ad ad

कारोबार


फ्याँकिएका चक्काबाट राष्ट्रिय उद्यान निर्माण शुरु

फ्याँकिएका चक्काबाट राष्ट्रिय उद्यान निर्माण शुरु

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ९:२७,

झापाको बिर्तामोडमा गोरुगाडाको चक्का प्रयोग गरी ‘द नेशनल गार्डेन’ नामक राष्ट्रिय उद्यान निर्माण थालनी भएको छ। सङ्ग्रहालयसहितको राष्ट्रिय उद्यान बनाउने ध्येयले बिर्तामोडका युवा व्यवसायी रोशन प्रसाईंले चक्काबाट उद्यान निर्माणको काम शुरु गरेका हुन्।

पाँच बिघा क्षेत्रफलमा फैलिने उद्यान निर्माणका लागि रु तीन अर्ब लाग्ने बताइएको छ। अहिले उद्यान निर्माण गर्न एक हजार ६०० भन्दा बढी चक्का स्रंकन गरिएको छ। उद्यान निर्माण गर्न अझै एक हजारभन्दा बढी चक्का लाग्ने बताइएको छ।

मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै झापामा चक्काबाट राष्ट्रिय उद्यान बनाउने उद्देश्यले पूर्वाञ्चलका विभिन्न जिल्लाबाट ७० प्रतिशत पुराना चक्का संकलन गरिसकिएको प्रसाईंले जानकारी दिए। उनले भने,, ‘विसं २०७२ देखि गोरुगाडाको चक्का संरक्षण गर्दै आएको हुँ।’

उनले बिर्तामोड– ५ र अर्जुनधारा नगरपालिका–६ देवी बस्तीमा उद्यान निर्माणको काम शुरु गरेका छन्। सानो संसार हाउजिङ नजीकै उद्यान निर्माण भइरहेको छ। उद्यान निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने बताइएको छ।

झापालाई दक्षिण एशियाकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यसहित डेढ वर्षभित्र उद्यान निर्माण गरिने जनाइएको छ। उद्यानमा ३०० वर्षभन्दा पुराना चक्का राखेर झापाको नाम विश्वसामु चिनाउने प्रयास भइरहेको प्रसाईंले बताए।

प्रयोगविहीन भएर फ्याँकिएका चक्का घरघरमा पुगेर खरीद गरिएको र उद्यानमा राखिने चक्काको ढाँचाको काम थालिएको इञ्जिनीयर अनुष पराजुलीले जानकारी दिए। उद्यानमा जमीनबाट ८१ फिट उचाइमा राष्ट्रिय झण्डा राखिने तयारी छ। ‘नेपालको नक्शाभित्र १०० भन्दा बढी फूल फुलाएर उद्यानलाई सुन्दर बनाइने तयारीसमेत थालिएको छ। उद्यानमा प्रयोग गरिने सबै चक्का ५० वर्षभन्दा पुराना र सखुवाकै हुनेछन्’, प्रसाईंले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .