बुधबारदेखि सुरु हुने भ्रमण वर्षको उद्घाटन समारोहमा चार देशका पर्यटनमन्त्री आउने निश्चित भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन समारोहमा चीन, भारत, जमैका र म्यान्मारका पर्यटनमन्त्री आउने निश्चित भएको छ।
सरकारले बुधबार भ्रमण वर्षको भव्य उद्घाटन गर्ने तयारी गरिरहँदा छिमेकी देशका पर्यटनमन्त्री समारोहमा आउने निश्चित भएको हो। उक्त कार्यक्रमकै लागि भुटानको पर्यटन बोर्डका महानिर्देशक नेपाल आइसकेका छन्।
उक्त कार्यक्रमबारे पर्यटन मन्त्रालयले दिउँसो होटल मेरियटमा पत्रकार सम्मेलन गर्दै छ। मन्त्रालय स्रोतका अनुसार उक्त कार्यक्रमका लागि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुलाई पनि निमन्त्रणापत्र पठाइएको छ।
रंगशालामा हुने भव्य कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ३ बजे उद्घाटन गर्नेछिन्।
त्यस्तै, विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत जनवरी ७ मा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिएको छ। यसबाहेक बुधबार काठमाडौंसहित सबै प्रदेशमा समेत भ्रमण वर्ष उद्घाटन समारोह राखिएको छ।
प्रदेशमा हुने कार्यक्रमको उद्घाटन प्रदेश मुख्यमन्त्रीहरुले गर्नेछन्।

प्रतिक्रिया