ad ad

कारोबार


बेस स्टेसनबाट उडाउन तयार भए जहाज कम्पनी, स्टेसन विवाद कायमै

बेस स्टेसनबाट उडाउन तयार भए जहाज कम्पनी, स्टेसन विवाद कायमै

वसन्त अर्याल
असार ८, २०७९ बुधबार १६:२९, काठमाडौँ

वायुसेवा कम्पनीहरु आआफ्ना बेस स्टेसनबाट उडान गर्न सहमत भएका छन्। 

वायुसेवा कम्पनी क्रमशः काठमाडौंबाहिर आधार विमानस्थलमा रात्रि बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्न सहमत भएका हुन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले असार ५ मा निर्देशन जारी गर्दै हेलिकप्टर कम्पनीले असार ७ बाट र हवाइजहाज कम्पनीले असार १३ गतेदेखि तोकिएको आधार विमानस्थलमा रात्रि बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्नुपर्ने बताएको थियो। 

वायुसेवा सञ्चालक संघले न्यूनतम परामर्श नगरी एकतर्फी प्रावधानहरु विना सूचना आदेशको रुपमा आएको भन्दै विरोध जनाएका थिए। उनीहरुले ५ बुँदे माग राख्दै बुधबारबाट सबै उडान स्थगन गर्ने घोषणा गरेका थिए। 

मंगलबार राति नै प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच छलफल भई उडानहरु नियमित गर्ने र वार्ता जारी राख्ने सहमति भएको थियो। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवम् प्रवक्ता जगन्नाथ निरौलाले वायुसेवा कम्पनीहरु छलफलपछि समस्या समाधान भएको जानकारी दिए। 

‘वायुसेवा कम्पनीहरुको असहमतिभन्दा पनि बुझाइमा केही फरक परेको रहेछ स्पष्ट पा¥यौँ’, उपमहानिर्देशक निरौलाले भने, ‘बुधबारदेखि नियमित रुपमा उडान सुचारु भएका छन्। अब उडान नरोक्ने सहमति भएको छ।’
 
उनले अहिले वायुसेवा कम्पनीले त्रिभुवन विमानस्थललाई बेस बनाएर उडान गर्दै आएका छन्। प्राधिकरणले कम्पनीहरुलाई काठमाडौंसहित बाहिरका विमानस्थलमा बिसान गर्ने गरी उडान अनुमति दिएको हो। विविध कारणले त्यो हुनसकेको थिएन। 

प्राधिकरणले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुरको नेतृत्वमा टीआईएको क्षमता कति हो। कतिवटा वायुसेवालाई रात्रि बिसान गर्न सकिन्छ भन्ने प्रतिवेदन दिन समिति गठन गरेको थियो। 

त्यो समितिले आन्तरिक जहाज ५२ वटा तर पार्किङ क्षमता १७ वटा मात्रै रहेको रिपोर्ट दियो। हेलिकप्टर ३८ वटा रहेकोमा काठमाडौंमा २१ वटा मात्रै क्षमता रहेको छ। प्राधिकरणले क्षमताअनुसार मात्रै काठमाडौंमा राख्ने र बाँकी सञ्चालन अनुमति लिँदा बेस स्टेसन पाएकै ठाउँमा जाने निर्णय गरेको थियो। 

प्राधिकरणले सबै जहाज काठमाडौंमा थुप्रिँदा जहाजका पखेटा ठोक्किने, डिले हुने जस्ता समस्या देखिएको बताएको छ। अहिले अव्यवस्थित रुपमा राखिएको छ। 

‘अब जहाज कम्पनीले काठमाडौंबाहिरका जुन विमानस्थलमा रात्रि बिसान अनुमति पाएको छ त्यहीबाटै गर्छन्’, निरौलाले भने, ‘बिसान गरेकै विमानस्थलबाट काठमाडौं उडान गर्न सक्छन्।’

प्राधिकरणले जहाजहरु बेस स्टेसनमा जाँदाबित्तिकै काठमाडौंबाट माउन्टेन फ्लाइट, लुक्लालगायतको विमानस्थललाई प्राथमिकता दिनसक्ने जनाएको छ। 

१३ गतेबाट अनिवार्य वा चरणबद्ध रुपमा जाने ‘कन्फ्युजन’
नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच जहाज बेस स्टेसनमा जाने सहमति भए पनि कहिलेबाट भन्ने विषय स्पष्ट भएको छैन।

प्राधिकरण १३ गतेबाटै जहजहरु बेस स्टेसनमा जानुपर्ने बताएको छ भने वायुसेवा सञ्चालकहरुले चरणबद्ध रुपमा जाने बताएका छन्। 
प्राधिकरणका प्रवक्ता निरौलाले आसर १३ गतेदेखि वायुसेवा कम्पनी अनिवार्य रुपमै तोकिएको बेस स्टेसन जानुपर्ने बताए।

‘प्राधिकरणको निर्णयमा अडिग छौँ। वायुसेवा सञ्चालकहरु सहमत भएर जानुभएको छ’, उनले भने, ‘१३ गते जहाज रोकिने अवस्था आउँदैन। वायुसेवा सञ्चालकले प्राधिकरणले दिएको निर्देशन पालना गर्नुहुन्छ।’

वायुसेवा सञ्चालक संघका महासचिव योगराज कँडेलले १३ गते नै अनिवार्य नभएको तर चरणगत रुपमा जान सहमत भएका छन्। 
अब कुनै पनि उडानमा रोकावट नहुने बताएका छन्। उनले प्राधिकरणसँग क्रमशः रुपमा लागू हुँदै जाने सहमति भएको छ। 

‘बेस स्टेसनको लागि चरणबद्ध रुपमा बाहिर जाने विषयमा सहमति भएको छ’, कँडेलले भने, ‘प्राधिकरणले पूर्वाधारलगायत सुविधा थप्दै जाने र हवाइ कम्पनीले काठमाडौंबाहिर बेस स्टेसन बनाउँदै जाने सहमति भएको छ।’

बुधबार बिहान केही समय कन्फ्युजन भए पनि पुरानै अवस्थाअनुसार उडान सुचारु भएको बताए। उनले अब वायुसेवा कम्पनीको कारण हवाइ उडान नरोकिने बताए। 

‘१३ गतेदेखि जहाज बेस स्टेसनमा जाने विषय अनिवार्य नहुने र क्रमशः लागू गर्दै जाने सहमति भयो’, उनले भने, ‘कुन–कुन ठाउँमा वायुसेवा कम्पनीलाई लैजान सकिन्छ छलफल गर्दै जाने कुरा भएको छ।’

कसको कहाँ बेस स्टेसन भन्ने विवाद कायमै 
प्राधिकरणले काठमाडौंमा ३३ प्रतिशत र बाँकी ६६ प्रतिशत बेस स्टेसनमा जानुपर्ने बताएको छ। प्राधिकरणले २ महिनाअघि गठन भएको समितिको आधारमा बेस स्टेसन तोके पनि एयरलायन्स कम्पनीले दर्ताअनुसार नै चल्ने बताएका छन्।

प्राधिकरणले तोकेको बेस स्टेसनबारेको विवरण वायुसेवा कम्पनीले गलत रहेको बताएका छन्। प्राधिकरणले यति एयरलाइन्सका ५ जहाजमध्ये २ काठमाडौं बेस र ३ जहाज काठमाडौं बाहिर बेस बनाउनुपर्ने बताएको छ। तर यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले यतिका ५ वटै जहाजको बेस स्टेसन काठमाडौं भएको बताएका छन्। 

प्राधिकरणका प्रवक्ता निरौलाले भने पहिला गलत रहेको भए पनि अहिले सच्याउनुपर्ने बताए। 

‘बेस स्टेसन तोक्ने अधिकार प्राधिकरणलाई रहेको छ। काठमाडौंमा धेरै जहाज भए असुरक्षा भयो भने बाहिर बेस स्टेसन तोक्नसक्छ’, उनले भने, ‘प्राधिकरणको तोकेको बेस स्टेसनमा जानैपर्छ।’

वायुसेवा कम्पनीहरुले त्रिभुवन विमानस्थलमा १७ भन्दा बढी जहाज पार्किङ गर्नसक्ने अवस्था रहेको बताउँदै आएको छ। प्राधिकरणले मार्किङ गरेर स्ट्यान्डर्ड रुपमा बढी जहाज राख्न सकिने भए १७ भन्दा बढी जहाज राख्न तयार रहेको बताएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .