ad ad

कारोबार


भन्सारबाट अस्वाभाविक ड्रोन आयात, नेपाल आएर भारत निकासी भएको आशंका

भन्सारबाट अस्वाभाविक ड्रोन आयात, नेपाल आएर भारत निकासी भएको आशंका

दीपक भट्ट
जेठ ८, २०७९ आइतबार ५:२८, काठमाडौँ

नेपालमा विलासी वस्तुको आयातमा कडाइ भइरहँदा ड्रोन भने नेपाल आयात भएर विदेश निर्यातसमेत हुन थालेको देखिएको छ। यही वैशाख महिनादेखि विराटनगर भन्सारबाट ड्रोनको अस्वभाविक आयात भएर भारत निर्यात हुन थालेको खुलेको हो।

चालू आर्थिक वर्षमा वस्तु आयात ह्वात्तै बढेपछि सरकार दबाबमा छ। यो आर्थिक वर्षको १० महिनाको तथ्याङ्कअनुसार १४ खर्ब ३२ अर्बको व्यापार घाटामा नेपाल छ।

त्यसैलाई मध्यनजर गर्दै सरकारले विलासी तथा अत्यावश्यक नरहेका वस्तुहरुको प्रतीतपत्रमा नगद मार्जिन राखेको थियो। चार महिना अघिदेखि नै आयातमा कडाइ छ। फागुनदेखि सुरु भएको नगद मार्जिनको व्यवस्थामा तीन सय वटा वस्तुहरुमा नगद मार्जिनको व्यवस्था सरकारले गरिसकेको छ।

त्यसरी नगद मार्जिन तोकिएको मुख्य वस्तुहरुमा प्लास्टिक, माछा, सुपारी, केराउ, केरा, छोकडा, सबै प्रकारका घडी, सजावटका सामग्री, फर्निचर (म्याट्रेस), साबुन, स्याम्पु, छाला, मसलाजन्य वस्तु, दुग्ध उत्पादन, सबै प्रकारका फूल, जनावरका दाना, सुर्ती, काठ, फर्निचर, चकलेट, चुइंगम, तास, फुटवेयर, प्लाइउड, चाँदी, रक्सी लगायत छन्। यी वस्तु आयात गर्न आयातकर्ताले सुरुमै बैंकमा पैसा जम्मा गर्नुपर्ने हुन्छ।

त्यस्तै नेपाल सरकारले वैशाख १३ गते निकासी पैठारी नियन्त्रण ऐन २०१३ को दफा ३ को उपदफा १ बमोजिम चालू आर्थिक वर्षका लागि कुरकुरे, कुरमुरे, लेज र सोही प्रकृतिका  उत्पादन, चुरोट तथा सुर्तिजन्य वस्तु (कच्चा पदार्थ बाहेक) आयातमा प्रतिबन्ध लगाएको छ।

त्यस्तै औद्योगिक प्रयोजन बाहेकका हिरा, ६ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, टेलिभिजन ३२ इन्च भन्दामाथिका, जीप, कार र भ्यानहरु, मोटरसाइलक २५० सीसीभन्दा माथिका, सबै प्रकारका खेलौनाहरु र तासमा पनि सरकारले प्रतिबन्ध लगाएको छ।   

यसरी सरकारले आयात निणन्त्रण गरिरहे पनि पछिल्लो समय ड्रोन आयात भने बढ्न थालेको देखिएको हो।  अर्थमन्त्रालयका एक अधिकारीका अनुसार वैशाख पहिलो हप्ता विराटनगर भन्सारबाट ३ वटा मालबाहक ट्रकमा ड्रोन आयात भएको थियो।

‘त्यसलाई शंकास्पद मानेर सरकारले करिब १५ दिन भन्सार विन्दुमै रोक्यो पनि। पछि त्यसलाई छुटाइएको छ,’ उनले भने।

यसरी आयात भएको ड्रोन नेपाल आएर भारत निकासी हुने गरेको उनको दाबी छ।

गत फ्रेब्रुअरीमा भारतले विदेशबाट ड्रोन आयात गर्न प्रतिबन्ध लगाएको छ। आयात गर्नको लागि सरकारको अनुमति दिनुपर्ने व्यवस्था राखिदिएको छ। भारतमा प्रतिबन्ध र नेपाल–भारत खुला सिमाना रहेको कारणले नेपाल आयात भई भारत निकासी हुने गरेको आशंका अधिकारीहरुले गरेका छन्।

वैशाख महिनामा कति ड्रोन आयात भयो र कति निर्यात भयो, त्यसको लेखाजोखा गर्ने काम सरकारले गरिरहेको छ। त्यसको तथ्यांक आउन केही समय लाग्ने भन्सार विभागले बताएको छ।

विराटनगर भन्सार कार्यालयका अनुसार चैत मसान्तसम्ममा ६ सय ८८ वटा मात्रै ड्रोन क्यामेरा आयात भएको छ। यो विराटनगर भन्सार कार्यालयको मात्रै तथ्यांक हो। ६ सय ८८ वटा ड्रोनको मूल्य जम्मा २५ लाख १३ हजार परेको भन्सारमा उल्लेख गरिएको छ। जसको भन्सार शुल्कबापत ४ लाख ६९ हजार रुपैयाँ सरकारले राजश्व उठाएको छ।   

तर वैशाख पहिलो हप्तामा त्यसरी ड्रोन आयात भएकोबारे आफूलाई जानकारी नभएको विराटनगर भन्सार कार्यालयका प्रमुख ताराप्रसाद सापकोटा बताउँछन्।

‘केही समय पहिला चाहिँ आयात भएको सुनेको छु। कति परिमाणमा आएको भन्ने खासै जानाकारी भने राखेको छैन,’ उनले भने।

भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले पनि सो अस्वाभाविक आयातबारे थाहा नभएको बताए। 

उनले भने, ‘वैशाख महिनाको आयातको विवरण अब केही दिनमा सार्वजनिक गरिन्छ, त्यसबाट थाहा हुन्छ।’

 नेपालमा ड्रोन आयातमा भन्दा सञ्चालनमा कडाइ
नेपालमा ड्रोन आयातमा नभई सञ्चालनमा कडाइ गरिएको छ।

ड्रोन सञ्चालनको लागि सरकारले कार्यविधि नै तयार गरेको छ। २०७५ मा सरकारले सो कार्यविधि ल्याएको थियो।

जसअनुसार नेपालमा ड्रोन दर्ता भएर मात्रै चलाउन पाइन्छ। त्यस्तै, ड्रोन उडाउने व्यक्तिको उमेर १८ वर्ष पुगेको हुनुपर्ने, आधारभूत ज्ञान हुनपर्ने, पुरातात्विक, धार्मिक लगायतका संवेदनशील क्षेत्रको बारेमा जानकारी हुनपर्नेछ। 

त्यस्तै, सूर्योदय भएपछि सूर्याअस्त नहुन्जेलसम्म मात्रै ड्रोन उडाउन पाइने व्यवस्था छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .