ad ad

समाज


गेटा मेडिकल कलेज : संरचना बनेको वर्षदिन भइसक्यो, सञ्चालनको छैन टुंगो

गेटा मेडिकल कलेज : संरचना बनेको वर्षदिन भइसक्यो, सञ्चालनको छैन टुंगो

कैलालीको निर्माणाधीन गेटा मेडिकल कलेज (तस्बिर: यज्ञराज जोशी)


यज्ञराज जोशी
जेठ १३, २०७९ शुक्रबार ७:३२, काठमाडौँ

धनगढी चौराहाबाट १० किलोमिटर उत्तरतर्फ ६ लेनको बाटोमा अघि बढ्दा पूर्वतर्फ सेतो र खैरो रङ पोतिएका आकर्षक भवन देखिन्छन्। धनगढी बजार छोडेर अघि बढिसकेपछि फाट्टफुट्ट घरहरुका बीच ती भवन देख्दा नवागन्तुक जो कोही पनि आकर्षित हुन्छन्। ती भवन प्रस्तावित गेटा मेडिकल कलेजका हुन्। जसको निर्माण कार्य एक वर्षअघि नै सम्पन्न भएको थियो। तर, मेडिकल कलेज सञ्चालनको भने कुनै सुरसार छैन। 

सरकारले मंगलबार मात्रै सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्र डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेको छ। तर सञ्चालनका लागि आधारभूत संरचना तयारी अवस्थामा रहेको गेटा मेडिकल कलेजबारे नीति तथा कार्यक्रममा एक शब्द पनि नपरेपछि यस क्षेत्रका बासिन्दा आक्रोशित बनेका छन्। अत्तरियामा बुधबार नै विरोध र्याली निस्किसकेको छ। धनगढीमा संघर्ष समिति बनेको छ।

‘६ सय शय्याको अस्पताल भवन, प्रशासनिक र कलेज भवन बनेको एकवर्ष हुन लागिसक्यो,’ राजनीतिक खिचातानीले गर्दा आफ्नो नाम उल्लेख गर्न नचाहेका निर्माण दलका एक इन्जिनियरले नेपालखबरसँग भने,  ‘बाटो, खानेपानीबाहेक सम्पूर्ण पूर्वाधार तयार भइसके। समग्रमा ८० प्रतिशत काम भइसकेको छ। अस्पताल सञ्चालनका लागि आवश्यक आधारभूत संरचना शतप्रतिशत नै बनिसकेको छ।’ 

२०७१ साल असारमा मेडिकल कलेजको प्रशासनिक भवनको ठेक्का लागेको थियो। तर त्यसक्षेत्रमा पर्ने रुख कटान लगायत विवादले तत्काल काम अघि बढ्न सकेन। फलस्वरुप २०७३ असारदेखि निर्माणकार्यले गति लिएको हो। यही असारमा भवनहरु निर्माणसम्पन्न भएको एक वर्ष पुग्ने ती इन्जिनियरले बताए। 

‘अस्पताल सुरुमै ६ सय बेड सञ्चालन गर्न नसके पनि एक सय बेडसम्म सञ्चालन गर्न पार्टपुर्जाहरु हाल्ने हो भने एकदमै तयारी अवस्थामा छ,’ उनले भने, ‘अब स्वास्थ्य र सञ्चालनको टिम आउनुपर्यो।’

नागरिक समाजका अगुवा प्रमोद पाठकले डडेल्धुरामा मेडिकल कलेज बन्नु धेरै राम्रो भए पनि गेटामा लगानी गरेर बनिसकेको संरचनालाई बेकार राख्नु अनुचित हुने बताए।

‘हामी इलाज गर्न लखनउ धाउनुपर्ने। हाम्रो पैसाले बनेको त्यत्रो मेडिकल कलेज वर्ष दिनदेखि खाली रहने? यो अनुचित र गलत काम हो। सरकारले यस्तो गर्न पाउँदैन,’ उनले भने, ‘गरिब मान्छेबाट कर उठाएर संरचना बनाएर त्यतिकै खेर फाल्दिनु भनेको ठूलो अपराध हो।’ 

सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिडेन्टेन्ट डा. गणेशबहादुर सिंह यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने शीर्ष नेताहरुको प्रतिबद्धता र रुचि नभएकै कारण तयार भइसकेको संरचनामा मेडिकल कलेज सञ्चालन हुन नसकेको बताउँछन्। 

