कारोबार


फास्ट ट्रयाकको डीपीआर तत्काल सेनालाई दिन सरकारलाई निर्देशन

फास्ट ट्रयाकको डीपीआर तत्काल सेनालाई दिन सरकारलाई निर्देशन

नेपालखबर
असार ९, २०७६ सोमबार ७:४६,

संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्रुतमार्ग अर्थात् फास्ट ट्रयाक आयोजनाको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तत्काल स्वीकृत गरेर नेपाली सेनालाई दिन सरकारलाई सचेत गराएको छ।

समितिको सोमबारको बैठकमा सो आयोजनाका प्रमुख सरदलाल श्रेष्ठले डीपीआर मन्त्रिपरिषद बैठकबाट स्वीकृत नभएकाले सो आयोजनाको पुल र सुरुङ निर्माणको कामलाई बढाउन समस्या भएको जानकारी गराएपछि समितिले उक्त निर्देशन सरकारलाई दिएको हो।

समितिकी सभापति कल्याणी खड्काले मन्त्रिपरिषद बैठकमा पेस गरेको सो आयोजनाको डीपीआर तत्काल स्वीकृत गरी नेपाली सेनालाई दिन समितिले सरकारलाई सचेत गराएको जानकारी दिइन्। त्यस्तै समितिले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई पनि निर्देशन दिएको छ।  चार वर्षको निर्माण अवधि तोकिएको राष्ट्रिय गौरवको उक्त आयोजनाकाे दुई वर्षको समय सकिसकेको छ। 

सेनाको कामप्रति सांसदको अविश्वास
बैठकमा समितिका सदस्यहरुले सो आयोजनाको लागत र समय दुवै बढ्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘नेपाली सेनाले आगामी दुई वर्षभित्र सो आयोजना निर्माणको काम सम्पन्न गर्न सक्दैन’, समितिका सदस्य गणेश पहाडीले भने, ‘अहिलेसम्म पुल र सुरुङ निर्माणको काम सुरु नभएकाले पनि सो आयोजनाको काम आगामी दुई वर्षभित्र नेपाली सेनाले सम्पन्न गर्न नसक्ने मेरो निष्कर्ष छ।’ समितिका अर्का सदस्य जिपछिरिङ लामाले सो आयोजनाको काम आगामी पाँच वर्षभित्र पनि नेपाली सेनाले सम्पन्न गर्न नसक्ने दाबी गरे। उनले नेपाली सेनाले हालसम्म गरेको काम सन्तोषजनक नरहेको उल्लेख गर्दै त्यसको लागत पनि बढेर जाने चिन्ता व्यक्त गरे।

डीपीआर नदिँदा पुल र सुरुङ बनाउन ढिलाइ
यता, आयोजनाको हालसम्म कार्यप्रगति विवरण समितिमा पेस गर्दै आयोजना प्रमुख एवम् नेपाली सेनाका उपरथी श्रेष्ठले डीपीआर स्वीकृतिमा ढिलाइ भए सो आयोजनाको पुल र सुरुङ निर्माणको काम प्रभावित हुने जानकारी गराए। उनले सुरुङ र पुल निर्माणको कामबाहेक अन्य कामलाई भने द्रुतगतिका साथ अघि बढाइएको पनि बताए। नेपाली सेनाले सुरुङ निर्माणका कारण सो आयोजनाको लागत बढन सक्ने पनि अनुमान गरेको छ।

लागत पौने २ खर्बः नेपाली सेना
यसैबीच, २०७८ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको लागत बढेर पौने २ खर्ब पुग्ने नेपाली सेनाको अनुमान छ। निजगढ फास्ट ट्रयाकको लागत १ खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ निर्धारण गरिएको छ। भ्याटसहित यो रकम निर्धारण गरिएको सेनाको भनाइ छ। नेपाली सेनाका आयोजना प्रमुख सदरलाल श्रेष्ठले मार्गको लम्बाई ७२ दशमलव ५ किलोमिटर निर्धारण गरिएको जानकारी दिए।

द्रुतमार्गको बुदुनेमा इन्टर सेक्सन निर्माण गरिने र ६ दशमलव ४ किलोमिटर लामो सुरुङ बन्ने उनले जानकारी दिए। फास्ट ट्रयाक निर्माण सम्पन्न भएपछि १ घण्टा २ मिनेटमा काठमाडौँबाट बारा जिल्ला निजगढ पुगिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad