अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकिङ सेवा नपुगेका स्थानीय तहमा पनि तत्काल बैंकको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई ताकेता गरेका छन्। अर्थमन्त्री खतिवडाले १९ वटा स्थानीय तहमा अझै बैंक स्थापना हुन नसकेको उल्लेख गर्दै ती ठाउँहरुमा पनि तत्काल बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकलाई भनेका हुन्।
मुलुक संघीयतामा गएसँगै स्थानीय तहमा अधिक आर्थिक क्रियाकलाप हुन थालेकाले सबै स्थानीय तहमा बैंकिङ सेवा स्थापना गर्न ढिलाइ गर्न नहुने अर्थमन्त्री खतिवडाको भनाइ छ। कामना सेवा विकास बैंकले काठमाडौंको ज्ञानेश्वरमा स्थापना गरेको केन्द्रीय कार्यालय भवनको बुधबार उद्घाटन गर्दै उनले मुलुकमा संघीयता कार्यान्वयनको क्रममा स्थानीय तहहरुमा द्रुतगतिका साथ बैंकहरु स्थापना भएकोमा आफू सन्तुष्ट भएको पनि बताए।
अर्थमन्त्री खतिवडाले मुलुकमा व्यवसाय संचालनका लागि उपयुक्त वातावरण बनेको पनि दोहो¥याए। उनले व्यावसायिक वातावरण नबनेको भए कसरी बैंकमा ऋण लिनेहरुको घुइँचो हुन्थ्यो ? भनी प्रश्न पनि गरे।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकको निर्देशनहरुको पूर्ण पालना गर्न सबै बैंक तथा वित्तिय संस्थालाई कडा निर्देशन दिए। उनले इमानदार ढंगले काम नगर्ने बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुलाई पनि बैंकिङ कसुरअन्तर्गत कडा कारबाही गर्ने चेतावनी पनि दिए।
डेपुटी गभर्नर शिवाकोटीले बैंक तथा वित्तीय संस्थाहरुमा अनियमितता गर्नेलाई बैंकिङ कसुर ऐनअन्तर्गत कारबाही हुने पनि स्मरण गराए।

प्रतिक्रिया