‘यस क्षेत्रका ठूला राजनीतिक नेताको सक्रियता नभएर हो। उहाँहरुको रुचि देखिएको छैन,’ सिंहले नेपालखबरसँग भने, ‘चारपाँच जना लाग्नुभयो भने सुरु हुन समय नै लाग्दैन। सबै तयार छ। कमिटमेन्ट र रुचि मात्रै चाहिएको हो। उहाँहरु यसप्रति त्यति उत्साहित हुनुहुन्न। उहाँहरु एक ठाउँमा बस्नै चाहनुहुन्न। यहाँको विकासको जस कसले लिने र कसको पालामा भयो भन्ने हेरेर काम गर्नुहुन्छ।’

सिंहले मेडिकल कलेज खोल्न कम्तीमा ३ वर्षअगाडि अस्पताल सञ्चालन गरेको हुनुपर्ने प्रावधानका कारण एमबीबीएसको पढाइ हुन अस्पताल खुलेको तीनवर्ष कुर्नुपर्ने बताए। तर अस्पताल खोल्नलाई साधन, उपकरण खरिदका लागि बजेट व्यवस्थापन गर्दै र जनशक्ति भए तुरुन्त अस्पताल सुरु गर्न सकिने उनले बताए।

आरजुलाई पर्नसक्छ अप्ठेरो
प्रधानमन्त्री देउवाकी पत्नी तथा नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले कैलाली क्षेत्र नम्बर ५ मा चुनाव लड्ने जनाइसकेकी छन्। यस क्षेत्रको धेरै मतदाता धनगढी नगर क्षेत्रमा छन्।  धनगढीसँगै जोडिएको छ, प्रस्तावित गेटा मेडिकल कलेज। ठ्याक्कै कलेज अवस्थित स्थान भने एमाले सचिव लेखराज भट्टको क्षेत्रमा पर्छ। तर मेडिकल कलेज बन्दा लाभान्वित हुने ठूलो जनसंख्या भएकाले कलेजसँग जोडिएको मुद्दामा धनगढीबासीको विशेष रुचि र चासो हुने गर्छ। 

धनगढीमा बुधबार नागरिक समाज, सबै दल, व्यवसायी, पत्रकार महासंघ, गैरसरकारी निकायका प्रतिनिधिहरुले एक भेलाको आयोजना गर्दै सरकारले नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेज सञ्चालनको विषय उल्लेख नगरेकोमा विरोध गर्ने जनाइसकेका छन। भेलाले एक संघर्ष समिति गठन गर्दै प्रस्तावित गेटा मेडिकल कलेजका लागि सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ।

 

गठबन्धनका बाबजुद धनगढी उपमहानगरपालिकामा नराम्रो हार चाखेको कांग्रेस र चुनाव लड्ने तयारी गरिरहेकी आरजु राणाका लागि धनगढीबासीको यो आक्रोश प्रत्युत्पादक हुनेसक्ने यहाँका नागरिकको बुझाइ छ। साथै विपक्षीहरुले यसलाई चुनावी मुद्दा पनि बनाउने देखिएको छ।

‘आरजु भाउजुले गत चुनावमा सेती अञ्चल अस्पताललाई ३ सय शय्याको बनाउँछु भनेर घोषणा गर्नुभएको थियो। तर त्यो अहिलेसम्म हुन सकेको छैन,’ कांग्रेसकै एक नेताले भने, ‘चुनावका अघि आफ्नै सरकार भएका बेला यस क्षेत्रको गेमचेन्जर परियोजनाका रुपमा लिइएको गेटा मेडिकल कलेजलाई बेवास्ता गर्नुले उहाँलाई पक्कै असर पार्छ। यो आफ्नै खुट्टामा बञ्चरो हान्ने काम भएको छ।’ 

नागरिक समाजका अगुवा पाठकले गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउन सक्नेले त्यसको जस पाउने र बेवास्ता गर्नेले अपजस पाउने निश्चित भएको बताए। 

‘गेटा कलेज भनेको सुदूरपश्चिमबासीको कलेज हो। त्यहाँ भएन भने त्यसको असर आरजुलाई पर्छ नै,’ पाठकले भने, ‘बन्यो, राम्रो चल्यो भने उहाँलाई त्यसको सकारात्मक प्रभाव पर्छ। बनेन त्यत्तिकै सडाउन खोज्नुभयो भने नकारात्मक असर पनि उहाँले बेहार्नुपर्छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .