ad ad

कारोबार


बढ्न थाल्यो अन्डाको मूल्य, एक क्रेटको कति?

बढ्न थाल्यो अन्डाको मूल्य, एक क्रेटको कति?

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०७९ आइतबार १२:७, चितवन

लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अन्डाको मूल्य बढ्न थालेको छ। बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को रु तीन सय ६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री मूल्य तय गरेको हो। 

यसअघि अन्डाको मूल्य प्रतिक्रेट रु तीन सयमा बिक्री भइरहेको थियो। सङ्घका अध्यक्ष विनोद पोख्रेलका अनुसार अहिलेको लागत मूल्य प्रतिक्रेट रु चार सय ३५ पर्न आउँछ। उनले भने, “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो रु ३० हुँदा अन्डा प्रतिक्रेट रु तीन सयमा बिक्री हुन्थ्यो। अहिले दाना प्रतिकिलो रु ६५ पर्दा अन्डाको मूल्य उस्तै छ।” 

औषधिलगायत अन्यमा पनि मूल्य दोब्बर भएको उनको भनाइ छ। एक वर्ष ६ महिनाअघि अन्डाको मूल्य प्रतिक्रेट रु चार सय पाँच पुगेर एकोहोरो ओरालो लागेको हो। त्यतिबेला खुद्रा मूल्य प्रतिगोटा रु १६ थियो। नेपालमा अन्डा उत्पादन गर्ने कृषक एवं व्यवसायी सङ्गठित भएर व्यवसाय बचाउन लागिपरेको पोेख्रेल बताउँछन्। 

हालै मात्र देशभरका धेरै कुखुरापालक व्यवसायी सङ्गठित भएर अघि बढेका हुन्। पोख्रेलले लागत मूल्यसम्म पाउन सके पनि कृषकहरू बच्न सक्ने बताए। हाल नेपालमा दैनिक ४० लाख अन्डा उत्पादन भइरहेको छ। अन्डाको महत्त्व बुझाउन सकेमा अन्डाको माग दोब्बर हुने व्यवसायी बताउँछन्। बिचौलियाको चलखेललाई रोकेर कृषकको हितमा सरकार लाग्नुपर्ने व्यवसायीको भनाइ छ। 

उनले भने, “सरकारले ध्यान नदिए आत्मनिर्भर पोल्ट्री व्यवसाय धरासायी हुन्छ।”

निजी क्षेत्रको अन्डा उत्पादनका लागि मात्र पोल्ट्री व्यवसायमा रु एक खर्बभन्दा बढी लगानी छ। यसको आधाभन्दा बढी बैंकको ऋण भएको व्यवसायी बताउँछन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .