जिल्ला प्रहरी कार्यालय रौतहटले नेपाल विद्युत प्राधिकरण कर्मचारीलाई कुटपिट तथा अपहरण गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै दिएको किटानी जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ।
सोसँगै प्राधिकरणको मौलापुर वितरण केन्द्रले शुक्रबारबाट अत्यावश्यक सेवाबाहेक कार्यालयबाट प्रवाह हुने अन्य सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ।
प्रहरीले किटानी जाहेरी दर्ता नगरेको, घटनामा संलग्नमाथि कारबाही नभएको र कर्मचारी असुरक्षित भएको भन्दै वितरण केन्द्रको सेवा अनिश्चितकालका लागि बन्द गरिएको हो।
त्रिभुवन साह भनेर चिनिने अमनलाल साह र धीरज पाण्डेसहित नेतृत्वमा आएको करिब ३० जनाको समूहले प्राधिकरणको मौलापुर वितरण केन्द्र परिसरमा पसी सहायक इन्जिनियर महेन्द्र चौधरीलाई कुटपिट गरी अपहरण शैलीमा जबर्जस्ती गाडीमा राखेर लगि अनधिकृत रूपमा बिजुलीको लाइन जोड्न लगाएका थिए।
प्राधिकरणको मौलापुर वितरण केन्द्रका प्रमुख अरुण कुमार साहले गत सोमबार घटनामा संलग्न व्यक्तिहरुले मुलुकी अपराध संहिता, २०७४ बमोजिम अपहरण सम्बन्धी कसुर गरेको हुँदा सजायको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए।
प्रमुख साहले प्रमाणको रुपमा घटना भएको समयको सिसिटिभी फुटेजसमेत पेश गरेका थिए। फुटेजमा कर्मचारीलाई कुटपिट गदै घिसार्दै गाडीमा हालेर लगेको देखिन्छ। तर,पाँच दिन पुग्दासमेत प्रहरीले किटानी जाहेरी दर्ता गरी घटनामा संलग्नहरुमाथि अनुसन्धान गरेको छैन।
माओवादी, एमाले हुँदै अहिले आम जनता पार्टी खोलेका प्रभू साहको दवावमा प्रहरीले किटानी जाहेरी दर्ता नगरेको बताइएको छ। मौलापुर प्रभू साहको घर भएको क्षेत्र हो। साह अहिले त्यही क्षेत्रबाट प्रतिनिधिसभाका सांसद हुन्। मौलापुर नगरपालिकाका मेयर साहकै श्रीमती रीनाकुमार प्रमुख छिन्।
कार्यालय परिसरमै कर्मचारीलाई कुटपिट र अपहरण भएपछि त्यहाँ कार्यरत सबै कर्मचारीले असुरक्षा महसुस गरी सरुवाको माग गरिदिन निवेदन दिएको प्राधिकरण मधेश प्रादेशिक कार्यालय जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताए।
‘मौलापुर क्षेत्रमा संगठित रुपममा नै विद्युत चोरी तथा हुकिङ हुने गरेको छ, त्यहाँको चुहावट ४५ प्रतिशत छ, नियन्त्रण गर्न खटिने हाम्रा कर्मचारीमाथि आक्रमढा हुने गरेको छ, अहिले कर्मचारीले सरुवा मागिरहेका छन्’, उनले भने। उनले मौलापुर वितरण केन्द्रका कर्मचारीहरुले सामूहिक रुपमा सरुवा र जीउज्यानको सुरक्षा माग गर्दै निवेदन दिएको बताए।
के थियो घटना?
मौलापुरमा गत शुक्रबार मधानी महायज्ञ आयोजना गरिएको थियो। उपराष्ट्रपति नन्दबहादुर पुनलाई महायज्ञमा प्रमुख अतिथि बनाइएको थियो।
आयोजकले महायज्ञस्थलमा बिजुली जडान गरिदिन प्राधिकरणको मौलापुर वितरण केन्द्रलाई मौखिक रुपमा आग्रह गर्दै आएको थियो। केन्द्रले अस्थायी रुपमा मिटर जडान गर्न सकिने तर मिटर जडान नगरी बिजुली जडान गर्न नसकिने जानकारी गराउँदै आएको थियो।
त्यस क्षेत्रका सांसद प्रभु साहले सडक कार्यालयले आफैं मर्मतसम्भारको काम गरेको तर प्राधिकरणले बिजुली जडानको काम किन नगरेको भन्दै कार्यालय प्रमुखलाई थर्काउने गरेका थिए।
‘विना मिटर बिजुली जडान गर्न सकिंदैन, अस्थायी मिटरको व्यवस्था छ सोही अनुसार लाइन जडान गर्न सकिन्छ भनेर माननीयज्यू (प्रभू)लाई जानकारी गरायौं, तर उहाँले बारम्बार त्यो नसिकाउनु होस्, जसरी लाइन जोड्नुहोस्, यदि भएन भने हाकिमलाई कालोमोसो दल्ने, हात खुट्टा भाँचिदिनेसम्मका धम्की दिनुभयो,’ प्राधिकरण स्रोतले भन्यो।
‘मिटर जडान नगरी विजुली दिन नसकिने जानकारी प्रमुख जिल्ला अधिकारीलाई पनि गराएका थियौं, मौलापुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई पनि अहिले निवेदन दिन र महसुलका विषयमा पछि छलफल गरौंला भनेका थियौं तर कार्यक्रम हुने दिन बिहान ९.४५ तिर केन्द्रको कार्यालयमा प्रवेश गरी कर्मचारीलाई किन बिजुली नजोडेको भन्दै गुण्डागर्दी शैलीमा कुटपिट गर्न थाले, अपहरणको शैलीमा गाडीमा हालेर लगीे प्राधिकरणको विनियमावली विपरीत अनाधिकृत रुपमा बिजुली जडान गर्न लगाए।’
वितरण केन्द्रबाट कर्मचारीलाई गाडीमा हालेर प्रभू साहको घरमा लगेका थिए।
यता नगर प्रमुख रीना कुमारी साहले भने केन्द्र प्रमुख साहले विद्युत् लाइन अवरुद्ध गरी महायज्ञलाई प्रभावित बनाउन बनाउन खोजेको र सोधपुछ गर्दा उल्टै गालीगलौज गरेको भन्दै छानबिन गरी कारबाही गर्न माग गर्दै प्रहरीमा उजुरी दिएकी छन्।
प्राधिकरणल भने वितरण केन्द्रका कार्यालय प्रमुख लगायतका कर्मचारीहरु उपर झुठा आरोप लगाइएको दाबी गर्दै खेद व्यक्त गरेको छ।
Shares

प्रतिक्रिया