ad ad

कारोबार


दशैँको लागि हवाइ टिकट ७० प्रतिशत बुकिङ, यात्रु बढे उडान थप्ने

दशैँको लागि हवाइ टिकट ७० प्रतिशत बुकिङ, यात्रु बढे उडान थप्ने

वसन्त अर्याल
असोज ४, २०७९ मंगलबार १३:२८, काठमाडौँ

दशैँको लागि हवाइ टिकट ७० प्रतिशत अग्रिम बुकिङ भइसकेका छन्। 

काठमाडौंबाट विभिन्न गन्तव्यमा उडानको लागि अग्रिम टिकट बुकिङ भइरहेको छ। 

वायुसेवा कम्पनीहरुले टिकट बुकिङ बढेको बताउँदै मागअनुसार थप उडान गर्न सकिने अवस्था रहेको जनाएका छन्। 

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले ७० प्रतिशत बुकिङ भइसकेको जानकारी दिए। दशैँको समयमा क्राउडिङ नरहेको उनको भनाइ छ। 

हवाइ सेवा प्रदायकका अनुसार विगतका वर्षमा दशैँ आउनुअघि नै धेरै टिकट होल्ड भएर बस्थे। ट्राभल एजेन्सीले टिकट होल्ड गर्दा छिट्टै टिकट ‘फुल’ हुने अवस्था थियो।

हाल ग्राहक आफैँले अनलाइनबाट टिकट काट्न सक्ने भएसँगै पैसा बुझाएका टिकट मात्रै बुकिङ हुन्छन्। 

‘पहिला ट्राभल एजेन्सीले होल्ड गरेर राख्दा पहिलाबाटै टिकट पाउन मुस्किल पथ्र्यो’, यति एयरलाइन्सका प्रवक्ता बर्तौलाले भने, ‘अहिले ग्राहक आफैँले टिकट काट्ने हुँदा आफ्नो सेडुल मिलाएर काट्छन्।’

बर्तौलाका अनुसार फूलपाती, अष्टमी र नवमीका दिनका अधिकांश टिकट बुकिङ भइसकेका छन्। कम्पनीहरुले अहिले पूरा भाडामा केही घटाएर बुकिङ गराइरहेका छन्। फूलपातीपछिको टिकट अब महंगोमा हुन्छन्। 

‘फूलपातीपछिका सस्ता टिकट थोरै मात्र छन्’, बर्तौलाले भने, ‘अझैसम्म उक्त समयमा दिउँसोको लागि सहज छ। बिहान र बेलुका बढी चाप छ।’

जस्तो कि टीकाको दिन काठमाडौंबाट धनगढीमा बुद्ध एयरको सस्तो दरमा एउटामात्रै उडान बाँकी छ। जसको भाडा ७ हजार ५ सय रुपैयाँ छ। त्यस्तै श्री एयरलाइन्सको ११ हजार ३ सय २५ रुपैयाँ छ। 

त्यसै दिन साँझ बुद्ध एयर र श्री एयरलाइन्सको १७ हजार २५ रुपैयाँको टिकट छ। 

यति एयरलाइन्सले अहिले ५ वटा एटीआर जहाजले नियमित उडान गर्दै आएको छ। केही दिन अघिमात्रै कम्पनीले एटीआर ७२ जहाज भित्र्याएको थियो।  

‘नागरिक उड्डयन प्राधिकरणमा दशैँको लागि उडानतालिका माग गरेका छौँ’, उनले भने, ‘माग भए ६ वटै जहाजले उडान गर्छौँ।’

यति एयरलाइन्सले अहिले दैनिक ५६ वटा उडान गरिरहेको छ। 

यति एयरलाइन्सले उडान नगरेका केही गन्तव्यमा टिकट बुकिङ फुल भइसकेका छन्। सुर्खेत, तुम्लिङटारमा कम जहाज हुँदा दशैँको लागि टिकट पाउन मुस्किल छ। बुद्ध एयरले तुम्लिङटारमा १ उडान थप गरेको छ भने सुर्खेतमा उडान थप गर्न नसकिने जनाएको छ। भरतपुरमा पनि बुद्ध एयरको उडान छ। 

बुद्ध एयरका मार्केटिङ सेल्स एन्ड ग्राउन्ड ह्यान्डलिङ निर्देशक रुपेश जोशीले बुकिङ धमाधम भइरहेको बताए। उनले पहिलाजस्तो दशैँको समयमा टिकट नपाउने अवस्था नरहेको बताए। 

‘पहिलाजस्तो टिकट बुकिङमा हानथाप छैन। सहजै टिकट पाउनसक्ने अवस्था छ’, जोशीले भने, ‘तुम्लिङटारमा टिकट पाउन मुस्किल छ। अन्य गन्तव्यमा टिकट पाउन सकिन्छ।’

काठमाडौं–सुर्खेत सिधा उडानको लागि १ वटा नियमित उडान भइरहेको बताउँदै दशैँको समयमा उक्त गन्तव्यमा उडान थप गर्नसक्ने अवस्था नरहेको जोशीले बताए। 

‘बुद्ध एयरको एटीआर १४ वटा र सानो २ वटाले नियमित उडान गरिरहेका छन्’, उनले भने, ‘बुद्ध एयरले दैनिक दुईतर्फी १५० वटा उडान भइरहेको छ।’

यात्रुको माग बढे बुद्ध एयरले दशैँको समयमा उडान थप गर्नसक्ने जनाएको छ। झापादेखि धनगढीसम्म तराईका विमानस्थलमा रात्रिकालीन उडान गर्नसक्ने जनाएको छ। 

हवाइ सेवा कम्पनीका अनुसार दशैँको समयमा पोखरा, भैरहवा, विराटनगरमा सबैभन्दा बढी यात्रुको चाप हुने गरेको छ। उक्त विमानस्थलमा रात्रिकालीन उडान गर्न सकिने भएकाले दशैँको समयमा उडान थप गर्नसक्ने बताएका छन्। 

‘यात्रु बढ्दा उडान संख्या थप गर्नसक्ने क्षमतामा रहेका छौँ’, जोशीले भने, ‘अहिलेका उडान भरिएपछि नयाँ उडान थप गर्छौँ।’

श्री एयरलाइन्सले ७० प्रतिशत बढी नै बुकिङ भएको जनाएको छ। कम्पनीले दशैँको समयमा नियमित उडानले नपुग्ने आकलन गरेको छ तर नयाँ उडान थप गर्ने नगर्ने एकीन नभइसकेको एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए। 

‘श्री एयरलाइन्सको बुकिङ ७० प्रतिशत बढी नै भइसकेको छ’, मानन्धरले भने, ‘केही दिनमै टिकट बुकिङ फुल हुने देखिन्छ। नयाँ उडान थप गर्ने नगर्ने यात्रुको चाप हेरेर थाहा हुन्छ।’

दशैँको समयमा नवमीको समयमा काठमाडौं उपत्यकाबाट विभिन्न गन्तव्यमा जाने धेरै हुन्छन् भने दशमीपछि विभिन्न गन्तव्यबाट काठमाडौं आउने हुन्छन्।

एयरलाइन्स कम्पनीले दशैँमा यात्रुको संख्यामा वृद्धि भए पनि एकतर्फी मात्रै यात्रु पाउने अवस्थाको कारण बढी व्यापार भने नहुने बताउँछन्। वायुसेवा कम्पनीका अनुसार अधिकांश यात्रुले दुईतर्फी टिकट नै बुकिङ गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .