पछिल्लो समय बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने चिनियाँ र म्यानमारका पर्यटक बढ्दै गएका छन्। अघिल्लो वर्ष भदौ १३ गते म्यानमारका राष्ट्रपति विन मिन्टको लुम्बिनी भ्रमणपछि त्यहाँका नागरिक लुम्बिनी घुम्न अत्यधिक आएका छन्। राष्ट्रपति मिन्टको भ्रमणले म्यानमारेली नागरिकमा लुम्बिनीको महत्व थप बढेको जानकार बताउँछन्। सामान्यरुपमा बढिरहेका चिनियाँ पर्यटक अघिल्लो महिना राष्ट्रपति सी चिनफिङको भ्रमण पछि अझै बढ्ने अपेक्षा गरिएको छ। नेपाल भ्रमणका क्रममा सीले आफ्ना नागरिकलाई नेपाल घुम्न आह्वान गरेका थिए।
लुम्बिनी विकास कोषको तथ्यांकअनुसार सन् २०१९ को १० महिनामा १५ हजार ५२३ जना चिनियाँ लुम्बिनी भ्रमणमा आएका छन्। अघिल्लो वर्ष सन् २०१८ को १० महिनामा १३ हजार १३६ र सन् २०१७ को १० महिनामा १२ हजार ४९७ चिनियाँ पर्यटक लुम्बिनी आएका थिए। ‘चिनियाँहरुमा लुम्बिनीप्रतिको मोह विस्तारै बढ्दै गएको देखिन्छ। त्यहाँका राष्ट्रपति सीको नेपाल भ्रमण भइसकेकाले आगामी दिनमा चिनियाँ अझै धेरै आउने अपेक्षा छ’, कोषका सूचना अधिकारी राजन बस्नेतले भने।
यो वर्ष म्यानमारका २० हजार ३०४ पर्यटक लुम्बिनी आएका छन्। अघिल्लो वर्ष अक्टोबरसम्म १६ हजार ५७१ र २०१७ को १० महिनामा १५ हजार ११२ पर्यटक लुम्बिनी आएका थिए। ‘पछिल्लो समय म्यानमार र चिनियाँ मात्रै होइन्, अरु देशका पर्यटक पनि धेरथोरै बढिरहेका छन्। यो समग्र पर्यटक क्षेत्रका लागि राम्रो कुरा हो’, सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भने, ‘पर्यटन प्रबद्र्धनका कार्यक्रमसँगै अब हामीले पर्यटकको बसाइँ लम्ब्याउनेबारे योजनाबद्ध काम गर्नुपर्छ।’ एक तथ्यांकअनुसार समग्रमा लुम्बिनीमा पर्यटक ३० मिनेट मात्रै अडिन्छन्।
यस्तै, लुम्बिनीमा थाइल्याण्डका पर्यटक समेत बढेका छन्। यो १० महिनामा १८ हजार ६७६ पर्यटक लुम्बिनी भ्रमणमा आएका छन्। अघिल्लो वर्ष सोही अवधिमा १७ हजार २७१ र सन् २०१७ मा १७ हजार २२० पर्यटक आएको कोषको तथ्यांकमा उल्लेख छ। यीसँगै लुम्बिनीमा जापान, मलेसिया, कोरिया, भियतनाम, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, नेदरल्याण्डका पर्यटक समेत बढेका छन्। यस वर्ष कोरियाली ४ हजार ७५७, फ्रान्सका १ हजार ५३३, जर्मनी १ हजार ६२९, भियतनामका ५ हजार २८७, जापानका १ हजार ५९३, मलेसियाका ९ सय १२, अष्ट्रेलियाका १ हजार २५१, नेदरल्याण्डका १ हजार ५०२ जना पर्यटक लुम्बिनी भ्रमणमा आएका छन्।
यी देशका पर्यटक बढीरहँदा आशा गरिएकै मुलुक श्रीलंकाका पर्यटक भने पछिल्ला समय घटेका छन्। सन् २०१९ को १० महिनामा जम्मा ४२ हजार ५०४ जना श्रीलंकन लुम्बिनी भ्रमणमा आएका छन्। अघिल्लो वर्ष सन् २०१८ को १० महिनामा ५१ हजार ४९७ श्रीलंकनहरू लुम्बिनी आएका थिए । अघिल्लो वर्षको तुलनामा ८ हजार ९ सय ९३ पर्यटक कम हुन्। सन् २०१८ भरीमामा श्रीलंकाका ५९ हजार ९ सय ५९ पर्यटक लुम्बिनी आएका थिए। अघिल्लो वर्ष भदौ १७ गते श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले लुम्बिनी भ्रमण गरेका थिए। ‘सिरीसेनाको भ्रमणले लुम्बिनीबासी उत्साहित भएका थियौं तर उत्साहित भएअनुसार पर्यटक नआउँदा केही निराशा भएका छौं’, श्रेष्ठले भने, ‘विविध कारणले हुनसक्छ । आशा गरौं नेपाल भ्रमण वर्षको अवसरमा श्रीलंकनहरु धेरै लुम्बिनी आउनेछन्।’
श्रीलंकनहरू सबै भन्दा बढी लुम्बिनी आउने महिना अगस्त हो। गत वर्ष अगस्तमा १६ हजार ८ सय ९२ जना आउँदा यो वर्षको सोही महिनामा जम्मा १२ हजार ५ सय १६ जना मात्रै लुम्बिनी भ्रमणमा आए। त्यसैगरी फेब्रुअरी, मार्च, सेप्टेम्बर, अक्टोबर, नोभेम्बरमा पनि श्रीलंकन पर्यटक लुम्बिनी बढी आउँछन्। अघिल्लो वर्ष तीन महिनामा क्रमशः ५ हजार ६५१, ११ हजार ५६७, ८ हजार ५८५ र ५ हजार ८९९ तथा नोभेम्बरमा ७ हजार ८६९ पर्यटक आएका थिए। तर अहिले चालु वर्षको फेबु्रअरी बाहेक सबै महिनामा श्रीलंकन पर्यटक घटेका छन्। अझै २ महिना बाँकी रहेकाले श्रीलंकन पर्यटक बढ्ने अपेक्षा विकास कोषले गरेको छ। तर नोभेम्बर महिनामा श्रीलंकामा राष्ट्रपतिको निर्वाचन रहेकाले पर्यटक बढी आउने सम्भावना कम छ।

प्रतिक्रिया