कारोबार


आन्तरिक पर्यटनका सय गन्तव्यमा पूर्वाधार विकास गरिँदै

आन्तरिक पर्यटनका सय गन्तव्यमा पूर्वाधार विकास गरिँदै

नेपालखबर
कात्तिक २५, २०७६ सोमबार १२:२३,

सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न नयाँ थपेका सय गन्तव्यमा पूर्वाधार विकासको काम सुरु गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गन्तव्यमा पूर्वाधार विकासको काम सुरु गरेको जनाएको छ।

तत्कालीन रवीन्द्र अधिकारी मन्त्री हुँदा ७७ वटै जिल्लामा पर्यटकीय गतिविधि बढाउनको लागि नयाँ गन्तव्यको पहिचान गरिएको थियो।

मन्त्रालयले हरेक नयाँ गन्तव्यको लागि प्रतिगन्तव्य ५० लाख बजेट दिने निर्णय गरेको थियो। यसमध्ये ५० प्रतिशत रकम खर्च भइसकेको मन्त्रालयले जनाएको छ। नयाँ गन्तव्यमध्ये २५ वटा पर्यटन विभागअन्तर्गत रहेका छन् भने ७५ वटा सम्बन्धित स्थानीय तहअन्तर्गत रहेका छन्। एउटै गन्तव्य कतिपय स्थानमा दुईभन्दा धेरै स्थानीय तहमा समेत परेका छन्। यस्ता गन्तव्यलाई मन्त्रालयले पर्यटन विभागअन्तर्गत राखेको छ।

मन्त्रालयले सयवटा नयाँ गन्तव्यसँगै १ सय ४४ वटा स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यमा पनि सूचीकृत गरेको छ। स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यमध्ये ९२ वटाको लागि बजेट छुट्याइएको छ। बजेट छुट्याउँदा ठूला भौगोलिक क्षेत्र, निकुञ्ज, क्षेत्र विकास र विकसित गन्तव्यबाहेकका लागि बजेट छुट्याएको मन्त्रालयले जनाएको छ।

नयाँ गन्तव्यमा पूर्वाधार विकासको लागि प्रदेश र स्थानीय तहले पनि सहयोग गर्नुपर्नेछ। नयाँ गन्तव्यमा सम्बन्धित स्थानीय तहले कम्तीमा १० प्रतिशत रकम खर्च गर्नुपर्नेछ। नयाँ पहिचान गरिएका गन्तव्यमा प्रदेश सरकारले खासै ध्यान नदिएको भन्दै मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत पूर्वाधार विकासको लागि सहयोग गर्न पत्र काटेको छ। पत्रमा स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यहरु र नयाँ विकास गरिनुपर्ने गन्तव्यहरुको विकास, संरक्षण र संवद्र्धनमा सहयकार्य गर्न अनुरोध गरेको छ।

नयाँ गन्तव्य प्रवद्र्धनको लागि डिजिटल प्रविधिको प्रयोग
यसैबीच, मन्त्रालयले तोकेको सयवटा नयाँ गन्तव्यमध्ये ५५ वटामा पर्यटन विभागले डिजिटल नक्सासहितको ऐतिहासिक सूचना उपलब्ध गराउने काम गरिरहेको छ।

५५ वटा गन्तव्यमा कुन ठाउँमा अवस्थित छ, गन्तव्यको मुख्य आकर्षण के–के हुन्? त्यसको ऐतिहासिक, सांस्कृतिक महत्व, यातायातको सुविधा, त्यहाँको वातावरणीय अवस्थालगायतका सम्पूर्ण जानकारी डिजिटल माध्यममा उपलब्ध गराउने काम थालनी भएको छ।

मन्त्रालयले अमेरिकामा बस्ने कुनै पनि नागरिकले गुगलमा नेपाल सर्च गर्दा गन्तव्यको पृष्ठभूमिसहितका वितरण उपलब्ध हुने गरी काम भइरहेको बताएको छ।

यस्तै स्थापित १ सय ४४ वटा गन्तव्यको विवरण मन्त्रालय आफैँले डिजिटाइज गर्ने काम गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad