ad ad

कारोबार


सहरबाट होर्डिङ बोर्डलाई विदा गर्दै डिजिटल डिस्प्ले

१ मिनेट सूचना प्रसारण गरेको ५ सयसम्म
सहरबाट होर्डिङ बोर्डलाई विदा गर्दै डिजिटल डिस्प्ले

त्रिपुरेश्वर चाेकैमा देखिने एलईडी डिस्प्ले। तस्बिर : विजय सिंह/नेपालखबर


वसन्त अर्याल
माघ ४, २०७८ मंगलबार १८:४३, काठमाडौँ

काठमाडौं उपत्यकासहितका सहरमा पुराना होर्डिङ बोर्डको साटो अब डिजिटल स्क्रिन जडान हुनथालेका छन्। 

मुख्य चोक तथा बढी भीडभाड हुने स्थानमा होर्डिङ, साइन, फ्लेक्स प्रिन्टको विकल्पमा नयाँ प्रविधिको प्रयोग बढ्दै गएको पाइएको हो। 

अहिले काठमाडौंको त्रिपुरेश्वर, दरबारमार्ग, कलंकी, थापाथली, नयाँ बानेश्वरमा ठूला एलईडी स्क्रिन राखिएको देख्न पाइन्छ। 

डिजिटल स्क्रिन चोकबाहेक राजनीतिक दलले आयोजना गर्ने सभा सम्मेलनमा समेत प्रयोग भइरहेका छन्।  

नेकपा एमालेको चितवन महाधिवेशन, नेपाली कांग्रेसको काठमाडौं महाधिवेशनमा समेत डिजिटल बोर्डको प्रयोग गरिएका थिए। 

अझ कम्पनीहरुले आफ्नो साइन बोर्ड समेत डिजिटल रुपमा राख्नथालेका छन्। कार्यालयभित्र डिजिटल अन्तर्क्रियाको लागि समेत एलईडी स्क्रिन प्रयोग भइरहेको व्यवसायीले बताएका छन्। 

एसटीआर एडभर्टिजमेन्टले काठमाडौंको त्रिपुरेश्वमा ३५ बाई ५० फिटको डिस्प्ले जडान गरेको छ। कम्पनीले बाहिरबाटै सामग्री आयात गरी यसको जडान गरेको जनाएको छ। 

हाल त्रिपुरेश्वरको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा मात्रै सञ्चालन गरेको कम्पनीले नक्सालमा पनि डिजिटल डिस्प्ले राख्ने तयारी गरिरहेको छ। 

‘हामीले चीनबाटै प्रविधि आयात गरी जडान गरेका हौँ’, एसटीआर एडभरटाइजिङका सञ्जीव भट्टराईले नेपालखबरसँग भने, ‘त्रिपुरेश्वरसँगै अब नक्सालमा नयाँ स्क्रिन राख्ने तयारीमा छौँ।’

१ हप्तापछि नै नक्सालमा काम सुरु गर्नलागेको भट्टराईले जानकारी दिए। 

करिब ७ वर्षदेखि एलईडी डिस्प्लेसम्बन्धी कारोबार गर्दै आएको हिमालय सलुसनअन्तर्गतको द अल्ट्रा एलईडी डिस्प्ले प्रालिले ग्राहकको मागअनुसार डिजिटल डिस्प्ले उपलब्ध गराउँदै आएको जनाएको छ। 

द अल्ट्रा एलईडी डिस्प्लेका निर्देशक प्रवेश ढुंगानाले चीनबाट प्रविधि आयात गरी नेपालमा बिक्रीवितरण गर्दै आएको बताए। 

कम्पनीले इन्डोर, आउट डोर, इन्टरएक्टिभ डिस्प्ले, क्लासरुम डिस्प्ले, स्ट्यान्डिङ किओस्क लगायतको सेवा उपलब्ध गराइरहेको जनाएको छ। 

डिस्प्ले ग्राहकको मागअनुसार सानो ठूलो एसेम्बल गर्न सकिन्छ। केही ठाउँमा आफैँ बोर्ड राखेको छ भने डिस्प्ले बिक्री गरिरहेको उल्लेख गरेको छ। 

‘हामीले करिब ७ वर्षदेखि एलईडी डिस्प्लेको काम गरिरहेका छौँ। हामीबाहेकका कम्पनी पनि अहिले यो व्यवसायमा आएका छन्’, ढुंगानाले भने। 

कम्पनीले हालसम्म ५ सयभन्दा बढी एलईडी स्क्रिन जडान गरिसकेको उल्लेख गर्दै एलईडी स्क्रिन जडानमा २ बढीको ग्यारेन्टी दिएको कम्पनीले दाबी गरेको छ। 

कम्पनीले थापाथली, पुल्चोक भाटभाटेनी, दरबारमार्ग, कमलपोखरी, चाबहिल, सुन्धारा, कालीमाटी, आइप्लेक्स मल, नेपाल टेलिकम, नारायणगढको सीजी ल्यान्डमार्कलगायतका ठाउँमा आफ्ना एलईडी स्क्रिन राखिसकेको जनाएको छ।  

अल्ट्रा डिस्प्लेले आउडोरमा पी८ र पी६ प्रविधि जडान गरेको छ। 

१ मिनेट सूचना प्रसारण गरेको ५ सयसम्म 
एलईडी स्क्रिनको पिक्सल पिचको आधारमा डिस्प्लेको मूल्य निर्धारण हुन्छ। त्रिपुरेश्वरमा जडान गरिएको एलईडी स्क्रिनमा १ मिनेट सूचना प्रसारण गरेको ५ सय रुपैयाँ लिने गरेको छ। 

‘कम्पनीले जुन हिसाबले कारोबार हुने सोचिरहेको थियो, त्योअनुसार छैन’, भट्टराईले भने, ‘नयाँ प्रविधि भएकाले विस्तारै बढ्दै जाने विश्वास लिएका छौँ।’

व्यवसायीहरुले अब होर्डिङ बोर्ड र फ्लेक्सको बजार एलईडी डिस्प्लेले लिने बताएका छन्। 

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो ५ महिनामा २ करोड १० लाख बढीको एलसीडी र एलईडी डिस्प्लेका सामग्री आयात भएका छन्। 

आर्थिक वर्ष २०७६÷०७७ मा ८ करोड १७ लाख रुपैयाँबराबरका एलसीडी र एलईडी प्यानल आयात भएका थिए। 

गत वर्ष कोभिड महामारीको कारण आयात घटेको थियो। गत वर्ष ४ करोड २३ लाखबराबरको मात्रै प्यानल डिस्प्ले आयात भएको विभागले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .