ad ad

कारोबार


रुपन्देहीमा होटलमा मात्रै ३० अर्ब बढी लगानी

रुपन्देहीमा होटलमा मात्रै ३० अर्ब बढी लगानी

प्रकाश न्यौपाने
मंसिर ३०, २०७६ सोमबार ७:१९,

दशकअघि भैरहवा–लुम्बिनी–बुटवल क्षेत्रमा मध्यमस्तरका होटल थिए। तारे होटल पाउन मुस्किल पर्थ्याे।

‘अहिले त्यो अवस्था छैन। उसबेला सुविधासम्पन्न होटल नहुँदा पर्यटकहरु यहाँ आएको दिनै भारत फर्किने गर्थे। केहीले नेपालकै बाह्य जिल्ला गन्तव्य गराउँथे। पछिल्लो समय यस क्षेत्रमा तारेसँगै स्तरीय होटल धमाधम थपिँदै छन्। यहाँका होटलले एकैपटक २० हजार बढी पर्यटक थेग्न सक्छन्’, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सीपी)ले भने।

तारे होटल समेत दर्जन हाराहारी पुगिसकेका छन्। करोडसम्मका पर्यटकीय होटल तीन सय हाराहारी पुगिसकेका छन्।

यहाँको मुख्य गन्तव्य भनेकै बुद्धजन्मस्थल लुम्बिनी हो। वर्षेनी १६ लाख हाराहारी आन्तरिक तथा बाह्य पर्यटक लुम्बिनी पुग्छन्। सन् २०१९ को ११ महिनामा आन्तरिक र बाह्य गरी १४ लाख बढी पर्यटक लुम्बिनी पुगेका छन्।

lumbini hotel 1

जिल्लाका अन्य गन्तव्यहरुमा पनि आकर्षण छ। ठूला शैक्षिक संस्था र अस्पतालले गर्दा शैक्षिक तथा स्वास्थ्य पर्यटक पनि बढेका छन्। जसले होटल व्यवसायमा थप लगानी आकर्षित गरेको छ।

पर्यटन व्यवसायीको भनाइ मान्ने हो भने जिल्लामा सञ्चालित र बनिरहेका सानाठूला होटलमा ३० अर्बभन्दा बढी लगानी भइसकेको छ। लगानी अझै बढ्दो छ। भैरहवामा मात्रै दर्जन बढी स्तरीय होटल सञ्चालित छन्। लुम्बिनी र बुटवलमा पनि अर्ब–अर्ब लगानीका होटल खुलेका छन्। केही खुल्ने तरखरमा छन्।

‘खासगरी पछिल्ला वर्षहरुमा बाह्य पर्यटक लक्षित होटलहरुको आकर्षण बढ्दो छ’, पर्यटन व्यवसायी गोविन्द ज्ञवालीले भने, ‘बुद्ध जन्मस्थल लुम्बिनीसँगै सञ्चालनको अन्मित चरणमा रहेको गौतमबुद्ध विमानस्थल, प्रदेश अस्थायी मुकाम, भारतीय सीमानाका, विशेष आर्थिक क्षेत्र (सेज), मुलुककै दोस्रो ठूलो भन्सार कार्यालय, स्थलमार्गी पर्यटक बढी आउने मुलुककै ठूलो नाकालगायतले गर्दा यहाँ पूर्व–पश्चिमका व्यवसायी र विदेशीहरुले पनि होटल व्यवसायमा लगानी गर्दै आएका छन्।’ 

lumbini hotel 2

होटलमा व्यवसायमा गरेको लगानी सुरक्षित मानिन्छ। अझ भन्ने हो रुपन्देहीमा होटल गरिएको लगानी झनै सुरक्षित छ। एकपटकको लगानी, राम्रो आम्दानी, अधिक सम्भावना, भौगोलिक विविधता र सुगमता जस्ता कारणले पछिल्ला वर्षमा रुपन्देहीमा पर्यटकीय होटलहरु धमाधम खुलिरहेका छन्।

यहाँ विश्व पर्यटन केन्द्र लुम्बिनीकै कारणले गर्दा होटलहरु फस्टाउँछन् भन्नेमा दुईमत छैन। वर्षेनी विदेशी पर्यटकको आकर्षण लुम्बिनीमा बढ्दो छ। भैरहवा, लुम्बिनी, तिलोत्तमा र बुटवल तथा आसपासका क्षेत्रमा ह्वात्तै पर्यटक लक्षित होटलहरु खुल्ने क्रम बढेको छ। हुन त नेपालमा धेरै ढिला गरीे ‘तारे होटल’को सुरुवात भएको पाइन्छ। तर, पनि तारे होटल खुल्ने क्रम उत्साहका साथ बढेको छ।

विदेशीसँगै नेपाली उद्योगी व्यापारीहरुले होटल उद्योगमा प्रशस्त लगानी गरिरहेका छन्। पर्यटक लक्षित गरेरै यहाँ तारे होटलहरु खोल्ने धेरै छन्। विदेशी लगानीमा रहेको सिल्भर हेरिटेज गु्रप पाँचतारे टाइगर प्यालेस रिसोर्ट सञ्चालनमा ल्याएको दुई वर्ष बितिसकेको छ।

तिलोत्तमाको कोटीहवामा रहेको यो रिसोर्टमा मात्रै ५ अर्ब बढी लगानी गरिएको सञ्चालकको दावी छ। यहाँ १ सय बढी कोठा छन्। यो होटल खासगरी भारतीय पर्यटकको आकर्षण बनेको छ। क्यासिनो समेत भएकाले यहाँ दैनिक सयौं भारतीय क्यासिनो खेल्न आउँछन्।

लुम्बिनीमा होटल व्यवसायमा लामो अनुभव संगालेका पवन हलवाईले ३ अर्ब लगानीमा निर्माण गरेको पवन प्यालेस इन्टरनेशनल पाँचतारे होटल सञ्चालनमा आएको छ। अब छिट्टै यो होटल पूर्ण क्षमतामा सञ्चालनमा आउँदै छ। लुम्बिनीमै जापानी नागरिक नोर्बु कासाईको २ अर्ब बढी लगानीमा तारे होटल लुम्बिनी कासाई सञ्चालनमा छ।

lumbini hotel 3

यो होटलको स्तर वृद्धि समेत गरिँदै छ। यस्तै, १ अर्ब भन्दा बढी लगानी रहेको होटल होक्के पनि पर्यटक लक्षित नै हो। लुम्बिनीमा योसँगै अन्य करोडदेखि अर्बसम्म लगानी गरिएका थुप्रै होटल खुलेका छन्।

तिलोत्तमाको मणिग्राममा रहेको ड्रिमल्याण्ड रिसोर्टले पनि स्तरोन्नति गरेको छ। यो होटलमा पनि करिब १ अर्बबढी लगानी भइसकेको सञ्चालकको दावी छ। मणिग्रममै तारेसरहको होटल टुलिप सञ्चालनमा आएको छ। भैरहवामा तीनतारे होटल नान्स सञ्चालनमा छ। यसमा मात्रै ५० करोड लगानी गरिएको छ।

नान्समा १० करोड थप लगानी गरी चारतारेमा स्तरवृद्धि गरिँदैछ। भैरहवाको नजिकै बसन्तपुरमा होटल बोधी रेडसन सञ्चालनमा छ। यो तारे होटलमा करिब अर्ब लगानी भएको छ। यस्तै, भैरहवाकै बुद्धचोकमा घिमिरे समूहको अर्ब लगानीमा पाँच तारे होटल निर्माण भइरहेको छ। सञ्चालनमा आउँदा यो भैरहवाको पहिलो पाँच तारे होटल हुनेछ।

भैरहवा बजारमै अर्को तारे होटल निर्भाना सञ्चालनमा छ। यो होटलमा ५० करोड माथि लगानी गरिसकिएको छ। यस्तै भैरहवाको अञ्चलपुरमा तारेसहरको सिद्धार्थ कटेज निर्माण भइरहेको छ।

यस्तै, गौतमबुद्ध विमानस्थल अघि लुम्बिनी रोडमा पनि दुईवटा तारे होटल निर्माण भइरहेको छ। करोडौं लगानीमा मत्स्य हव मानिने छपियामा छपिया फिस भिलेज सञ्चालनमा छ। यहाँ पनि लगानी थप गरिँदै छ।

बुटवलमा ४० करोड बढी लगानीमा होटल एभिन्यु सञ्चालनमा ल्याइएको छ। यस्तै, भैरहवा क्षेत्रमा ५ करोडभन्दा माथि लगानी गरिएका होटल अशोका, पौवा, क्यासल, ह्वाइट लोटस, यति, सिटी म्याक्स, सीटी सेन्टर, लाकौल इन, होटल लाकौल, पौवा, एसआर सञ्चालनमा छन्। देवकोटाचोकमा व्यवसायी रामबहादुर कोइरीले ५० करोड बढी लगानी गरेर मौर्य होटल सञ्चालनमा ल्याएका छन्।

‘आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर मैले होटलमा लगानी गरेको हुँ, लुम्बिनी रोडमा पनि अर्को होटल निर्माण गर्दैछु’, कोइरीले भने। यस्तै, बुटवल ढबाहामा आरम्भ रिसोर्ट, नयाँ मिलमा लक्ष्मी होटल, बुटवलमै दरबार होटल, महाराजा, न्यू ईरा, सिन्दुर, डार्सिस, क्लब डेनोभो, एशियन जस्ता स्तरीय होटल सञ्चालनमा छन्। यिनी होटलमा पनि करोडौं लगानी गरिएको छ।

५ लाखदेखि करोडसम्मका होटल त रुपन्देहीमा थुप्रै सञ्चालन छन्। दैनिकजसो खुलीरहेका छन् र केही खुल्ने क्रममा छन्। गौतमबुद्ध विमानस्थल निर्माण सम्पन्न पछि यहीँबाट अन्तर्राष्ट्रिय उडान हुने भएकाले पनि त्यतिबेलादेखि हुन सक्ने पर्यटकहरुको चाँपलाई मध्यनजर गर्दै होटल निर्माण धमाधम बढेको हो।

विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रमा कम्तिमा पनि १० हजार बेड (५ हजार होटल कोठा अतिरिक्त) आवश्यक पर्ने व्यवसायी बतउँछन्। अबको ६ महिनामा सञ्चालन गर्ने गरी निर्माण भइरहेको विमानस्थललाई मध्यनजर गर्दै यस क्षेत्रमा सुविधा सम्पन्न होटल निर्माण गर्ने क्रम बढ्दै छ।

पर्यटक लक्षित होटलहरु बढ्दै जाँदा रोजगारीका अवसर पनि बढ्दै गएका छन्। हाल यहाँ सञ्चालित होटलहरुमा पाँच हजार हाराहारी रोजगाररत छन्।

स्थानीय तहहरुले आफ्नो क्षेत्रमा लगानी भित्र्याउन विभिन्न कर छुट सुविधा समेत दिइरहेका छन्। यसले पनि रुपन्देहीमा पर्यटन व्यवसायीले लगानी बढाइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .