कारोबार


पशुपतिको बजेट पारित, मृगस्थली क्षेत्रमा शतबीज मार्ग बनाइने

पशुपतिको बजेट पारित, मृगस्थली क्षेत्रमा शतबीज मार्ग बनाइने

नेपालखबर
भदौ २३, २०७९ बिहिबार १५:४९, काठमाडौँ

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत कार्यक्रम र बजेट पारित गरेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा परिषद्का अध्यक्ष एवम्  पर्यटनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा बसेको वैठकमा कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले ९६ करोड ८४ लाख ४७ हजार रुपैंया बजेट प्रस्तुत गरेका थिए। 

बजेटमा मृगस्थली क्षेत्रमा शतबीज मार्ग निर्माणलाई प्राथमिकता दिइएको छ। पशुपति क्षेत्रमा बालाचतुर्दशीको अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्ने गरेको छ। शतबीज मार्ग निर्माण तथा व्यवस्थापन गरी सो क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न लागिएको मन्त्री श्रेष्ठले बताए। 

कोषको नीति, कार्यक्रम र बजेटमा फोहर व्यवस्थापन एवं सरसफाइको व्यवस्था, खानेपानी र स्नान गर्ने पानीको व्यवस्थापन, आर्यघाट व्यवस्थापन तथा मलामी बस्ने स्थानको व्यवस्था, पार्किङ क्षेत्र व्यवस्थापनलाई प्राथमिकता दिइएको छ। जीर्ण बनेका भौतिक संरचना निर्माण, मन्दिरका  बहुमूल्य निधीको संरक्षण र संवर्द्धनलाई कोषले प्राथमिकता दिएको सदस्य-सचिव डा. मिलन कुमार थापाले बताए।

बैठकमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले निर्माण गरेको गुरुयोजनालाई छिट्टै अन्तिम रुप दिनेबारे पनि छलफल भएको थियो।

गुरुयोजनाबाट पशुपति क्षेत्रको संस्कृति र सम्पदाको संरक्षण हुनुका साथै अन्तर्राष्ट्रिय धार्मिक तथा आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने मन्त्री श्रेष्ठले बताए। पशुपति क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले पशुपतिनाथमा हुने मेला तथा दर्शन गर्न सहज र व्यवस्थित गर्नुपर्ने बताए। 

पशुपति क्षेत्र विकास कोषका लागि चालू आर्थिक वर्षमा नेपाल सरकारबाट विभिन्न २६ वटा पुँजीगत कार्यक्रम संचालन गर्न २४ करोड बजेट बिनियोजन भएको तथा कोषको आन्तरिक स्रोतबाट कोष कार्यालय, पशुपति मन्दिर र घाट सेवाका लागि २० करोड ७० लाख पुँजीगत खर्चको लागि बजेट व्यवस्थापन गरिएको कोषाध्यक्ष सुवेदीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad