कारोबार


सहकारी सञ्चालक पैसा लिएर भागेपछि बचतकर्ता आन्दाेलनमा

सहकारी सञ्चालक पैसा लिएर भागेपछि बचतकर्ता आन्दाेलनमा

सांकेतिक तस्बिर


नेपालखबर
साउन १३, २०७९ शुक्रबार १४:५५, काठमाडौँ

सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ बढी रकम लिएर फरार भएपछि बचतकर्ताहरुको बिचल्ली भएको छ।

४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको बचत भाण्टाबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट फिर्ता नपाएको भन्दै सुनसरीको भाण्टाबारी खण्डमा उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको बताए।

आन्दोलित बचतकर्ताले पूर्व–पश्चिम राजमार्गको भाण्टाबारी खण्डमा सडक अवरोध गरेर प्रर्दशन समेत गरेका छन्।

उनीहरुले सहकारीका सञ्चालक ३०० बढी बचतकर्ताको​ रकम लिएर फरार भएको आरोप लगाएका छन्।

पासबुकसहित बन्द रहेको कार्यालय अगाडि भेला भएका बचतकर्ताहरुले बचत गरेको रकम अविलम्ब फिर्ता नपाए आन्दोलन थप चर्काउने चेतावनी दिएका छन्।

यता सहकारी संस्थाका एजेन्टका रुपमा रहेका बचत संकलनकर्ता सूर्यनारायण साहूले आफूले स्थानीयबाट बचत संकलन गरी रकम जम्मा गरेपनि सहकारी संस्थाले भुक्तानी दिन भने आनाकानी गर्दा समस्या निम्तेको बताए। 

आफू बारम्बार बचतकर्ताको निशानामा पर्दासमेत सहकारीका सञ्चालकले बेवास्ता गरेको उनको भनाइ छ। साहूले अहिले आएर सञ्चालकले उल्टै आफूमाथि रकम नै जम्मा नगरेको भनि आरोप लगाउन थालेको बताए।

यता सहकारी संस्थाका सञ्चालक समूहले भने बचतकर्ताबाट संकलित रकम लगानी गरेको हुँदा रकम उठ्न ढिला भएकाले भुक्तानी दिन समस्या परेको बताएको छ।

सञ्चालक समितिका अध्यक्ष मनोज यादवले संस्थाले प्रवाह गरेको ऋण र जम्मा गरेको रकमका सवालमा बचतकर्तासँग मतभेदको अवस्था सिर्जना हुनपुग्दा अवस्था असहज बन्न पुगेको बताए।

उनले अडिट रिर्पोट प्राप्त हुनासाथ बचतकर्ताको रकम फिर्ता दिइने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .