कारोबार


सर्लाहीका किसान सस्तोमा उखु बेच्न बाध्य

सर्लाहीका किसान सस्तोमा उखु बेच्न बाध्य

नेपालखबर
मंसिर २५, २०७९ आइतबार १४:३, सर्लाही

सर्लाहीका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन्। जिल्लामा रहेका तीन उखुमिल मध्य हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी नदिएपछि हैरान भएका किसानले उत्पादन गरेको उखु सक्खर उद्योगलाई बेच्न थालेका हुन्। 

जिल्लामा रहेका चिनी मिल पनि समयमा सञ्चालन नहुने र उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका किसान स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु समयमै बेचेर खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लागाउन थालेका छन्। 

‘इन्दुशङ्कर चिनी उद्योग पुसको पहिलो साताबाट  सञ्चालन गर्ने तयारी भइरहेको भए पनि अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिल विगतका वर्षमै खरिद गरेको उखु उत्पादक किसानको रकम भुक्तानी गर्न नसकेर सञ्चालन हुने नहुने भन्ने दोधारमा छन्, किसानहरुले समयमै उखु बिक्री गर्न नपाउँदा खेतमा अन्य बाली लगाउन नपाउने हुँदा सक्दर उद्योगलाई उखु बेचेर भए पनि समयमै आफ्नो खेत खाली गरी अन्य बाली लगाउँदै छन्’, बरहथवा नगरपालिका– १२ का उखु उत्पादक किसान बलिराम रायले भने। 

उनका अनुसार चिनी मिल समयमै सञ्चालन नहुने र सञ्चालन भइहाले पनि भुक्तानी कहिले पाउने भन्ने टुङ्गो नहुने कारणले किसानले खेतमा अर्को बाली पनि लगाउन पाएनन्। भुक्तानीको चिन्ता सधैँ रहिरहने गरेका कारण पनि किसान सक्खर उद्योगलाई उखु बिक्री गर्न थालेका हुन्।

बरहथवा–११ का अर्का उखु उत्पादक किसान रत्नबहादुर घिमिरेले नगदेबालीका रूपमा रहेको उखु बेच्ने अन्य कुनै विकल्प नभएकाले सक्खर उत्पादन गर्ने उद्योगलाई बेच्न किसान बाध्य भएको बताए।

सरकारले यस वर्ष रु छ सय प्रति क्विन्टल उखुुको मूल्य निर्धारण गरेको भए पनि जिल्लाका किसानले अहिले सक्खर उद्योगलाई प्रति क्विन्टल रु तीन सय ५० का दरले उखु बेच्न थालेका उखु उत्पादक किसान राजकुमार मैनालीले बताए। चिनी मिल नै बन्द भएपछि उब्जाइएको उखुु कसैले खरिद गर्न नसकेको अवस्थामा बाध्य भएर सस्तो मूल्यमा सक्खर उद्योगलाई बेच्न थालेको बसबरिया गाउँपालिका– २ का उखु उत्पादक किसान रामविलाश महतोले बताए। 

खेतमा सिँचाइ तथा मलको आभावका कारण अन्य कुनै बाली उब्जाउन नसकिएका कारण बर्सेनि उखु खेती गर्दै आए पनि यसबाट कुनै फाइदा नभएको र समय गुज्रिएपछि बेचेको उखुको भुक्तानी कहिले पाउने भन्ने ठेगान नरहेको महतोले बताए। 

खेतमा लगाएको उखुु बेचेर पुनः मुसुरो, धनियाँ र गहुँ लगायतका बाली लगाउन सकिने भएकाले हतार–हतारमा उखु बेच्न थालेको उखु उत्पादक किसान विनय रायले बताए। 

सक्खर उत्पादकको पनि गुनासो

बरहथवा नगरपालिकाभरि हाल करिब छ वटा सक्खर उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्। उद्योग सञ्चालकले पनि सक्खरको मागअनुसार उखुुको मूल्य निर्धारण गरिरहेका छन्। उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि रु दुई सय ७० सम्म  प्रति क्विन्टल हुन्छ। खपत बढी भयो भने रु चार सयसम्ममा सक्खर उद्योगले उखु किन्ने गरेका छन्।

एघार क्विन्टल उखु पेलेर एक क्विन्टल सक्खर उत्पादन भइरहेको बरहथवा–११  का सक्खर उत्पादक व्यवसायी शत्रुधन रायले बताए। उनका अनुसार उत्पादित सक्खरमध्ये कालो सक्खरको रु पाँच हजार र सेतो सक्खरको रु पाँच हजार पाँच सयदेखि छ हजार दुई सय प्रति क्विन्टल बजार मूल्य छ। आफ्नो उद्योगमा प्रत्यक्ष रूपमा ६ जनाले दैनिक ज्यालीदारीमा रोजगारीसमेत पाएका रायले बताए। 

‘भारतबाट अवैध रूपले आउने सक्खरका कारण व्यवसाय नै धराशायी बन्दै गएको छ, सक्खरले बजार मूल्य नपाउँदा किसान र व्यवसायी दुवैले समस्या झेल्दै आएको छ’, बरहथवा–११ स्थित सञ्चालनमा रहेको सक्खर उद्योगका सञ्चालन शिवचन्द्र रायले भने। भारतबाट आएको सक्खर सस्तो मूल्यमा बिक्री हुँदा आफूहरूले पनि सोहीअनुसार बेच्नु परेकाले लगानीअनुसारको मूल्य आउन नसकेको उनको गुनासो छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad