्छन्। हाँडिकोटको नजिकका डाँडाखानी र व्याडथलामा सामुदायिक घरवास सञ्चालनमा छन् । घरवासमा खाना र बस्नका निम्ति राम्रो व्यवस्था छ। घरवासमा बस्न नचाहने पर्यटकका लागि नजिकै नान्दुक बजारमा होटल पनि पर्याप्त मात्रामा छन्। पर्यटन प्रवर्द्धनको उद्देश्य राखेर हरेक वर्ष हाँडिकोट महोत्सवसमेत गरिने गरिको छ। सदरमुकाम बाग्लुङ बजारदेखि तीन घण्टाको मोटरयात्रामा व्याडथला पुग्न सकिन्छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad