ad ad

कारोबार


साढे २ वर्षयता पटक–पटक समस्या झेल्दै चीनतर्फका मुख्य नाका

व्यापारी अनेक संकट, सरकारलाई नाका बन्द भएको थाहै छैन!
साढे २ वर्षयता पटक–पटक समस्या झेल्दै चीनतर्फका मुख्य नाका

तातोपानी नाका (फाइल तस्बिर)


वसन्त अर्याल
साउन २७, २०७९ शुक्रबार १९:४, काठमाडौँ

नेपालका उत्तरी नाकामा पटक–पटक समस्या देखिँदै आएको छ। परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमै रहेको बेला फेरि एकपटक मुख्य दुवै नाका बन्द भएका छन्। 

बुधबारबाट चीनले पूर्ण रुपमा नेपालसँग जोडिएका स्थलमार्गका रसुवागढी र तातोपानी नाका कुनै सूचना नै नदिई बन्द गरेको हो। पछिल्लो साढे २ वर्षमा उत्तरी नाकामा यस्तो समस्या दोहोरिँदै आएको छ। 

कोरोनाको कारण देखाउँदै चीनले पछिल्लोपटक नाका बन्द गरेको बुझिएको छ। तर कति समयका लागि नाका बन्द हुने नेपालका सरकारी निकायले नै जानकारी पाएका छैनन्। परराष्ट्रमन्त्री खड्काले दुवै उत्तरी नाका खुलाउने सहमति गरेकै समयमा नाका बन्द भएका छन्। 

चिनियाँ विदेशमन्त्री वाङ यीसँगको छलफलमा रसुवा-केरुङ र तातोपानी-झाङमु सीमानाका व्यापारका लागि दुईतर्फी खोल्ने सहमति पनि भएको थियो। त्यसैगरी हिल्सा–पुराङ नाका चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना संक्रमण नियन्त्रणमा आउनासाथ एकतर्फी खोल्न दुवै पक्ष राजी भएका थिए। तर परराष्ट्रमन्त्री खड्का नेपाल आउन नपाउँदै नाका बन्द भएका छन्। 

तातोपानी नाकाबाट नेपाल आउँदै मालवाहक ट्रक (फाइल तस्बिर)

‘जानकारीविना नाकाबन्दीले व्यवसायमा ठूलो असर’ 
नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक कुमार श्रेष्ठ पूर्वजानकारी विना नाका बन्द हुँदा व्यवसायमा ठूलो असर पर्ने बताउँछन्। उत्तरी नाकाबाट स्याउलगायत कुहिने वस्तुको आयातमा असर पर्ने उनको भनाइ छ।  

‘सूचनाविनै नाका बन्द भएको हो। अनौपचारिक रुपमा १ हप्ताको लागि बन्द भएको भन्ने जानकारी पाएका छौँ’, श्रेष्ठले नेपालखबरसँग भने, ‘१ हप्तामै खुल्यो भने व्यवसायीलाई धेरै क्षति हुँदैन। नभए व्यवसायीलाई अप्ठ्यारो पर्छ।’

चीनको स्वशासित तिब्बतमा कोभिड महामारीको संक्रमण बढ्दै गएको भन्दै चीनले एकतर्फी रुपमा उत्तरी नाका बन्द गरेको छ। हिमालय सीमापार वाणिज्य संघका अनुसार उत्तरी नाकामा दैनिक ५–७ वटा गाडी चीनतर्फ जाने र १२–१३ वटा नेपाल भित्रिरहेका थिए।

तातोपानी भन्सार कार्यालयका प्रमुख नारद गौतमले चीनले बुधबारदेखि कुनै पनि मालसामान आवतजावत हुन नदिएको नेपालखबरलाई जानकारी दिए। 

उनले भने, ‘चिनियाँ पक्षले कुनै सूचना नै नदिई नाका बन्द गरेको हो। नेपाली पक्षले चीनतर्फको नाकामा रहनेसँग बुझ्दा कोरोना नै मुख्य कारण रहेको बताएका छन्।’

तातोपानीसँगै चीनले रसुवागढी नाका समेत बन्द गरेको छ। चीनले कोरोना नियन्त्रणको लागि नाकामा कडाइ गर्दै आएको छ। कोरोना सुरु भएको वर्ष अर्थात् २०७६ माघ १४ गतेदेखि नेपालतर्फको नाकामा कडाइ गरेको थियो। 

पछि आंशिक रुपमा खुल्ला गरे पनि त्यसयता अहिलेसम्म पूर्ण रुपले नाका खोलेको छैन। नेपालबाट निर्यात हुने वस्तुहरु कोभिड सुरु भएयता पूर्णरुपले जान पाएका छैनन्। 

तातोपानी नाकामा रहेको नेपाली भन्सार कार्यालय (फाइल तस्बिर)

नाकाबाट १५ दिन, समुद्रबाट ल्याए साढे २ महिनामा आइपुग्छ सामान 
उत्तरी नाकाबाट १५–१६ दिनमै वस्तु नेपाल आइपुग्छ। त्यसकारण पनि चीनबाट वस्तु आयात गर्ने व्यवसायी नाकाबाटै ल्याउन चाहन्छन्। चीनबाट नेपालमा तयारी पोशाक, इलेक्ट्रोनिक्स, मेसिनरी लगायतका वस्तु आयात हुन्छ।

हप्ता दिन बढी नाका बन्द हुनेबित्तिकै लसुन, स्याउ लगायतका विभिन्न फलफूल बिग्रिन सक्ने व्यवसायीको भनाइ छ। चीनसँग नेपालको दुईपक्षीय व्यापार २ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ। जसमा नेपालले १ वर्षमा ८० करोड रुपैयाँको वस्तु मात्रै निर्यात गरेको छ। 

‘१५–१६ दिनमै उत्तरीनाकाबाट वस्तु आयात गर्न सकिन्छ’, हिमालय सीमापार संघका महासचिव भरत कार्कीले भने, ‘उत्तरी दुवै नाका बन्द भएका छन्। छिट्टै खुल्ने आशा गरेका छौँ।’

उनले केरुङ नाकामा कोभिड देखिएपछि गाडी आवतजावत नै बन्द गराएको बताए। 

‘त्यहाँ १–२ जनामा कोभिड देखिनेबित्तिकै सबै सिल गर्छन्’, कार्कीले भने, ‘स्वास्थ्य मापदण्ड अपनाएर छिट्टै खुलाउने विश्वासमा छौँ।’

चीनबाट साढे २ खर्बको वस्तु आयात भए पनि अधिकांश समुद्रबाट आयात हुने गरेको छ। व्यवसायीका अनुसार सडकमार्गका वस्तु ल्याउँदा छिट्टै वस्तु आयात गर्न सकिन्छ भने समुद्रबाट ल्याउँदा ३ महिनासम्म लाग्ने बताउँछन्। 

रसुवागढी नाकामा चीनबाट नेपाल आउँदै नेपाली मालवाहक सवारीसाधन (फाइल तस्बिर)

नाकाबाट कति रुपैयाँको हुन्छ आयात? 
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/०७९ मा उत्तरी नाका रसुवागढीबाट २६ अर्ब ६२ करोडको आयात भएको छ भने तातोपानी नाकाबाट १४ अर्ब रुपैयाँको वस्तु भित्रिएको थियो। 

२६ वटा नाकाबाट कुल १९ खर्ब २० अर्बको आयात हुँदा रसुवा भन्सारको हिस्सा १.३९ प्रतिशत छ भने तातोपानी नाकाको ०.७३ प्रतिशत छ। व्यवसायीका अनुसार वस्तु छिटो आउने भएकाले उत्तरी नाकाको प्रयोग हुने गरेको छ।

चाडपर्व लक्षित सामग्री आउने बेला भएको छ। तीजलगत्तै दशैं तिहार आउने भएकाले व्यवसायीले भदौबाटै लत्ता कपडा ल्याउन थाल्छन्। हाल १ हप्ताको लागि अनौपचारिक रुपमा भनिए पनि कोभिड संक्रमण बढ्दै जाँदा नाका बन्दको समय लम्बिँदै जाने निश्चित छ। 

‘नाका बन्दको अवधि लम्बिँदै जाँदा दशैँको लागि आउने वस्तु रोकिन्छन्’, श्रेष्ठले भने, ‘दशैँ महंगो हुनु एउटा कुरा हो ती वस्तुको उपयोगिता सकिन्छ।’

गत वर्ष पनि चाडपर्वको समयमा ७ सय गाडी उत्तरी नाकामा रोकिएका थिए। व्यवसायीका अनुसार एउटा रेडिमेड कपडाको गाडी रोकिँदा डेढ करोड बढीको रोकिन्छ। जुत्ताको कन्टेनर रोकिँदा ७०–८० लाखको हुन्छ। 

‘अहिले गत वर्षजस्तो नाकामा धेरै गाडीको लाइन हुँदैन’, महासचिव कार्कीले भने, ‘जति नेपाल छिर्न पाउँछन् त्यति नै लोड हुन्छन्।’

चीनबाट भर्खरै नेपाल फर्किएका परराष्ट्रमन्त्री नारायण खड्का।

नाका छिट्टै खुलाउने सरकारको आश्वासन
यसैबीच, तीन दिने चीन भ्रमण सकेर बिहीबार त्रिभुवन विमानस्थलमा अवतरण गरेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले बन्द नाका चाँडै खुलाउने बताएका छन्। 

‘तातोपानी र केरुङ नाका चीनले कोभिडको कारणले बन्द गरेको हुनुपर्छ’, यसबारे अनभिज्ञ मन्त्री खड्काले भने, ‘ती नाका चाँडै खोल्ने सहमति भएको छ। चीनले सबै नाका पूर्ण क्षमतामा चलाउने पनि भनेको छ।’

उनले तिब्बतमा देखिएको महामारी नियन्त्रणमा आउनसाथ तातोपानी, रसुवागढी–केरुङ र हुम्लाको हिल्सा नाका पूर्ण सञ्चालनमा ल्याउने बताए। परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र चीनका परराष्ट्रमन्त्रीले सीमा नाकामा महामारी नियन्त्रणका लागि संयुक्त संयन्त्र स्थापना गर्ने निर्णय भएको छ। 

शुक्रबार मात्रै सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राजदुत होउ यान्छीबीच शिष्टाचार भेट भएको थियो। भेटमा उत्तरी नाका बन्दको विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। 

सचिवालयले निकालेको प्रेस नोटमा ‘दुई देशबीचका व्यापारिक नाका सुचारु गराउनेसम्बन्धी छलफल भएको’ उल्लेख गरेको छ। तर कहिले खुल्नेबारे केही उल्लेख छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .