नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइने बताएका छन्।
बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहमा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकले बनाउने विनियमावलीमा कर्मचारीहरुको सेवा, सुविधा र वृत्ति विकासमा ध्यान दिइने बताएका हुन्।
उनले विगतमा भएको व्यवस्थामा घटेर नआउने बरु अझ राम्रो भएर आउने बताए।
उनले भने, ‘केही विनियमसँग सम्बन्धित कुराहरु बाँकी छन् । जसको लागि सबै युनियनहरुको फिडब्याकसहित विनियमको ड्राफ्ट बनिसकेको छ र हामी सञ्चालक समितिमा छलफलको प्रक्रियामा छौँ । त्यहाँ भित्र पक्कैपनि वृत्ति विकास लगायतका कुराहरु र केही करेक्सनका कुराहरु, अनुभवको आधारमा गर्नुपर्ने करेक्सन छन् । धेरै ठूलो संशोधन पनि छैन । हामी यसमा गहन मन्थनमा छौँ । छलफलमा छौँ। म यत्ति कुरो यहाँहरुलाई राख्न चाहान्छु, हामीले पास गरिराख्ने संशोधन रिग्रेसिभ हुनेछैन। पहिलेको जुन विनियमावली छ, त्योभन्दा कुनै सेवा, सुविधा अथवा कुनै किसिमका वृत्ति विकासका व्यवस्थाहरु घटेर त्यसबाट आउने छैन । आशा गरौँ त्यो राम्रो हुनेछ। सकारात्मक हुनेछ ।’
उनले राष्ट्र बैंकमा सुशासन कायम गर्न वर्तमान व्यवस्थापन दत्तचित्त भएर लागेको बताए। बैंकका कर्मचारीहरुले गलत काम नगरेको भन्दै उनले कसैले गलत काम गरेको पाएमा प्रमाणसहित जानकारी दिन आग्रह पनि गरे।
Shares

प्रतिक्रिया