राजनीति


कुमार पौडेल मुठभेडमै मारिएको गृहमन्त्री थापाको दाबी

कुमार पौडेल मुठभेडमै मारिएको गृहमन्त्री थापाको दाबी

नेपालखबर
असार ९, २०७६ सोमबार ४:४१,

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रहरीसँग मुठभेडमै भएको दाबी गरेका छन्।

आज (सोमबार) बिहान संसदको राज्यव्यवस्था समितिको बैठकमा मन्त्री थापाले पौडेल प्रहरीसँगको मुठभेडमै मारिएको जिकिर गरेका हुन्।

मन्त्री थापाले भने,  ‘दुई मोटरसाइकलमा आइरहेका चार जनाले प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडी फायर गरेकाले प्रहरी टोलीले पनि आत्मरक्षाका लागि जवाफी फायर गर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको र घटनास्थलबाट बरामद परिचयपत्रका आधारमा निज विप्लव समूहको सर्लाही जिल्ला इञ्चार्ज वाग्मती नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४७ को कुमार पौडेल भएको खुल्न आएको छ।’

घटनास्थलबाट मेड इन युएसए लेखिएको रिभल्बर एक थान, कटुवा पेस्तोल एक थान र तीनमा लाग्ने गोली ६ थान तथा विस्फोटका लागि प्रयोग हुने केही सामाग्री, अखिल नेपाल भूमिहीन सुकुमवासी संघ लेखिएको कसैको नाम उल्लेख नगरिएको परिचय पत्र २ सय थान, ना २२ प ६४ नम्बरको पल्सर मोटरसाइकल एक थान र अनटेस्ट एफजेड मोटरसाइकल एक थान बरामद भएको जानकारी पनि गृहमन्त्री थापाले दिए।

तर पूर्वगृहमन्त्रीसमेत रहेका नेकपाकै सांसद जनार्दन शर्माले भने गृहमन्त्री थापाको जवाफको प्रतिवाद गरेका छन्।

राज्य व्यवस्था समितिकै बैठकमा शर्माले प्रहरी र गृहमन्त्रीको रिपोर्टमा विश्वास गर्ने आधार नभएको टिप्पणी गरेका हुन्।

सांसद शर्माले भने, ‘प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ। तर जनताको पनि रिपोर्ट छ, त्यसले पौडेलको मृत्यु मुठभेडमा भएको भन्दैन।’

यही असार ५ गते दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेही नदी नजिक जंगलमा प्रहरीको गोलीबाट पाैडेल मारिएका थिए।

मानव अधिकार आयोगले पनि पौडेलको मृत्युबारे छानबिन गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad