कारोबार


विदेशबाट आयातित खाद्य वस्तुलाई प्रतिबन्ध लगाउन विज्ञको जोड

विदेशबाट आयातित खाद्य वस्तुलाई प्रतिबन्ध लगाउन विज्ञको जोड

नेपालखबर
असोज ३०, २०७९ आइतबार १७:५५, काठमाडौँ

नेपालको खाद्य प्रणालीमा सुधार र खाद्य संप्रभुताको लागि विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिवन्ध गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरूले बताएका छन्।

पछिल्लो समय विश्वमा नै वातावरणीय प्रभाव तथा अन्य कारणले खाद्य वस्तु उत्पादनमा कमी हुँदै गएको भन्दै विज्ञहरुले  विदेशबाट आयात हुने कृषिजन्य वस्तु प्रतिवन्ध गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै विज्ञहरुले वातावरणीय प्रभावको कारण खाद्य पदार्थ उत्पादनमा कमी आउँदा विश्वमा नै खाद्य संकट आउन थालेको बताए। 

कृषि विज्ञहरुले वातावरणीय प्रभावलाई सन्तुलनमा राखेर खाद्य वस्तुको उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको पनि बताए।

नेपालमा खाद्य प्रणालीमा सुधार ल्याउन कृषि क्षेत्रमा लगानीवृद्धि र सरकारले कृषि क्षेत्रलाई व्यवस्थित बनाउने गरी प्रोत्साहन नीति बनाउनुपर्ने विज्ञहरुको सुझाव छ।

उनीहरुले कृषि उत्पादनमा ठूलो सम्भवना हुँदासमेत कृषिजन्य सामग्री विदेशबाट आयात भइरहेकोप्रति दुःख प्रकट गरे।

अब नेपाली रैथाने कृषि उत्पादनलाई प्राथमिकतामा राखेर सबै नेपालीले आयातित कृषिजन्य वस्तु प्रयोगमा प्रतिवन्ध लगाए मात्रै खाद्य प्रणालीमा सुधार र खाद्य संप्रभुता हुने उनीहरु बताउँछन्।

४२ औं विश्व खाद्य दिवसको अवसरमा अखिल नेपाल किसान महासंघको आयोजनामा आयोजित नेपालको खाद्य प्रणाली र खाद्य संप्रभुता विषयक अन्तरक्रियामा बोल्दै कृषि विभागका उपहानिर्देशक डा. हरिबहादुर केसीले नेपालको कृषि क्षेत्रमा सरकार र निजी क्षेत्रको कृषि अनुसन्धान,जनशक्ति र लगानीको कमी रहेको बताए उनले पछिल्लो समय कृषि क्षेत्रमा विकास भएका नयाँ प्रविधिहरुले नेपाली रैथाने प्रविधिलाई बिस्थापित बनाएको पनि बताए।

डा. केसीले नेपाली रैथाने प्रविधिलाई नयाँ प्रविधिमा विकास गर्न सकेमा कृषि क्षेत्रमा वैदेशीक रुपमा प्रतिष्पर्धा बढाउन सकिने अवस्था आउने बताए।

उनले नेपाली किसानले उत्पादन गरेको वस्तुलाई बजारमा प्राथमिकता दिएर विदेशबाट आयात भएका कृषिजन्य वस्तुलाई प्रतिवन्ध गर्न आवश्यक रहेको बताए। डा. केसीले नेपालीहरुले नै नेपाली उत्पादनलाई प्राथमिकता दिन नसके नेपाली उत्पादनले बजार पाउन नसक्ने बताए। उनले नेपाली खाद्य सामग्रीलाई उपभोगयोग्य बनाउनुपर्ने आवश्यकता रहेको बताए।

डा. केसीले नेपालले पछिल्लो केही वर्षमा कृषि उत्पादन बढेको भएपनि कृषिजन्य वस्तुमा आयात बढ्दै गएको बताए। उनले पछिल्लो १० वर्षमा किसानले पाउने बजार मूल्यमा परिर्वतन हुन नसक्दा कृषिजन्य वस्तुमा उत्पादक किसान र क्रेता–विक्रेताबीचको मूल्यमा धेरै अन्तर रहेको दाबी गरे।

उनले नेपालमा भोकमरीको समस्यामा सुधार भएकाले आयात बढ्न गएको पनि बताए।

त्यस्तै, अखिल नेपाल किसान महासंघका अध्यक्ष डा.प्रेम दंगालले खाद्य प्रणालीमा सुधार ल्याउन सरकारले खाद्य नियमावली ल्याएर राष्ट्रिय खाद्य संप्रभुता परिषद् बनाउनुपर्ने माग गरे। उनले राष्ट्रिय खाद्य संप्रभुता परिषद् बनाउँदा स्थायी प्रकृतिको अधिकार सम्पन्न भएमात्रै नागरिकहरु खाद्य अधिकारको पहुँचमा पुग्ने बताए।

त्यस्तै, मानव अधिकार एलान्सका महासचिव विदुर सुवेदीले नेपालमा कृषि शिक्षाको अभाव रहेको बताए। उनले कृषि सम्बन्धि शिक्षा कमजोर हुँदै गएको अवस्थामा पनि कृषकहरु समेत विदेश जाने क्रम बढिरहेको भन्दै चिन्ता व्यक्त गरे।

महासचिव सुवेदीले विकासित मुलुकहरुले हरित ग्यास उत्पादन गरेको कारण खाद्य संकट आउन थालेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad