नेपालको सेयरबजारबारे पर्यटकीय राजधानी पोखरामा अन्तक्र्रिया कार्यक्रम गरिएको छ। नेपाल स्टक एक्सचेन्ज र पोखरा विश्वविद्यालय स्कुल अफ बिजनेस पूर्वविद्यार्थी मञ्चले संयुक्त रुपमा ‘नेपाली पुँजीबजारका समकालीन सवालहरु’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका हुन्।
कार्यक्रममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्से स्थापना भएको २५ वर्ष भइसके पनि नेपालको कुल जनसंख्यालाई आधार मान्दा यो अझै बाल्यावस्थामा नै रहेको बताए। उनले हाल पुँजीबजार प्रविधिमैत्री हुनाले यसबाट लगानीकर्ताहरुले पारदर्शी रुपमा कारोबार गर्न पाएको बताए । नेप्सेले अनलाइन प्रणाली सुरु गर्दा बजारबाट अनियमित तवरले अकूत धन आर्जन गर्नेहरुले अनलाइन प्रणालीलाई लागू हुन नदिन त्यसबेला यसविरुद्ध धेरै अनर्गल प्रचारबाजी समेत गरेको बताए।
सोही कार्यक्रममा बोल्दै अर्थ मन्त्रालय बैंक तथा वित्तीय महाशाखाका उप सचिव बैकुण्ठ निधि शर्माले पुँजीबजारमा लगानी गर्दा अरुको लहलहैमा नलागेर लगानीकर्ताहरुले अध्ययन तथा विश्लेषण गरेर मात्र अगाडि बढ्नुपर्नेमा जोड दिए। कार्यक्रममा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेपालको पूँजी बजारका विविध पक्षहरुका बारेमा बोलेका थिए भने वरिष्ठ सुचना प्रविधि अधिकृत प्रभाकर घिमिरेले नेप्सेको वेबसाइटमार्फत गरिने अनलाइन कारोबारका बारेमा जानकारी दिएका थिए। कार्यक्रममा पोखरा विश्वविद्यालय केन्द्रीय आंगिक कलेज स्कुल अफ बिजनेसका निर्देशक डाक्टर रविन्द्र घिमिरेले पनि आफ्नो धारणा राखेका थिए।
पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक कलेज र पोखरा कलेज अफ म्यानेजमेन्टका विभिन्न विद्यार्थी क्लवहरुको समन्वयमा सम्पन्न कार्यक्रमको अन्तक्र्रिया सत्रमा अञ्जली पौडेल, गौरव पराजुली, कपिल पौडेल, निरज खड्का, बिनु श्रेष्ठ, मनोज पौडेल लगायतले बोलेका थिए। कार्यक्रम पूर्व विद्यार्थी समाजका अध्यक्ष डाक्टर चैतन्य अधिकारीको अध्यक्षता र सदस्य सुवास मल्लको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया