कारोबार


नेपालमा पहिलोचोटि डिजिटल ठेगाना प्रणालीको शुभारम्भ

नेपालमा पहिलोचोटि डिजिटल ठेगाना प्रणालीको शुभारम्भ

नेपालखबर
असार ८, २०७६ आइतबार ११:१०,

 ठेगाना सर्भिसेज ‘ठेगाना’ मोबाइल एप सार्वजनिक भएकाे छ। नेपाली नयाँ वर्षसँगै ‘लन्च’ गरिएको आइओएस र एन्ड्रोइड दुबै अपरेटिङ सिस्टममा चलाउन सकिने ‘ठेगाना एप’ निःशुल्क डाउनलोड गर्न सकिने कम्पनीले जनाएकाे छ। हाललाई सो एप एन्ड्रोइड अपरेटिङ सिस्टममा चलाउन सकिन्छ ।

ठेगाना एप ‘रि–इन्जिनियरिङ’ गरिएको यस्तो ठेगाना प्रणाली हो जसमा नेपालको सतहलाई ८५ करोड १४ १४ वर्गमा विभाजित गरिएको हुन्छ र हरेक वर्ग पहिचान गर्न विशिष्ट कोड दिइएको हुन्छ। यी कोडहरुले सबैका निम्ति नेपालभरि ठेगाना उपलब्ध गराउँदछ, जसमार्फत डेलिभरी सेवा प्राप्त गर्न, आपत्कालीन सुविधा लिन, बैंक खातामा ठेगाना दर्ता गर्न, पैदल वा सवारीसाधनबाट एक ठाउँबाट अर्को स्थानमा पुग्न सहज डिजिटल सुविधा प्रदान गर्दछ।

ठेगाना कोड हुलाकी सेवाको लागि मात्र उपर्युक्त नभएर वित्तीय संस्थाहरुलाई हालको केवाईसी नियम पालना गर्न परेको कठिनाइहरुको लागि पनि लाभदायक हुन सक्दछ। आफ्ना दैनिक कार्य सम्पादन गर्नुका साथै पेशा र व्यवसाय सहज रुपमा फत्ते गर्न सहयोग पुर्याउने विद्युतीय प्रणाली ठेगानामार्फत नेपालको कुनै पनि स्थानको ठेगाना द्रुतगतिमा सेयर गर्न सकिन्छ। प्राकृतिक प्रकोपको बेला सजिलो र सरल माध्यमबाट राहत सेवा पुर्याउन पनि ‘ठेगाना’ को उपयोग गर्न सकिन्छ। इन्टरनेटविना अफलाइन पनि काम गर्ने यो एपले हरेक मोड–मोडको निर्देशन दिंदै यात्रुलाई बाटो देखाएर यात्रालाई सहज बनाइदिने कम्पनीको दाबी छ।

ठेगानाको कोडमा ९ वटा अक्षर या नम्बरहरु दिइएका हुन्छन् । पहिलो ३ नम्बर या अक्षरले सम्बन्धित जिल्ला जनाउँदछ भने बाँकी ६ वटा नम्बर या अक्षरहरुले तोकिएको स्थान जनाउँदछ । उदाहरणको लागि, गोश्वारा हुलाक सुन्धारा, काठमाण्डौको ठेगाना बुझाउन ‘ठेगाना एप’ ले केटीएम–पी८२७५६ देखाउँदछ । यसमा केटीएमले काठमाण्डौ जिल्ला र बाँकीले गोश्वारा हुलाकको बिद्युतीय ठेगाना भन्ने जनाउँदछ । त्यसैगरि लुम्बिनीमा रहेको अशोका स्तम्भको विद्युतीय ठेगाना आरयूपी–हेल्लो देखाउँदछ, जसमा रुप (आरयूपी)ले रुपन्देही जिल्ला र बाँकी अंक र अक्षरले अशोका स्तम्भको बिद्युतीय ठेगाना भन्ने जनाउँदछ ।

विज्ञप्तिमा भनिएको छ, ‘ठेगाना एपमा दर्ता गरिएपछि पछिल्ला ६ वटा नम्बर आफ्नो रुचि बमोजिम पनि राख्न सकिन्छ । जस्तै, ‘ठेगाना सेवा’ को ठेगानाको लागि हामीले केटीएम हेल्लो शब्द छनौट गरेका छौं । तपाईंलाई आफ्नो ठेगाना स्मरण गर्न अप्ठ्यारो परेकोछ र अर्काको सम्झन पनि सहज भइरहेको छैन भने ‘ठेगाना एप’ निर्बिकल्प सहयोगीको रुपमा तपाईको सामु हाजिर छ । यो डिजिटल एप मार्फत आफ्नो ठेगाना सम्झन र बितरण गर्न मोबाईल नम्बर याद गरे जत्तिकै सहज हुनेछ ।’

अहिले हामीले चलाईरहेको ठेगाना प्रणाली निकै अब्यवस्थित र कमजोर रहेको तथ्य सर्वविदितै छ । त्यसैले ठेगाना सेवालाई सक्दो सहज र भरपर्दो बनाउन विभिन्न माध्यमहरुबाट तथ्याङ्क बटुलेर त्यसलाई ध्यानपूर्वक जाँचि ‘डिजिटलाईज्ड’ गरेकाछौं । परम्परागत ठेगानालाई ‘डिजिटलाईज्ड’ गरि उपभोक्ताको कामकाज सहज र लचकता महसुस गराउने हाम्रो प्रयास हो । हामीले यो सेवालाई एकसाथ देशब्यापी शुभारम्भ गर्न गैरहेकाछौं ताकि देशका कुना कन्दराका जनताले ‘ठेगाना’ को भरपुर फाईदा उठाउन सकुन । ठेगाना एपको डिजाईनले ‘ठेगाना सेवा’ का अन्य सेवाहरुसंग सहज र संयुक्त रुपमा काम गर्न सक्छ, जसले उपभोक्ताहरुलाई जहिले र जहाँबाट होस् उनीहरुको स्मार्टफोन संरचनामा आधारित आफ्ना चाहना र अपेक्षाहरु पुरा गर्न सजिलो हुन्छ ।

ठेगाना सेवाले केहि स्थानीय निकायसंग डिजिटल ठेगाना ब्यवस्थापन बारे सहकार्य गर्न प्रारम्भ गरिसकेकोछ । बौद्ध वडा नम्बर–६, काठमाण्डौसंग सहकार्य गरि ‘ठेगाना’ को ब्यवस्थापन र अभ्यास शुरु गरिसकिएकोछ । कुनै ब्यक्ति विशेष, ब्यवसाय र उचित सार्वजनिक संस्थाहरु माझ संचार र सम्पर्कको माध्यमको आधार नै उनीहरुको ठेगाना हो । ठेगानाको उचित ब्यवस्था नहुनुपनि नेपालको सामाजिक र आर्थिक बिकासको लागि एउटा ठुलो बाधा हो । ठेगाना एप नेपालमा यो अभाव पुर्ने एउटा ईमान्दार प्रयत्न हो ।

‘हामीले स्मार्ट सिटीको चर्चा गर्न थालेको धेरै भइसक्यो । मेरो बिचारमा स्मार्ट सिटीको जग नै स्मार्ट ठेगानाबाट शुरु हुनुपर्छ ।’ ठेगाना सेवाका प्रमुख कार्यकारी अधिकृत बिशाल के।सी। भन्छन्, ‘हामी ठेगाना एप मार्फत स्मार्ट सिटीको जग हाल्दै स्मार्ट नागरिक तयार पार्ने अभियानमा हेलिन पाउँदा सुखानुभूति गरेकाछौं ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad