ad ad

कारोबार


हवाइ इन्धन र मट्टीतेलमा कानुनले तोकेभन्दा बढी नाफा लिँदै आयल निगम

हवाइ इन्धन र मट्टीतेलमा कानुनले तोकेभन्दा बढी नाफा लिँदै आयल निगम

दीपक भट्ट
पुस १७, २०७९ आइतबार १८:३३, काठमाडौँ

पेट्रोलियम पदार्थमा पछिल्लो समय अन्तर्राष्ट्रिय बजारभाउ घटिरहँदा नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनसँग खरिद गर्ने मूल्य पनि घटिरहेको छ। 

सोही कारण निगमले पुसको सुरुमा इन्धनको मूल्य घटाएको थियो। तर उक्त मूल्य समायोजनपछि पनि नेपाल आयल निगमले केही पेट्रोलियम पदार्थमा कानुनले तोकेभन्दा बढी नाफा असुलिरहेको पाइएको छ। 

निगमकै विवरणअनुसार पछिल्लो समय पेट्रोलमा निगमको कर समेत जोडेर कुल लागत प्रतिलिटर १ सय ६० रुपैयाँ ७८ पैसा पर्ने गरेको छ। 
पेट्रोलको उपभोक्ता मूल्य १ सय ७८ रुपैयाँ पर्छ। जसमा १७ रुपैयाँ २२ पैसा नाफा निगमसँगै हुन्छ।  त्यो भनेको १० दशमलव ७६ प्रतिशत नाफा हो।

त्यसैगरी डिजेलमा १ सय ६४ रुपैयाँ ८५ रुपैयाँ लागत पर्छ। त्यसको खुद्रा बिक्री मूल्य १ सय ७५ रुपैयाँ छ। यसअनुसार निगमलाई नाफा नै १० रुपैयाँ १५ पैसा हुन जान्छ। यो भनेको निगमलाई ६ दशमलव १५ प्रतिशत नाफा हो। 

मट्टीतेलमा त निगमको नाफा निकै उच्च देखिएको छ। निगमलाई मट्टितेल खरिदमा कर समेत जोडेर कुल लागत १ सय ४२ रुपैयाँ ९१ पैसा पर्ने गरेको छ। त्यसको खुद्रा मूल्य १ सय ७५ रुपैयाँ छ।  मट्टीतेलमा निगमलाई ३३ रुपैयाँ ०९ पैसा नाफा छ। यो भनेको २२ प्रतिशत नाफा हो।

हवाइ इन्धनमा नेपालमा दुईवटा मूल्य छ। आन्तरिक उडानलाई र बाह्य उडानलाई फरक–फरक मूल्यमा नेपाल आयल निगमले बिक्रीवितरण गर्दै आएको छ। आन्तरिकतर्फ हवाइ इन्धनको लागत १ सय ३७ रुपैयाँ ४६ पैसा परेको देखिएको छ। निगमले भने हवाइ इन्धन १ सय ९० रुपैयाँमा बिक्रीवितरण गर्ने गर्छ। यसबाट निगमलाई ५२ रुपैयाँ ५४ पैसा नाफा हुने गरेको छ। त्यो भनेको ३८ प्रतिशत नाफा हो। 

बाह्य उडानको लागि हवाइ इन्धनमा निगमको लागत ११३ रुपैयाँ ५५ पैसा पर्ने गरेको छ। त्यसलाई निगमले १ अमेरिकी डलर ६४ सेन्टमा बिक्री गरिरहेको छ। यसबाट निगमलाई १ सय ३ रुपैयाँ ७८ पैसा नाफा हुन्छ। त्यो भनेको ९१ दशमलव ३९ प्रतिशत नाफा हो। 

निगमले कारोबार गर्ने एलपी ग्यासमा भने निगम घाटामा देखिएको छ। ग्यास खरिद गर्दा प्रतिसिलिण्डर निगमको कुल लागत २ हजार ७७ रुपैयाँ ०२ पैसा पर्ने भए पनि निगमले १ हजार ८ सय रुपैयाँ खुद्रा मूल्य तोकेको छ। यसमा प्रतिसिलिण्डर २ सय ७७ रुपैयाँ ०२ पैसा घाटा देखिएको छ। 

कालोबजार तथा सामाजिक अपराध तथा सजाय ऐनले २० प्रतिशतभन्दा नाफा लिन नहुने व्यवस्था गरेको छ। 

ऐनको दफा ३ को उपदफा १ मा भनिएको छ, ‘कुनै मालवस्तुको व्यापार गर्दा व्यापारको प्रचलनअनुसार सय कडा २० भन्दा बढी मुनाफा लिन नहुने वा अभावको लाभ उठाई माल बिक्री गर्न पाइनेछैन।’

त्यस्तो पाइएमा कैद र नगद जरिवाना समेत तोकिएको छ। 

ऐनबमोजिम हेर्ने हो भने निगमले बिक्री गर्ने मट्टीतेल र हवाइ इन्धनको बिक्री नियमविपरीत देखिएको हो। 

निगमले नाफा लिने अन्तर्राष्ट्रिय हवाइ इन्धनमा भने ऐनबमोजिम धेरै नाफा समेत लिनसक्ने देखिएको छ। विदेशी विमान कम्पनीले भुक्तानी गर्ने भएको हुँदा नेपालको व्यापार घाटामा सहयोग समेत हुने देखिएको छ। 

सोही ऐनको सोही दफाको २ मा निर्यातमा घाटा उठाई पैठारी गरेका मालवस्तुको हकमा निर्यात गर्दा घाटा समेत उठ्ने गरी मुनाफा लिन सक्ने उल्लेख गरेको छ। 

तर आन्तरिक उडानमा ३८ प्रतिशत नाफा र मट्टीतेलमा २२ प्रतिशत नाफा निगमले लिनु ऐनविपरितको मूल्य असुली भएको देखिएको हो। 
नेपाल आयल निगम भने नाफाको विश्लेषण गर्ने तरिका फरक पार्नुपर्ने बताउँछ।

निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले निगमको कारोबार हेरेर नाफाको मूल्याङ्कन गर्नुपर्ने बताउँछन्। 

उनी भन्छन्, ‘कारोबार र नाफा हेर्दा कुल कारोबार हेर्नुपर्छ। निगमले अहिले मासिक ३० अर्बको कारोबार गर्छ। त्यसमा नाफा १ अर्ब हाराहारीको छ। त्यो भनेको ५ प्रतिशत पनि नाफा हैन।’ 

निगमको नाफाको हिसाब त्यसरी बुझ्नुपर्ने उनको तर्क छ।

उनका अनुसार नेपाल आयल निगमको अहिले पनि ऋण २० अर्ब रुपैयाँ बाँकी छ। ७ अर्ब रुपैयाँ नेपाल सरकारलाई तिर्नुपर्ने रकम छ। त्यसबाहेक ८ अर्ब २५ करोड भारु इण्डियन आयल कर्पोरेसनलाई तिर्नुपर्ने रकम छ। 

कुल गरेर अहिलेको अवस्थामा २० अर्ब नेपाली रुपैयाँ निगमले तिर्नुपर्ने रकम रहेको निगमको तथ्यांक छ।  

भारतबाट निगमले कुन पदार्थ कति मूल्यमा खरिद गर्छ र त्यसमा कर कति लाग्छ?
निगमको विवरणअनुसार भारतबाट खरिद गर्दा पेट्रोलको मूल्य प्रतिलिटर ८२ रुपैयाँ ८१ पैसा, डिजेलको मूल्य १ सय ७ रुपैयाँ ३६ पैसा, मट्टीतेल १ सय १५ रुपैयाँ ५६ पैसा, हवाइइन्धन (आन्तरिक) १ सय २ रुपैयाँ ३६ पैसा, हवाइ इन्धन (बाह्य) १ सय १ रुपैयाँ ९४ रुपैयाँ र खाना पकाउने एलपी ग्यास १ हजार ४ सय १७ रुपैयाँ ७७ पैसा पर्ने गरेको छ। 

इन्धनमा नेपाल सरकारले विभिन्न शीर्षकमा कर संकलन गर्ने गरेको छ। सो रकम उपभोक्ता मूल्यमा समायोजन हुन्छ। नेपाल सरकारले पेट्रोलमा ६३ रुपैयाँ ५० पैसा प्रतिलिटर, डिजेलमा ४७ रुपैयाँ ९३ पैसा, मट्टीतेलमा १४ रुपैयाँ ३० पैसा, हवाइ इन्धन (आन्तरिक)मा २७ रुपैयाँ ८ पैसा, हवाइ इन्धन (बाह्य) मा जम्मा ३ रुपैयाँ ५९ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ३ सय ३ रुपैयाँ १४ पैसा कर लिने गरेको छ। 

त्यसमा नेपाल आयल निगमले ढुवानी भाडा, निगमको प्रशासनिक एवम् बिक्री खर्च, बीमा खर्च, निगमको प्रविधिक नोक्सानी, इन्धन बिक्रेताको नाफा समेत जोडेर उपभोक्ता मूल्य तय गर्ने गरेको छ। 

त्यसले गर्दा भारतबाट ८२ रुपैयाँ ८१ पैसामा खरिद गरेको पेट्रोलको अहिले उपभोक्ता मूल्य १ सय ७८ रुपैयाँ परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .