ad ad

कारोबार


लक्ष्मीपूजाका दिन विद्युत् बढी भएर भारत निर्यात गरियो

‘पिक डिमान्ड’ १३०५ मेगावाट, २०० मेगावाट खपत गर्न सकिएन
लक्ष्मीपूजाका दिन विद्युत् बढी भएर भारत निर्यात गरियो

नेपालखबर
कात्तिक ८, २०७९ मंगलबार ८:२२, काठमाडौँ

यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत् बढी भएर भारत निर्यात गरिएको छ। यस वर्ष लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत भारत निर्यात गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यस्तै २०० मेगावाट विद्युत खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। 

प्राधिकरणका अनुसार लक्ष्मीपूजाका दिन देशभित्रको विद्युत उच्चतम माग (पिक डिमान्ड) १३०५ मेगावाट पुग्यो। गत वर्ष लक्ष्मीपूजाका दिन विद्युतको पिक डिमान्ड १२७० मेगावाट मात्र थियो। यस वर्ष ३५ मेगावाट बढी माग भएको हो। 

नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन सोमबार साँझ ६ः१० बजे पिक डिमान्ड १३०५ मेगावाट रेकर्ड गरेको हो।

प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युतगृहरूबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूबाट ७६७.५ मेगावाट विद्युत उत्पादन गरी आपूर्ति गरिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशकसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मीपूजाका दिन विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो।

बिनाअवरोध देशभरि विद्युत आपूर्ति गर्न प्राधिकरण सफल भएको छ।

विगतका वर्षहरूमा लक्ष्मीपूजामा विद्युतको माग धान्न विद्युत आयात गर्ने गरिएकामा अब आन्तरिक उत्पादनले माग धान्ने मात्र हैन खपत हुन नसकेर बढी हुन थालेको छ। प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको पिक डिमान्ड धान्न कुलेखानी जलाशययुक्त जलविद्युत केन्द्र समेत सञ्चालन गरेन। कुलेखानी पहिलोबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत उत्पादन हुन्छ।

यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत भारत निर्यात गरिएको र २०० मेगावाट विद्युत खपत गर्न नसकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गरिरहेको छ।

‘विगतमा लोडसेडिङ हुँदा लक्ष्मीपूजाका दिनको विद्युत खपतलाई पिक डिमान्ड मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अरू बेला नै पिक डिमान्ड आउने गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘तिहारमा उद्योगकलकारखाना र कार्यालय सबै बन्द छन् फेरि तराईमा गर्मी छैन र काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा जाडो पनि सुरु भइनसकेकोले अहिले विद्युत माग नआउने समय हो।’ 

उनले आन्तरिक रूपमा विद्युत खपत बढाउनु ठूलो चुनौती रहेको बताए। प्राधिकरणले गत असार २८ गते देशभित्रको पिक डिमान्ड सबैभन्दा बढी १७४७.५३ मेगावाट रेकर्ड गरेको थियो। देशभित्रको विद्युत खपत र भारततर्फको निर्यासहित लक्ष्मीपूजाको दिन प्रणालीको पिक डिमान्ड १६८५ मेगावाट रेकर्ड गरिएको छ। यस वर्ष संघीय राजधानी काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमान्ड ३४२ मेगावाट छ। गत वर्ष ३२०.६४ मेगावाट थियो।

प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ती बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो। प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत गृहका प्रमुख र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .