निजी क्षेत्रकाे दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले बक्याैता रहेकाे पुँजीगत लाभकरमध्ये साढे चार अर्ब ठूला करदाता कार्यालयलाई मंगलबार बुझाएकाे छ।
कार्यालयका एक निर्देशकले एनसेलले बक्याैता रकममध्ये ४ अर्ब ५० कराेड रकम बुझाएकाे नेपालखबरलाई जानकारी दिएका हुन्।
एनसेलले उक्त रकम एभरेष्ट बैंकमार्फत बुझाएकाे हाे। उक्त रकम बुझाएसँगै अब एनसेलले १७ अर्ब ९४ कराेड बुझाउन बाँकी छ।
कार्यालयले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्रीवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरेकाे छ।
गत मंसिर २० मै कार्यालयले उक्त रकम निर्धारणपछि तिर्नकाे लागि १५ दिनकाे समय दिएकाे थियाे तर एनसेलले उक्त म्याद गुजारेपछि पुस ६ गते पुनः १५ दिने म्यादसहितकाे पत्र एनसेललाइ पठाएकाे थियाे।
ठूला करदाताको कार्यालयले एनसेललाई सर्वोच्चले यससम्बन्धी मुद्दामा गरेको आदेशको पूर्णपाठमा भएबमोजिमको बक्यौता कर तथा त्यसमा जरिवाना समेत गरी उक्त रकम तिर्न एनसेललाइ भनेकाे छ।
गत भदौमा गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्च अदालतले गत मंसिर ५ गते एनसेलसँग २१ अर्ब १० करोड रुपैयाँ कर असुली गर्नुपर्ने फैसला सुनाएको थियो।
कार्यालयले गत वैशाखयताको ब्याजसमेत जोडेर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको हाे।
आयकर ऐनको प्रक्रियाअनुसार बक्यौता एकीन गरी ठूला करदाता कार्यालयले ताकेता गरेको हाे। दुई पटकसम्म समयसीमा दिनुपर्ने कानुनी व्यवस्थाअनुसार पुनः १५ दिनको समय दिइएको थियाे।
यो समयसीमा समेत नाघेमा कानुनअनुसार कारबाहीको तयारी कार्यालयले गरे पनि एनसेलले बक्याैता बुझाउन सुरू गरेकाे छ।
Shares

प्रतिक्रिया