ad ad

कारोबार


अटो कर नीति : व्यापारमा कडाइ, उद्योग स्थापना गर्नेलाई भारी छुट

अटो कर नीति : व्यापारमा कडाइ, उद्योग स्थापना गर्नेलाई भारी छुट

प्रतिनिधिमूलक तस्बिर


वसन्त अर्याल
जेठ १६, २०७९ सोमबार १५:२, काठमाडौँ

सरकारले व्यापारमा कडाइ गरे पनि उद्योग स्थापना गर्नेलाई छुट बढाएको छ।

नेपालमा चारपांग्रे गाडीको उत्पादन वा एसेम्बल गर्नेलाई अन्तःशुल्क, भन्सार र आयकरमै छुट प्रदान गरेको हो। 

सरकारले चारपांग्रे विद्युतीय सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने नयाँ उद्योग स्थापना गरेमा सो उद्योगले कारोबार सुरु गरेको मितिले ६ वर्षसम्म ४० प्रतिशत आयकर छुट दिने व्यवस्था गरेको छ। 

नेपालमा चारपाङ्ग्रे सवारीसाधन उत्पादन वा एसेम्वल गर्ने उद्योग स्थापना गरेमा सवारी साधन उत्पादनका लागि चाहिने पाटपूर्जा वा कच्चा पदार्थको आयातमा उद्योग विभागको सिफारिशमा ५० प्रतिशत अन्तःशुल्क छुटलाई निरन्तरता दिएको छ। 

सरकारले अहिले भन्सार महसुलमा समेत २५ प्रतिशत छुट दिने नयाँ व्यवस्था गरेको छ।  

यसैगरी विद्युतीय रिक्सा र विद्युतीय मोटरसाइकल वा स्कुटर उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ वा पाटपुर्जामा १ प्रतिशतमात्र भन्सार महसुल लाग्ने व्यवस्था गरेको छ। 

सरकारले चारपांग्रे गाडी खरिदबिक्रीमै कडाइ गरेको छ। सरकारले गाडीको कर बढाएको मात्रै नभई चारपांग्रे गाडी खरिद गर्न अनिवार्य रुपमा स्थायी लेखा नम्बर अर्थात् प्यानकार्ड पेश गर्नुपर्ने व्यवस्था गरेको छ। 

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय गाडीमा कर बढाउँदा सर्वत्र विरोध भएको थियो। नेपाली कांग्रेसका सांसदले ठूलो विरोध गरेका थिए। तर अहिले कांग्रेस नेतृत्वकै सरकारले विद्युतीय गाडीमा ६० प्रतिशत अन्तःशुल्क र ६० प्रतिशत नै भन्सार बढाउने निर्णय गरेको छ। 

अटो व्यवसायीको छाटा संगठन अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले अटो कर नीतिबारे मिश्रित प्रतिक्रिया दिए। उनले सरकारले गाडी उत्पादन र एसेम्बल उद्योगलाई प्रवर्द्धन गरे पनि गाडी आयात गरी व्यापारमा कडाइ गरेको बताए। 

‘हामीले एसेम्बल उद्योगलाई थप सहुलियत दिनुपर्छ भन्दै माग गरेका थियौँ। त्यो पूरा भएको छ,’ थापाले भने, ‘तर तत्काल नेपालमा गाडी उत्पादन वा एसेम्बल गर्नसक्ने अवस्था नहुँदा व्यवसायीले फाइदा लिनसक्ने अवस्था छैन।’

सरकारले सस्ता सवारीसाधनमा कर बढाएको छैन। सेग्मेन्ट छुट्टाएर निश्चित सिसी अथवा पावर माथीका गाडीमा कर बढाएको छ। नडा अध्यक्ष थापाले विद्युतीय गाडी र मोटरसाइलमा चाहिनेभन्दा बढी कर बढाएको बताए। 

‘गाडीलाई विलासिताको वस्तुमा राखिनुहुँदैन भन्दै आएका थियौँ। कम मूल्यका गाडीमा कर बढाइएको छैन’, उनले भने, ‘मध्यम खालका गाडीमा कर बढाइएको छ।’

उनले १५ सय सीसीमाथिका गाडीलाई विलासितामा राख्न सकिए पनि विद्युतीय गाडीमा अस्वाभाविक कर बढाएको बताए। उनले यसअघिको सरकारले पनि विद्युतीय गाडीमा बढी कर लगाउँदा विरोध भएको उल्लेख गरे।  

उनले अटो व्यवसायीका केही माग सम्बोधन भए पनि व्यापार ठप्प भएको समयमा कर बढाउँदा व्यवसायीसँगै उपभोक्ता मारमा पर्ने बताए। 

विद्युतीय गाडीमा अन्तःशुल्क र भन्सार दुवै बढ्यो
सरकारले १०० किलोवाटमाथिका विद्युतीय गाडीमा व्यापक कर वृद्धि गरेको छ। सरकारले अन्तःशुल्क र भन्सार दुवैमा कर बढाएको हो। 

सरकारले १०० किलोवाटदेखि २०० किलोवाटसम्मका विद्युतीय कार, जिप र भ्यानमा ३० प्रतिशत अन्तःशुल्क बढाएको छ। 

२०० देखि ३०० किलोवाटभन्दा बढीकोमा ४५ प्रतिशत रहेको छ। मोटरको पिकपावर ३०० किलोवाटभन्दा बढीको कार, जिप र भ्यानमा ६० प्रतिशत अन्तःशुल्क रहेको छ। यसअघि अन्तःशुल्कमा पूर्ण छुट दिएको थियो। 

त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले भन्सार महशुलमा पनि भारी वृद्धि गरेका छन्। १०० किलोवाटदेखि २०० किलोवाटसम्मका ३० प्रतिशत, २०० देखि ३०० किलोवाटसम्मकामा ३० प्रतिशत र ३०० किलोवाट बढीकोमा ६० प्रतिशतले कर वृद्धि गरेको छ।  

हाल विद्युतीय सवारीसाधनमा भने १०० किलोवाटसम्मका १० प्रतिशत, २०० किलोवाटसम्मका १५, ३०० किलोवाटसम्मका ३० र ३०० किलोवाट माथिका गाडीमा ४० प्रतिशत भन्सार लगाउँदै आएको थियो।

१५ सय सीसीमाथिका डिजेल पेट्रोल गाडीमा बढ्यो 
सरकारले एक हजार ५०० सीसीमाथिका गाडीमा अन्तःशुल्क बढाएको छ। हजार सीसी कमका गाडीमा ६० प्रतिशत, १५ सय सीसीका गाडीमा ६५ प्रतिशत अन्तशुल्क यथावत रहेको छ। १५ सयदेखि २ हजार सीसीसम्मका ७० प्रतिशत रहेकोमा ७५ प्रतिशत पुर्याएको छ। 

२ हजार सीसीदेखि २५ सय सीसीसम्मका गाडीमा ८० प्रतिशत रहेकोमा ८५ प्रतिशत पुर्याएको छ। 

२५ सयदेखि ३००० सीसीम्मका ९० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्थामा अब ९५ प्रतिशत लाग्नेछ। ३ हजार सीसीमाथिका गाडीमा १०० प्रतिशत अन्तःशुल्क अब १०५ प्रतिशत पुगेको छ। 

डिजेल इन्जिनका १५ सय सीसीसम्मका ६० प्रतिशत यथावत रहेको छ। १५ सयदेखि २ हजार सीसीसम्मका ७० रहेकोमा ७५ प्रतिशत, २ हजारदेखि २५ सय सीसीसम्मका ८५ प्रतिशतबाट ९० प्रतिशत रहेका छन्।

२५ सय सीसीमाथिका गाडीमा १०० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था रहेकोमा अब १०५ प्रतिशत लाग्ने भएको छ। भन्सार महशुल सबै गाडीमा ८० प्रतिशत लाग्दै आएको छ। उक्त व्यवस्था परिवर्तन गरेको छैन।

२०० सीसी माथिका सबै मोटरसाइलकको मूल्य बढ्ने 
मोटरसाइकलमा २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महशुल लगाउने भएको छ। २५० देखि ५०० सीसीसम्मकोमा ७० प्रतिशत र ५०० देखि माथिका मोटर साइकलमा ८० प्रतिशत भन्सार बढेको छ। 

हाल सबै दुईपांग्रेमा ३० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था रहेको थियो। अब २०० सीसीभन्दा कम सीसीका मोटरसाइकल तथा स्कुटरमा ३० प्रतिशत भन्सार महशुल लाग्ने भएको छ। 

२०० सीसी माथिका मोटरसाइकलमा अन्तशुल्क पनि बढाएको छ। २०० सीसी देखी २५० सीसी नाघेको मोटरसाइकलमा ८० प्रतिशतले बढेको छ। हाल  २०० देखि २५० सीसी ननाघेको ६० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको थियो। २५० देअी ५०० सीसीसम्मका ९० प्रतिशत र ५०० सीसी देखी माथिकामा १०० प्रतिशत अन्तशुल्क लाग्ने गरेको छ। 

अहिले २५० देखि ५०० सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ। ५०० देखि ८०० सीसीसम्मका मोटरसाइकलमा ८० प्रतिशत र ८०० सीसीमाथिका गाडीमा १०० प्रतिशत अन्तःशुल्क लाग्ने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .