यस वर्षको ३ पुससम्ममा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ।
देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत नेपाल विद्युत प्राधिकरणले निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत १९ जेठ २०७९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो। भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ।
सुरुमा दुईवटा जलविद्युत केन्द्रहरुबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो। त्यसपछि २७ जेठबाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री गरिएको थियो। प्राधिकरणले गत १८ र ३० कात्तिकबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो। योसँगै आठ जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारतर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता चार सय आठ मेगावाट रहेको छ।
प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ। चालू आव २०७९/८० को ३ पुससम्ममा एक अर्ब पाँच करोड ८६ लाख ३४ हजार युनिट विद्युत निर्यात गरी आठ अर्ब ३२ करोड ४२ लाख ४० हजार रुपैयाँ आर्जन गरिएको छ।
चिसो बढ्दा काठमाडौं उपत्यकालगायतको विद्युत माग बढेको तर खोलानालामा पानीको बहाब घट्दा नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरुबाट उत्पादन कम भएसँगै विद्युत निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
कार्यकारी निर्देशक घिसिङले देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत माग धान्न भारतबाट विद्युत आयात गर्नु पर्ने बाध्यात्मक अवस्था रहेको उल्लेख गरे। घिसिङले वैशाख अन्तिम/जेठको पहिलो हप्ताबाबाट फेरि विद्यत निर्यात सुरु हुने बताए।
‘देशभित्रको उत्पादन घट्दा आन्तरिक माग धान्न दैनिक रुपमा विद्युत आयात सुरु भएको छ, विद्युत् आयात करिब ४ महिनासम्म रहने हाम्रो प्रक्षेपण छ, तर विद्युत आयात परिमाण निर्यातभन्दा कम हुनेछ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘विगतका वर्षहरुमा विद्युत निर्यात परिमाण आयात भन्दा कम हुने गरेकोमा यस वर्षबाट निर्यात बढी र आयात कम हुने छ, विद्युत निर्यात र त्यसबाट प्राप्त हुने रकम दुवैमा हामी खुद निर्यातकर्ता बन्नेछौं।’
प्राधिकरणले आइएक्सको प्रतिस्पर्धी बजारमा विद्युत बिक्री र खरिद गर्दै आएको छ। ‘आइएक्सबाट मात्र खरिद गर्ने या उत्पादकहरुसँग छोटो अवधिको विद्युत खरिद सम्झौता गरी आयात गर्ने भन्ने बारेमा छलफल भइरहेको छ’, उनले भने, ‘यसका लागि बजार अध्ययन गरिरहेका छौँ।’
आइएक्समा विद्युत खरिदबिक्रीका लागि २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ। प्राधिकरणले ३ पुससम्म निर्यात गरेको विद्युतको औसत दर प्रतियुनिट आठ रुपैयाँ २२ पैसा रहेको छ।
तथ्यांकमा यस्तो छ विद्युत निर्यातको परिमाण र प्राप्त रकम
| महिना | निर्यात ऊर्जा (युनिट) | भारतीय रुपैयाँ | नेपाली रुपैयाँ | औसत दर प्रति युनिट(नेपाली रुपैयाँ) |
| जेठ | ६ करोड ५९ लाख १९ हजार | ५० करोड ४ लाख | ८० करोड ६ लाख | १२.१५ |
| असार | २३ करोड ३२ लाख ४ हजार | १ अर्ब २७ करोड ३८ लाख | २ अर्ब ३ करोड ८१ लाख | ८.७४ |
| साउन | २४ करोड २६ लाख ८३ हजार | १ अर्ब २५ करोड ८० लाख | २ अर्ब १ करोड २७ लाख | ८.२९ |
| भदौ | २४ करोड ६७ लाख ८५ हजार | १ अर्ब ४९ करोड ९२ लाख | २ अर्ब ३९ करोड ८८ लाख | ९.७२ |
| असोज | २६ करोड ६५ लाख २७ हजार | १ अर्ब ९ करोड ६१ लाख | १ अर्ब ७५ करोड ३८ लाख | ६.५८ |
| कात्तिक | २० करोड ७४ लाख १९ हजार | ८६ करोड ६० लाख | १ अर्ब ३८ करोड ५५ लाख | ६.६८ |
| मंसिर | ९ करोड ४८ लाख ४८ हजार | ४८ करोड ५ लाख ३९ हजार | ७६ करोड ८८ लाख ६२ हजार | ८.११ |
| ३ पुससम्म | ३ लाख ७२ हजार | २८ लाख ५१ हजार | ४५ लाख ६२ हजार | १२.२६ |
| जम्मा | १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार | ६ अर्ब ९७ करोड ६९ लाख | ११ अर्ब १६ करोड ३० लाख | ८.२२ |
| स्रोत : | नेपाल विद्युत प्राधिकरण |
Shares

प्रतिक्रिया