ad ad

कारोबार


महंगिँदै भान्सा : फलफूल र तरकारीमा शतप्रतिशत बढी मूल्यवृद्धि

बढ्दै छ खाद्यक्षेत्रको महंगी : राष्ट्र बैंक
महंगिँदै भान्सा : फलफूल र तरकारीमा शतप्रतिशत बढी मूल्यवृद्धि

वसन्त अर्याल
असार ८, २०७९ बुधबार २०:२०, काठमाडौँ

इन्धनमा अत्यधिक मूल्यवृद्धिको असर नेपालीको भान्सासम्मै पुगेको छ।

ढुवानीलगायतको खर्च बढ्दा फलफूल, तरकारीसँगै खाद्यवस्तुको मूल्य आकाशिएको हो। 

फलफूल तथा तरकारीमा १ वर्षमा शतप्रतिशत बढीसम्मको मूल्यवृद्धि भएको छ। पेट्रोलियम पदार्थ, खाद्यान्नसँगै तरकारीको मूल्यमा भारी वृद्धि हुनपुगेको छ। 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको थोक मूल्यमा अधिकांश फलफूल तथा तरकारीमा मूल्य बढेको छ। तरकारी तथा फलफूलको मूल्य किलोमै सय रुपैयाँसम्मले बढेको छ। 

एक वर्षअघि प्रतिकिलो ३ सय रुपैयाँ रहेको अनार अहिले ४ सय रुपैयाँ पुगेको छ। त्यस्तै वर्ष दिनअघि ९० रुपैयाँ प्रतिकिलो रहेको आँप अहिले २० रुपैयाँले बढेर १०० रुपैयाँ पुगेको छ। त्यसैगरी केरा पनि ५० रुपैयाँ महंगो भएर अहिले १५० रुपैयाँ पुगेको छ। 

अन्य फलफूलमा जुनार २२० रुपैयाँ प्रतिकिलो पुगेको छ। 

असार ८ गते फलफूलमा हरियो अंगुरको अधिकतम मूल्य २५० रुपैयाँ पुगेको छ। १ महिना अघिमात्रै यसको मूल्य २०० रुपैयाँ थियो। भुइँ कटहर प्रतिगोटा १५० रुपैयाँ रहेकोमा अहिले १८० रुपैयाँ पुगेको समितिले जनाएको छ।

तरकारीको मूल्य आकाशियो
अघिल्लो वर्षको तुलनामा अहिले तरकारी मूल्य आकाशिएको छ। तरकारीमा आलु, प्याजको मूल्य स्थिर रहँदा बाँकी वस्तुको मूल्य बढेको समितिले उल्लेख गरेको छ।  

१ वर्षमा काउलीको मूल्य ६० बाट ७०, चमसुरको साग १०० बाट २०० पुगेको छ। एक महिना अघिमात्रै चमसुरको साग १५० रुपैयाँ प्रतिकिलो रहेको थियो। 

त्यस्तै कन्य च्याउ १ वर्षअघि २५० रहेकोमा ३०० रुपैयाँ पुग्दा डल्ले च्याउ २८० बाट अहिले ४०० रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कागती १००  रुपैयाँ रहेकोमा अहिले १६० रुपैयाँ पुगेको छ। 

अघिल्लो वर्ष अकबरे खुसार्नी १५० रहेको थियो अहिले २५० रुपैयाँ पुगेको छ। गाँजर १०० रुपैयाँबाट १२० पुगेको छ। भारतीय ठूलो गोलभेँडा ५० रुपैयाँ रहेकोमा अहिले १०० रुपैयाँ पुगेको छ। 

तामा १०० रुपैयाँबाट १४० रुपैयाँ भएको छ। स्थानीय बन्दा ४० रुपैयाँ रहेकोमा अहिले ९० रुपैयाँ पुगेको छ। ब्रो काउली १४० रुपैयाँ रहेकोमा २०० रुपैयाँ पुगेको छ। हरियो फर्सीको मूल्य ५० बाट ६० रुपैयाँमा पुगेको छ। 

व्यवसायीहरु फलफूल तथा तरकारीको मूल्यवृद्धि हुनुमा ढुवानी खर्चको करण महंगो भएको बताउँछन्। 

इन्धनको मूल्यवृद्धि उस्तै
अघिल्लो वर्ष असारको तुलनामा डिजेलको मूल्य ११० भन्दा तल नै रहेकोमा अहिले १९२ रुपैयाँ पुगेको छ। पेट्रोलमा अधिकतम १३० रहेकोमा १९९ पुगेको छ। 

उपभोक्ताले दैनिक प्रयोग गर्ने ग्यासमा १४२५ रुपैयाँ खुद्रा मूल्य रहेकोमा आयल निगमले १८०० रुपैयाँ पु¥याएको छ।

वाणिज्यमन्त्री दिलेन्द्र बडुले पेट्रोलियम पदार्थसहित खाद्यान्नमा मूल्यवृद्धि हुनुमा बाह्य कारण रहेको बताए। बुधबार नै राष्ट्रिय सभामा बोल्दै उनले रसिया युक्रेन युद्धको कारण इन्धनको मूल्यसँगै खाद्यान्नको समेत मूल्य बढेको बताए। 

खाद्यान्नमा सबैभन्दा महंगो खाने तेलको मूल्य रहेको छ। गत असारमा २२० देखि २३० रुपैयाँमा पाउने खानेतेलको मूल्य खुद्रामा ४०० रुपैयाँसम्म बिक्री भएको छ। अहिले खानेतेलको वृद्धिमा रोक लागेको छ। 

फेरि चिनीको मूल्य आकाशिन थालेको छ। चिनीको मूल्य ९० रुपैयाँ रहेकोमा १०५ रुपैयाँ प्रतिकिलो पुगिसकेको छ। भारतले निर्यात प्रतिबन्ध गर्ने हल्लाले पनि नेपालमा मूल्य आकाशिएको छ। 

बढ्दै छ खाद्यक्षेत्रको महंगी : राष्ट्र बैंक
राष्ट्र बैंकले पनि महंगी बढिरहेको तथ्यांक सार्वजनिक गरेको छ। पछिल्लो १० महिनाको तथ्यांकअनुसार चालू आर्थिक वर्षमा महंगी एकदमै उच्च रहेको छ। गत वैशाख महिनामा उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत रहेको छ। १ वर्षअघि यस्तो मुद्रास्फीति ३.६५ प्रतिशत थियो। 

वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत छ। २०७९ वैशाख मसान्तसम्म वार्षिक विन्दुगत मासिक औसत मुद्रास्फीति ५.८४ प्रतिशत रहेको छ।

२०७८ वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल २४.८६ प्रतिशतले मूल्यवृद्धि भएको छ। फलफूल १२.६१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डा ११.३० प्रतिशत,  दाल तथा गेडागुडी १०.५३ प्रतिशतले मूल्य वृद्धि भएको छ। 

सेवा समूहअन्तर्गत यातायात २१.८१ प्रतिशत, शिक्षा ११.६४ प्रतिशत र मनोरञ्जन ८.२१ प्रतिशत रहेको छ। 

महंगी काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.१५ प्रतिशत, पहाडमा ७.८९ प्रतिशत र हिमालमा ८.२१ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७८ वैशाखमा काठमाडौं उपत्यकामा ३.६२ प्रतिशत, तराईमा ३.५१ प्रतिशत, पहाडमा ४.१४ प्रतिशत र हिमालमा १.३३ प्रतिशत मुद्रास्फीति रहेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .