ad ad

कारोबार


यतीको नयाँ विमानले थाल्यो व्यावसायिक उडान

यतीको नयाँ विमानले थाल्यो व्यावसायिक उडान

नेपालखबर
असोज १४, २०७९ शुक्रबार ११:४, काठमाडौँ

निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सको नयाँ विमानले आज व्यावसायिक उडान सुरु गरेको छ। गत भदौ २० गते छैटौँ एटीआर ७२–५०० विमान थप गरेको यतीले व्यावसयिक उडान थालेको हो।

नयाँ थपिएको विमानले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिएर आज बिहान ८.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उडान भरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तोलाले जानकारी दिए। 

सो विमानलाई प्राधिकरणले नाइनएन–एएमजेट कल साइन दिएको छ। सत्तरी सिट क्षमताको उक्त विमान अस्ट्रेलियन कम्पनीसँग लिजमा ल्याएको हो। एमएसएन नं ९८६ भएको उक्त विमानको जम्मा आठ हजार दुई सय ७३ साइकल र १० हजार दुई सय ९१ घण्टा मात्र उडान भरेको प्रवक्ता बर्तौलाले जानकारी दिए। 

एटीआर कम्पनीले उत्पादन गरेको ७२–५०० सिरिजको विमानमा यो सबैभन्दा पछिल्लो उत्पादन हो। कम्पनीले यो विमानपश्चात् थप एउटा मात्र विमान उत्पादन गरेर सो सिरिजको उत्पादन नै बन्द गरी ७२–६०० सिरिजका विमान उत्पादन सुरु गरेको हो।

नेपालमा ट्रङ्क रुटमा उडान गर्ने अन्य विमानभन्दा यो नै पछिल्लो र कम उडान भरेको विमान हो। विमानको आयु यसको साइकल र उडान घण्टामा आधारित हुन्छ। एटीआर विमानको साइकल ७० हजारभन्दा बढी हुन्छ। एक उडानलाई एक साइकल गणना गरिन्छ।

“नेपालीको महान् पर्व बडादसैँको शुभसाइत पारेर हामीले उडान सुरु गरेका छौँ, यसले दसैँको बेला हुने उडान चापलाई कम गर्न र समयमै उडान भर्न सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ”, प्रवक्ता बर्तौलाले भने।

उत्कृष्ट इन्टेरियर, लग्जरी सिटको साथै वातानूकुलित उक्त विमानको यात्रा अझ बढी आरामदायी हुने यती एअरलाइन्सले जनाएको छ।

सो एअरलाइन्सले हाल नेपालको सुगम गन्तव्य काठमाडौँ चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्जलगायत पर्वतीय उडानमा आफ्नो सेवा दिइरहेको छ भने अन्तराष्ट्रियतर्फ चार्टर र नन सेड्युल उडान गर्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .