‘सार्वजनिक खरिद नियमावली, २०७६’ को आठौं संशोधनका केही बुँदामा आपत्ति जनाउँदै आन्दोलनरत नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री निवास बालुवाटामा धर्ना दिएको छ। महासंघले सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडी साढे ९ बजेदेखि एक घण्टा धर्ना दिएको हो।
हातमा कालोपट्टी बाधेर धर्नामा बसेका निर्माण व्यवसायीहरुले विकास आयोजनाहरुको म्याद थप, बैंक क्रेडिट लाइन लगायतका २५ बुँदे माग सम्बोधन गर्नका लागि सरकारलाई दबाब दिन धर्नामा समेत बस्नुपरेको बताएका छन्।
महासंघका अध्यक्ष रवि सिंहले सो नियमावली संशोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको प्रतिबद्धता ४ महिना पूरा हुँदा पनि कार्यान्वयनमा नआएकाले आन्दोलनमा जानुपरेको बताए। उनले आफूहरुको सो माग पूरा नभए विकास, निर्माणका कामहरु ठप्प हुने चेतावनी पनि दिए।
महासंघले नियमावली संशोधन नभए दोस्रो चरणअन्तर्गत माइतीघरमण्डलामा कालोझण्डासहित प्रदर्शन गर्ने, आयोजनाको इजाजतपत्र सरकारलाई बुझाउने, ठूला इक्विपमेन्टलाई सडकमा प्रदर्शन गर्ने, टेण्डर बहिष्कार गर्ने, विकास निर्माणका कार्यहरु पूर्णरुपमा ठप्प पार्नेलगायतका कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया