सबै गन्तव्यको पूर्वाधार विकास, प्रवर्द्धन तथा प्रचारप्रसार गर्नसके प्रदेश ५ ले पर्यटनबाटै समृद्धि हासिल गर्नसक्ने धेरै आधार छन्।
यो प्रदेशमा विश्व सम्पदा सूचीमा सूचीकृत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि राष्ट्रिय निकुञ्ज र ढोरपाटन शिकार आरक्षण समेत छन्।
‘हामीले लुम्बिनीलाई केन्द्रमा राखेर सबै पर्यटकीय स्थललाई जोड्न सक्यौं र विकास गर्यौँ भने नागरिकको जीवनस्तर त उकासिन्छ नै प्रदेश समृद्ध बन्छ’, पर्यटन विकास मञ्च बर्दिया अध्यक्ष मोहन चौधरी भन्छन्’, ‘हामीले ठाउँ देख्यौं, त्यसलाई चिनेर पूर्वाधार विकास, प्रवर्द्धन र प्रचारप्रसार गर्न सकेनौं। एकीकृतरुपमा विकास गर्न नसक्दा प्रदेशका धेरै पर्यटकीय गन्तव्यमा पर्यटक पुग्न सकेका छैनन्।’
उनकै भनाइलाई आधार मान्ने हो भने प्रदेशभित्रका धेरै गन्तव्य पूर्वाधार विकासबाट टाढा छन्। प्रचारप्रसार छैन। प्रवर्द्धन साँघुरिएको छ। प्रदेश ५ सरकारले अहिले लुम्बिनी भ्रमण वर्ष–२०७६ मनाइरहेको छ। नेपाल भ्रमण वर्ष २०२० को तयारी भइरहेको छ। तर बर्दिया राष्ट्रिय निकुञ्ज लगायत प्रदेशका धेरै गन्तव्यको प्रवर्द्धनमा खासै चासो दिइएको छैन।
हिन्दू धर्मावलम्बीको प्रमुख गन्तव्य मध्येको प्यूठानको स्वर्गद्वारीमा अझै राम्रो पूर्वाधार विकास हुन सकेको छैन। कच्ची र खाल्डाखुल्डी सडकले हिउँदमा केही पर्यटक पुगे पनि वर्षायाममा पर्यटक पुग्नै मुस्किल छ। ‘सडक संजालकै कारण यहाँ चाहेजति पर्यटक आउन सकेका छैनन्, सडक मात्रै राम्रो बनाउने हो भने दोब्बर पर्यटक भित्रिन्छन्’, मन्दिरका पुजारी बाबुराम न्यौपानेले भने।
प्रदेश ५मा राजा शुद्धोधनको दरबार तिलौराकोट, बुद्ध मावली देवदह, बुद्धको अस्तुधातु रहेको रामग्राम, गोटीहवा, निग्लिहवा, जितगढी किल्ला, मणिमुकुन्द उद्यान, रिडीधाम, गुरिल्ला पदमार्ग, धारापानी र पाल्पा दरबार, गौमुखी, जगदीशपुर ताललगायत थुप्रै पवित्र धार्मिक तथा ऐतिहासिक सम्पदाहरुका साथै बर्दिया, बाँके राष्ट्रिय निकुञ्ज, जलजला संरक्षित क्षेत्र, ढोरपाटन शिकार आरक्ष जस्ता प्रकृतिका मनोरम दृश्यले सजिएका स्थल छन्।
यस्तै, भैरवस्थान, गुल्मीको रिडी, अर्घाखाँचीको सुपादेउराली, चरिंगे दह, भोटेदह, चमेरे गुफा, वराह मन्दिरलगायतका पर्यटकीय गन्तब्यहरु प्रशस्त छन्। यी गन्तव्यहरुलाई लुम्बिनीसँग जोडेर यहाँ आउने पर्यटकलाई ती स्थान र त्यहाँ पुग्ने पर्यटकलाई यहाँ ल्याउने वातावरण बनाउन सकेमात्रै पर्यटन क्षेत्रले फड्को मार्ने व्यवसायी बताउँछन्।
लुम्बिनी
लुम्बिनी प्रदेश नम्बर पाँचको मात्रै नभई मुलुककै प्रमुख पर्यटकीय गन्तव्य हो। बुद्ध जन्मस्थल भएकाले यो धार्मिक पर्यटनसँगै शान्तिकामीको केन्द्र हो। आन्तरिक तथा बाह्य पर्यटकका लागि यो क्षेत्र उत्कृष्ट स्थल मानिन्छ।

गौतम बुद्धको बारेमा सबैकुरा थाहा पाउन यहाँ आएपछि सहजै सकिन्छ। लुम्बिनी सडक तथा हवाई मार्गबाट सहजै पुगिन्छ। विश्वभरका बौद्ध धर्मावलम्बीहरु एकपटक जसरी पनि लुम्बिनी पुग्नु पर्छ भन्ने मान्यताका साथ यहाँ घुम्न आउने गर्दछन्। यहाँ वार्षिक १६ लाखको हाराहारी आन्तरिक तथा बाह्य पर्यटक आउँछन्। प्रदेश अस्थायी राजधानी बुटवलबाट ४० किलोमिटर दूरीमा लुम्बिनी पर्छ।
यहाँ पवित्र मायादेवी मन्दिर, विभिन्न गुम्बा र बुद्ध मूर्ति देख्न सकिन्छ। पवित्र उद्यान भित्र बनेको केन्द्रिय नहरमा बोटिङको व्यवस्था छ। यहाँ आकर्षक बगैँचा समेत छ। बाह्रैमास बलिरहने शान्ति दीपले यहाँको वातावरणलाई झनै मनमोहक बनाएको छ। सरकारले लुम्बिनीको एकीकृत विकास गर्ने योजना अघि सारेको छ।
बृहत्तर लुम्बिनीको एकीकृत विकासबाटै पर्यटक भित्र्याउने योजना बनाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताउँदै आएका छन्। सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी योजनामा लुम्बिनीले ठूलो टेवा पुर्याउनेछ। लुम्बिनीको सामिप्यतामा गौतमबुद्ध विमानस्थल छ। यसले यात्रालाई अझै सहज बनाइदिएको छ। लुम्बिनी पुग्न चारैतर्फ फराकिला सडक छन्।
स्वर्गद्वारी
धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी प्यूठान जिल्लामा पर्छ। यहाँ नपुग्ने हिन्दूहरुको तीर्थयात्रा नै पुरा हुँदैन भन्ने विश्वास गरिन्छ। प्रदेश राजधानी बुटवलबाट करिब १८५ किलोमिटरको दूरी यात्रापछि पुग्न सकिन्छ।

यो अग्लो लेकमा पर्छ। परापूर्वकालमा ऋषिमुनिहरुले यसै ठाउँमा बसी जपतप गरेर स्र्वग गएकाले यस स्थानको नाम स्वर्गद्वारी राखिएको किम्वदन्ती छ। यो नेपालकै पवित्र धामहरु मध्यको एक धाम पर्छ। यहाँ रहेका मठमन्दिरमा पूजाआजा गरिन्छ।
‘यहाँ आउने जो कोहीलाई स्वर्गद्वारी प्रभूका पाइला, गुफा र मठमन्दिरले मनै लोभ्याउँछ। यहाँबाट हिमशृङ्खला समेत देख्न सकिने भएकाले यो निकै महत्वपूर्ण क्षेत्र हो’, पुजारी न्यौपानेले भने। खासगरी यो धाम भारतीय पर्यटकको आकर्षक स्थल मानिन्छ। सडकमार्ग सहज भए यहाँ वार्षिक १० लाख पर्यटक भित्र्याउन सकिने बताइन्छ। यहाँ अहिले पनि आन्तरिक तथा बाह्य गरी करिब २ लाखको हाराहारीमा पर्यटक पुग्छन्।
खासगरी वैशाख र कार्तिक पूर्णिमामा यहाँ ठूलो मेला लाग्ने गर्छ। यस्तै, प्यूठानमा प्रत्येक वर्ष माघ १ गते मेला लाग्ने अर्को धार्मिक स्थल गौमुखी पनि छ। यहाँ रहेको गुफामा नुहाउन धेरै पुग्छन्। यहाँ नुहाएर वर मागे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
बर्दिया राष्ट्रिय निकुञ्ज
पर्या पर्यटन तथा जंगलसफारीका लागि महत्वपूर्ण मानिने यो प्रदेश नम्बर पाँचको सबैभन्दा ठूलो निकुञ्ज हो। बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको आकर्षण मानिन्छ। यहाँ अघिल्लो आवमा मात्रै करिब ५० हजार पर्यटक पुगेका थिए। कर्णाली र बबई नदीको केही भाग यस निकुञ्जमा पर्छ। यहाँ ५६ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन्।

यस निकुञ्जमा हालसम्म ४३८ थरी रैथाने र बसाई सरी आउने चराहरु भएको बताइन्छ। यस निकुञ्चमा पाटे बाघ, एक सिंगे गैंडा, जरायो, चित्तल, चितुवा, घोडगधा, लगुना, बाह्रसिङ्गे र जंगली हात्तीलगायत छन्। जलचरहरुमा घडियाल गोही, मगर गोही, सोंस र थरिथरीका माछा छन्।
पर्या पर्यटनको प्रचुर सम्भावना रहेको यस निकुञ्जमा सडक यातायतको प्रयोग गरेर जान सकिन्छ। ‘जंगली जनावर हेर्न, चराचुरुङ्गीको आवाजसँग रमाउने विदेशीहरु यहाँ बढी आउँछन्’, अध्यक्ष चौधरी भन्छन्, ‘सरकारले विशेष ध्यान दिने हो र लुम्बिनी आउने पर्यटकलाई एकपटक घुमाउन सक्ने हो भने यो निकुञ्ज नेपालकै मुख्य गन्तव्य बन्न सक्छ।’
पर्यटकको बसाईँ लम्ब्याउन यो निकुञ्ज निकै महत्वपूर्ण मान्छि। यहाँ आउने पर्यटक कम्तिमा २ दुई दिन यतै भुल्छन्। ‘हामीले पर्यटकको बसाईँ थोरै भयो भन्छौं तर यो निकुञ्जको प्रबद्र्धनमा खासै ध्यान दिएका छैनौं’, अध्यक्ष चौधरीले भने, ‘पर्यटकले नयाँ कुरा हेर्न खोज्छ, त्यसैअनुसारको आतिथ्यता चाहिन्छ, त्यसका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र यहाँका होटल उत्कृष्ट ठाउँ हुन्।’
बाँके राष्ट्रिय निकुञ्ज
बाँके, दाङ र सल्यान जिल्लाको ५ सय ५० वर्ग किलोमीटर क्षेत्रमा फैलिएको बाँके राष्ट्रिय निकुञ्जमा इकोसिष्टम, वनस्पति प्रजाति, विभिन्न प्रजातिका स्तनधारीहरु, विभिन्न प्रकारका चरा, माछा तथा सरीसृप तगायतका उभयचरहरु छन्।

यो निकुञ्ज पर्या पर्यटन तथा एक पर्यटकीय स्थल हो। पूर्वमा शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्गमा रहेको निकुञ्जमा पाटेबाघ तथा हात्तीको बासस्थान पर्याप्त छ।
बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको यो निकुञ्जमा ठूला वन्यजन्तुहरुको बासस्थान समेत छ। यहाँ प्रचारप्रसारको अभावमा न्यून पर्यटक पुग्ने गरेका छन्। यदि सरकारले यहाँको प्रबद्र्धन गरी लुम्बिनी तथा अन्य निकुञ्ज र धार्मिक स्थलसँग जोडेर विकास गरेमा पर्यटक अधिक भित्र्याउन सकिने पर्यटन व्यवसायी बताउँछन्।
रानीमहल
पाल्पामा रहेको रानीमहल नेपालको ताजमहल भनेर चिनिन्छ। सफा, स्वच्छ वातावरण र जताततै हरियालीले यहाँ पुग्ने जोकोहीको मनै लोभ्याउँछ। कालीगण्डकी र बराङ्दी नदीको संगमस्थलमा अवस्थित रानीमहलमा चल्ने सिरसिरे हावाले झनै आनन्द थपिदिन्छ।

यहाँ खासगरी आन्तरिक पर्यटकको आकर्षण छ। पूर्वाधार अभाममा पर्यटक पुग्न सकेका छैनन्। यहाँ पुग्न केही किलोमीटर बाटो कच्ची छ। उक्त बाटो प्रदेश ५ सरकारले यसैवर्ष स्तरोन्नती गरी फराकिलो र पक्की बनाउन लागेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बताए।
‘हामीले रानीमहल र लुम्बिनीलाई जोडेर विकास गर्न चाहन्छौं, लुम्बिनी आएका धेरै पर्यटक त्यहाँ पुग्ने वातावरण सिर्जना गरिन्छ’, उनले भने, ‘सिद्धबाबाको सडकमा सुरुङमार्ग वा अन्य वैकल्पिक अवधारण बनाएर रानीमहल सहज पुग्ने अवस्था गराउँछौं।’
उनका अनुसार रानीमहलको विकासमा प्रदेश सरकार लागिपरेको छ। चारैतिर पहाडले घेरिएको र नदीको किनारमा निर्मित यो रानीमहल भारतको ताजमहल भन्दा निकै राम्रो भएको दावी गरिन्छ। मानव निर्मित रानीमहल प्रकृतिले सजिएको सुन्दर बगैँचासरी छ। यो ठाउँमा प्रेमको प्रतीक पनि मान्छि। यसको नजिकै रहेको श्रीनगरले पनि पर्यटकको मन तान्ने गरेको छ।
वनविहार र वनभोजका लागि प्रख्यात यो ठाउँबाट माछापुच्छ«े्र, हिमालचुली, अन्नपूर्ण, काञ्जीरोवा, मनास्लु, गणेश हिमाल आदि हिमालहरुको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ।
Shares

प्रतिक्रिया