ad ad

कारोबार


भारतका कारण अड्कियो २ नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान

पोखराबाट बनारस उड्ने बुद्धको प्रस्तावमा पनि बेवास्ता
भारतका कारण अड्कियो २ नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान

फाइल तस्बिर


वसन्त अर्याल
पुस २०, २०७९ बुधबार १२:१२, काठमाडौँ

भारतले सहजीकरण नगर्दा नेपालका दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनसकेका छैनन्। 

नवनिर्मित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन नसकेका हुन्। 

भारतले मुख्य ३ वटा विषयमा सहजीकरण नगरिदिएपछि दुईवटै नयाँ विमानस्थलबाट उडान हुनसकेको छैन। दुईवटै विमानस्थलको लागि पहिलो अप्ठ्यारो हवाइ प्रवेश विन्दु रहेको छ। 

हाल भारतबाट आउन सिमराको हवाइ प्रवेश विन्दु पाए पनि नेपालले भैरहवा र नेपालगञ्जबाट पनि थप प्रवेश विन्दुको माग गरिरहेको छ। तर भारतले दिन मानेको छैन। सिधा हवाइमार्ग नहुँदा जहाजहरु सिमरा घुमेर पोखरा आउनुपर्ने बाध्यता छ। 

त्यस्तै भैरहवामा सुरु भएको अन्तर्राष्ट्रिय उडान पनि अहिले रोकिनपुगेको छ। मौसमसम्बन्धी आईएलएस (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम) उपकरण सञ्चालनमा आउन नसक्दा उडान हुन नसकेको हो।

आईएलएस सञ्चालन गर्दा त्यसको सिग्नल भारतीय भूमिसम्म पुग्छ। गौतम बुद्ध विमानस्थलले त्यसको लागि सरकारमार्फत भारतसँग कुरा गरिरहेको त छ तर अझै यो विषय सल्टिनसकेको छैन। 

आईएलएस सञ्चालनमा नआउँदा मौसम प्रतिकूल हुँदा जहाज अवतरण गर्न समस्या भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौंमा अवतरण गर्न नसक्ने जहाजले अब भैरहवामा अवतरण गर्नसक्ने बताउँदै आएको छ। तर भिजिबिलिटी कम हुँदा भैरहवामा अन्तर्राष्ट्रिय मात्रै नभई आन्तरिक उडानसमेत नियमित हुनसकेको छैन। 

आईएलएस सञ्चालनमा नआएपछि भैरहवामा उडान गर्ने जजिरा एयरवेज र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान नै बन्द गर्नुपरेको छ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले आन्तरिकसँगै बाह्य कारणले पछिल्लो समय अन्तर्राष्ट्रिय उडान बन्द भएको बताए। 

‘मौसम खराबी हुँदा जजिरा एयरवेजले डिसेम्बर २० गतेबाट उडान बन्द गरेको छ’, दाहालले नेपालखबरसँग भने, ‘मौसमसँगै यात्रु अभावको कारण देखाउँदै १६ डिसेम्बरबाट हिमालय एयरलाइन्सले उडान बन्द गरेको छ।’

सरकारले भारतको सीमा क्षेत्रमा आईएलएस सञ्चालन हुँदा सिग्नल पुग्ने भएकाले अनुमति माग गरेको थियो। तर भारतले उक्त अनुमति नदिँदा मौसम खराबी हुनासाथ उडान नै रोकिने अवस्था आएको हो। 

हिमालय एयरलाइन्सले भैरहवाबाट यात्रु नै नपाएको कारण क्वालालम्पुर उडान रोकेको जनाएको छ। हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले यात्रु नपाउँदा भैरहवा–क्वालालम्पुर उडान स्थगित भएको बताए। 

वैदेशिक रोजगारीमा जानेले काठमाडौं आएर भैरहवा जानुपर्ने अवस्था हुँदा यात्रु नपाएको एयरलाइन्सले बताएको छ। 

भैरहवा उडानमा आन्तरिकसँगै बाह्य कारण रहेकाले सरकारले नै समस्या समाधान गर्नुपर्ने श्रेष्ठले बताए। 

‘हवाइ प्रवेशमार्गका कारण भैरहवामा नियमित उडान गर्न हामीलाई अप्ठ्यारो त परेकै छ’, उपाध्यक्ष श्रेष्ठले भने, ‘यस विषयमा कम्पनीले भन्दा नागरिक उड्ययन प्राधिकरण र मन्त्रालयबाटै समस्या समाधान गर्नुपर्छ।’

हवाइ प्रवेश विन्दु र आईएलएस सञ्चालनमा आए अन्तर्राष्ट्रिय उडान गर्न सकिने बताउँदै उनले विमानस्थल पूर्णरुपमा चल्न धेरै समय लाग्ने भएकाले अहिले नै आत्तिनु नपर्ने उल्लेख गरे। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछानेले नयाँ विमानस्थलबाट उडानमा देखिएका समस्याबारे भारतसँग कुराकानी भइरहेको जानकारी दिए। 

उनले उपकरण जडान भइसकेको बताउँदै भारतको केही क्षेत्र छोएकोले कूटनीतिक तहबाट समाधानको प्रयास गरिरहेको बताए। 

‘हवाइ प्रवेशविन्दु भैरहवाबाट दिन राजनीतिक नेतृत्वले पनि आग्रह गर्दै आएको छ’, लामिछानेले थपे, ‘मन्त्रालयले गर्नसक्ने प्रयास गरिरहेकाले छिट्टै समाधान हुने विश्वासमा छौँ।’ 

बुद्धले पोखराबाट भारत उडान गर्ने अनुमति पाएन
यसैबीच, जनवरी १ बाट बुद्ध एयरले पोखरा–बनारस–पोखरा उडान गर्ने घोषणा नै गरे पनि सफल हुनसकेको छैन। कम्पनीले यसअघि नै भारतले रुट अनुमति दिनासाथ पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरा उडान गर्ने घोषणा गरेको छ। 

कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन एउटा उडान गर्ने अनुमति माग गरेको थियो। बुद्ध एयरका अनुसार जनवरीमा एउटा उडान गर्ने प्रस्ताव सरकारमार्फत पठाइएको थियो। तर अहिलेसम्म अनुमति नपाएको कम्पनीले जनाएको छ।

बुद्धले पोखराबाट हप्तामा ३ वटा उडान गर्ने प्रस्ताव गरेको छ। तर पोखरा विमानस्थलबाट उडान गर्न भारतले अनुमति दिएको छैन। हाल कम्पनीले काठमाडौं–बनारस–काठमाडौं उडान गर्दै आएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले भारतले बुद्धलाई उडान अनुमति नदिँदा उद्घाटनको दिन आन्तरिक उडानमा मात्रै सीमित हुनुपरेको बताए। 

मन्त्रालयका सहसचिव लामिछानेले आफूहरुले पोखराबाट बुद्धको उडान गर्ने  प्रस्ताव पठाए पनि उडान अनुमति नदिनुको कारण स्पष्ट नभएको बताए। 

‘पोखराबाट भारतमा उडान गर्न बुद्धको प्रस्ताव हामीले परराष्ट्र मन्त्रालयमार्फत भारतमा पठाएका हौँ’, लामिछानेले भने, ‘भारतले किन अनुमति दिएको छैन त्यसको जानकारी आएको छैन। परराष्ट्रमार्फत नै आउला।’

पोखरा विमानस्थल चिनियाँ ऋण सहयोगमा निर्माणसम्पन्न भई अंग्रेजी नयाँ वर्ष पारेर उद्घाटन गरिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .