ad ad

कारोबार


सुदूरपश्चिमलाई बजेट : पुरानै योजनालाई निरन्तरता, चर्चामा मेडिकल कलेज

सुदूरपश्चिमलाई बजेट : पुरानै योजनालाई निरन्तरता, चर्चामा मेडिकल कलेज

यज्ञराज जोशी
जेठ १८, २०७९ बुधबार ८:१०, धनगढी

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा सुदूरपश्चिममा पुरानै योजनाहरुले निरन्तरतामा पाएका छन्। यस आर्थिक वर्षको बजेटमा सरकारले यस क्षेत्रका मुख्य आयोजनाहरुलाई नै बजेट विनियोजन गर्दा डडेल्धुरामा मेडिकल कलेज बनाउने विषयले भने ज्यादा चर्चा पायो। 

कैलालीको गेटामा संरचना तयार भएर पनि मेडिकल कलेज सञ्चालनमा ध्यान नपुर्याएको तर  प्रधानमन्त्रीको गृहजिल्ला डडेल्धुरामा नयाँ मेडिकल कलेज खोल्ने भनिएपछि त्यसतर्फ धेरैको चासो गएको हो।

सरकारले नीति तथा कार्यक्रममा गेटाको नाम उच्चारण नै नगरेको भन्दै यस क्षेत्रका बासिन्दा आक्रोशित बनेका थिए। तर बजेटमा भने ‘सेती र महाकाली अस्पतालबीचको सहकार्यमा सम्बन्धित विश्वविद्यालय अन्तर्गत रहने गरी गेटा मेडिकल कलेज सञ्चालनको व्यवस्था मिलाइने’ उल्लेख गरेर सरकारले यहाँको आक्रोश शान्त पार्ने प्रयास गरेको छ। 

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिलामन्त्री झपट बोहरा डडेल्धुरामा मेडिकल कलेज बनाउनेबाहेक सरकारले सुदूरपश्चिमलाई कुनै पनि नयाँ कार्यक्रम नदिएको बताउँछन्। 

‘सुदूरपश्चिममा डडेल्धुरामा मेडिकल कलेज नयाँ योजना परेको छ। त्यसबाहेक कुनै नयाँ योजना बजेटमा देखिदैँन,’ बोहराले नेपालखबरसँग भने, ‘सामाजिक आर्थिक रुपान्तरण हुने खालका, गरिबी निवारण हुने खालका, तेस्रो मुलुक र भारतमा जानेक्रम रोक्ने खालका, स्वास्थ्य र शिक्षामा परिवर्तन ल्याउने खालका कुनै कार्यक्रम नै छैनन्।’ 

त्यसबाहेक सुदूरपश्चिममा यसवर्ष सरकारले धनगढीमा अन्तर्राष्ट्रियस्तरको फाप्ला क्रिकेट मैदान तथा खेलग्रामलाई अघि बढाउने नयाँ योजना बजेटमा थपेको छ। झण्डै ३८ बिघा क्षेत्रफलमा फैलने उक्त रंगशाला तथा खेलग्राम बनाउनका लागि सरकारले विकास समितिको मोडलमा काम अघि बढाउने निर्णय समेत गरिसकेको छ। 

फाप्लामा रंगशाला बनाउने अभियान अगुवा सुवास शाही बजेटमा उक्त कुरा समेटेर सरकारले सुदूरपश्चिमको कायापलटको कार्यक्रम अघि बढाएको बताउँछन्। 

‘एउटा राम्रो रंगशाला बनाउन सक्यौँ भने त्यसको प्रभाव सबै क्षेत्रमा पर्छ। हजारौँ मानिसहरु रंगशालामा आउँदा त्यसले यहाँको पर्यटन, होटल, रोजगार, व्यवसाय र स्थानीय क्षेत्रलाई नै उकास्न मद्दत गर्छ,’ शाहीले भने, ‘फाप्लाका लागि बजेट विनियोजन गरेर सरकारले यहाँको मुहार फेर्ने योजना अघि बढाएको छ। जुन एकदमै सकारात्मक र स्वागत योग्य छ।’ 

सरकारले बजेटमार्फत सुदूरपश्चिमका पहाडी जिल्लामा १०० जनाभन्दा बढी नागरिकलाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने गरी विशेष उद्योग स्थापना गरेमा सो उद्योगले कारोबार सुरु गरेको मितिले १५ वर्षसम्म आयकर पूर्ण रुपमा छुट दिने नयाँ व्यवस्था पनि लागू गरेको छ। 

तर पूर्व प्रदेश आर्थिक मामिलामन्त्री बोहरा सुदूरपश्चिमका पहाडी जिल्लामा यो कार्यक्रम कार्यान्वनयमा आउनेमा आशंका व्यक्त गर्छन्। 

उनी भन्छन्, ‘पहाडी जिल्लामा अहिले उद्योग स्थापना सम्भवै छैन। पूर्वाधार, बिजुली, सुरक्षा, जग्गा, जल हुनुपर्यो। त्यो अहिले पहाडमा छैन। यो चुनावलाई लक्षित गरेर ल्याइएको कार्यक्रम मात्रै हो। कर्मकाण्डी बजेटबाहेक केही पनि होइन।’ 

गेटा मेडिकल कलेज : संरचना बनेको वर्षदिन भइसक्यो, सञ्चालनको छैन टुंगो

यीबाहेक बजेटमा सुदूरपश्चिमका पुरानै कार्यक्रमले निरन्तरता पाएका छन्। विगतका बजेटमै भन्दै आएको धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने कुराले यसवर्ष पनि निरन्तरता पाएको छ। यद्यपि, जग्गा मुआब्जासम्बन्धी विवादले विमानस्थलमा आशाअनुरुप प्रगति हुनसकेको छैन। 

त्यसबाहेक सेती राजमार्गको टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक खण्डको स्तरोन्नति गरिने, दोधारा चाँदनी जोड्ने चार लेनको मोटरेबल पुलको निर्माण कार्य सम्पन्न गर्ने, जलाशययुक्त ७५० मेगावाटको पश्चिम सेती र ३०९ मेगावाटको सेती ६ जलविद्युत आयोजनाको प्राविधिक तयारी गरी निर्माण कार्य अघि बढाइने, पञ्चेश्वर बहुउदेश्यीय जलविद्युत आयोजनाको निर्माण कार्यअघि बढाउन नेपालका तर्फबाट गरिने काम अघि बढाइने लगायतका पुरानै योजनाले निरन्तरता पाएका छन्। 

प्राध्यापक तथा अर्थशास्त्री डा. शिवहरी मुडभरी आफू जवान छँदादेखि गर्ने भनिएका आयोजनाहरु अहिले ७० टेक्दा पनि सुरु नभएको बताउँछन्।

‘म अहिले ७० वर्ष कटेँ। मैले अलिअलि बुझ्ने भएदेखि नै पञ्चेश्वरको कुरा सुनेको हुँ। त्यसलाई सरकारले बिर्सेको छैन। दुवै देशका प्रवृद्ध समूहले बनाएको प्रतिवेदन त नबुझ्ने भारतले पञ्चेश्वरलाई कसरी नेपालको हितमा हुने गरी अगाडि आउने दिने होला?’ मुडभरीले भने, ‘पश्चिम सेती पनि कहिले चीन, अस्ट्रेलियाले बनाइदिने भन्दाभन्दै अहिले भारतले बनाइदिने हो भन्न थालिएको छ। भारतको खोला ओगट्ने तर काम नगर्ने प्रकृतिका कारण त्यो पनि अघि बढ्नेमा शंकै छ।’   

त्यसबाहेक जलविद्युतको क्षेत्रमा २१० मेगावाटको चैनपुर सेती आयोजना कार्यान्वयनमा लागिने योजना बजेटमा उल्लेख छ। 

कञ्चनपुरको चाँदनी दोधारामा सुख्खा बन्दरगाह निर्माणको सम्भावता अध्ययन गरिने, मोहना–अत्तरिया सडकको विस्तार तथा स्तरोन्नसथ आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी अघि बढाउने, राष्ट्रिय गौरवको रानी–जमरा–गुलरिया सिँचाइ आयोजनाको प्रथम चरणको १४ हजार ३ सय हेक्टर फिडर नहर र विद्युतगृहको निर्माण गरी नवनिर्मित मुहानबाट पानी सञ्चालन गरिने, कैलालीको अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरि सञ्चालनमा ल्याउने, हरैयामा विशेष आर्थिक क्षेत्रको निर्माणको कार्य प्रारम्भ गरिने योजना पनि पहिलेकै कार्यक्रमले निरन्तरता पाएका छन्। 

बैतडी र बझाङमा रहेको फस्फोराइटको खानीबाट फस्फोरस मल उत्पादनको सम्भाव्यता अध्ययन गरिने, कैलालीको लम्की, कर्णाली कोरिडरको राकममा ट्रमा सेन्टर स्थापना गरिने तथा सुदूरपश्चिमका सात देवीहरु डिलासैनी, निङ्लासैनाी, मेलौली, शैलेश्वरी, बडिमालिका, उग्रतारा र त्रिपुरासुन्दरीलाई पर्यटकीय स्थलको रुपमा प्रवर्धन गर्ने भन्दै सरकारले नयाँ कार्यक्रम ल्याउन खोजेको छ। 

सुदूरपश्चिम क्षेत्रका लागि बजेटमा समेटिएका कार्यक्रम
–सेती राजमार्गको टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक खण्डको स्तरोन्नति
–कैलालीको अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरि सञ्चालनमा ल्याउने 
–सुदूरपश्चिमको हरैयामा विशेष आर्थिक क्षेत्रको निर्माणको कार्य प्रारम्भ गरिने
–दोधारा चाँदनी जोड्ने चार लेनको मोटरेबल पुलको निर्माण कार्य सम्पन्न गरिने
–जलाशययुक्त ७५० मेगावाटको पश्चिम सेती र ३०९ मेगावाटको सेती ६ जलविद्युत आयोजनाको प्राविधिक तयारी गरी निर्माण कार्य अघि बढाइने
–पञ्चेश्वर बहुउदेश्यीय जलविद्युत आयोजनाको निर्माण कार्यअघि बढाउन नेपालका तर्फबाट गरिने काम अघि बढाइने
–२१० मेगावाटको चैनपुर सेती आयोजना कार्यान्वयनमा लागिने
–बैतडी र बझाङमा रहेको फस्फोराइटको खानीबाट फस्फोरस मल उत्पादनको सम्भाव्यता अध्ययन गरिने
–कञ्चनपुरको चाँदनी दोधारामा सुख्खा बन्दरगाह निर्माणको सम्भावता अध्ययन गरिने
–कैलालीको लम्की, कर्णाली कोरिडरको राकममा ट्रमा सेन्टर स्थापना गरिने
–मोहना–अत्तरिया सडकको विस्तार तथा स्तरोन्नती कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरि अघि बढाउने
–राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको प्रथम चरणको १४ हजार ३ सय हेक्टर फिडर नहर र विद्युत गृहको निर्माण गरी नवनिर्मित मुहानबाट पानी सञ्चालन गरिने
–सुदूरपश्चिमका पहाडी जिल्लामा सय जनाभन्दा बढी नागरिकलाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने गरी विशेष उद्योग स्थापना गरेमा सो उद्योगले कारोबार सुरु गरेको मितिले १५ वर्षसम्म आयकर पूर्ण रुपमा छुट दिने।
–धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण गरिने 
–सेती र महाकाली अस्पतालबीचको सहकार्यमा सम्बन्धित विश्वविद्यालय अन्तर्गत रहनेगरी गेटा मेडिकल कलेज सञ्चालनको व्यवस्था मिलाइने
–कैलालीको अत्तरियामा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरि सञ्चालनमा ल्याउने 
–सुदूरपश्चिमका सात देवीहरु डिलासैनी, निङ्लासैनाी, मेलौली, शैलेश्वरी, बडिमालिका, उग्रतारा, त्रिपुरासुन्दरीलाई पर्यटकीय स्थलको रुपमा प्रवर्धन गर्ने
–सुदूरपश्चिमको हरैयामा विशेष आर्थिक क्षेत्रको निर्माणको कार्य प्रारम्भ गरिने
–धनगढी विमानस्थललाई स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .