ad ad

कारोबार


लक्ष्मी ग्रुपका श्रेष्ठ भन्छन्– तत्काल डेढ अर्ब बढी लगानी गर्न नसक्ने स्टिल उद्योग बन्द हुन्छन्

लक्ष्मी ग्रुपका श्रेष्ठ भन्छन्– तत्काल डेढ अर्ब बढी लगानी गर्न नसक्ने स्टिल उद्योग बन्द हुन्छन्

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जान श्रेष्ठ । तस्बिर : विजय सिंह


वसन्त अर्याल
पुस २०, २०७८ मंगलबार ७:५४, काठमाडौँ

व्यावसायिक घराना लक्ष्मी ग्रुपले २०१८ मा सिद्धि लक्ष्मी स्टिल उद्योग स्थापना गरेको थियो। बजारमा उपस्थिति बलियो बनाउन ग्रुप बिलेट उद्योग पनि स्थापना गर्न चाहन्थ्यो। 

सोहीअनुसार उसले सन् २०२० को सुरुमै नेपालमै बिलेट उद्योग स्थापना गर्ने तयारी गर्यो। तर कोरोना महामारी फैलियो। त्योसँगै यो योजना स्थगित गर्न बाध्य भयो। 

महामारीका कारण तत्कालीन समयमा स्थगित भएको उक्त योजना बल्ल अघि बढ्दै छ। 

डन्डी उत्पादन गर्न बिलेट चाहिन्छ। त्यही बिलेट उत्पादन गर्दा डन्डी उद्योगलाई पनि सहज हुने सोचेर ग्रुपले बिलेट उद्योग स्थापना गर्न चाहेको हो। 

चालू आर्थिक वर्षमा सिद्धि लक्ष्मीले १ सय मेट्रिक टन डन्डी उत्पादन गर्ने लक्ष्य राखेको छ। गत वर्ष उद्योगले करिब ६० हजार मेट्रिक टन डन्डी उत्पादन गरेको थियो।  

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अन्जान श्रेष्ठ कोभिड नभएको भए बिलेट उद्योग स्थापना भइसक्ने बताउँछन्। 

‘कोभिडको समयमा खर्च बढ्यो आम्दानी घट्यो। त्यसपछि बिलेट उद्योग स्थापना गर्ने प्रक्रिया रोकेँ’, श्रेष्ठले भने।  

कोभिड महामारी सामान्य अवस्थामा फर्किँदै जाँदा बिलेट उद्योग स्थापना गर्ने योजना कायमै थियो। 

सरकारको नीतिले निराश 
तर असोजमा एक्कासि अर्थमन्त्री जनार्दन शर्माले स्पञ्ज आइरन उद्योगलाई पूरै छुट र बिलेट उद्योगलाई थप अन्तःशुल्क लगाउने नीति ल्याए। त्यसपछि श्रेष्ठ निराश बने। 

‘सरकारको नीतिपछि घाटा मात्रै होइन, ‘ब्लिडिङ’(मर्न वा बन्द हुन)को अवस्था छ’, श्रेष्ठले थपे, ‘कुनै पनि बेला उद्योग बन्द हुनसक्छन्।’

श्रेष्ठ केही व्यवसायीले ४–५ रुपैयाँ बढी नाफाको लागि नीति परिवर्तन गराएको बताउँछन्। उनीहरुकै लबिङपछि मन्त्री शर्माले यस्तो नीति लिएको उनको बुझाइ छ।  

धेरै बिलेट उद्योग खुल्दै छन्
सरकारले अहिले स्टिलसम्बन्धी नयाँ नीति नल्याए पनि १ वर्षपछि अधिकांश उद्योगले बिलेट उद्योग स्थापना गर्ने तयारीमा रहेको उनी बताउँछन्। 

‘अरु डन्डी उद्योगले पनि बिलेट उद्योग स्थापना गर्न पाएका भए आफैँ स्वच्छ प्रतिस्पर्धा हुन्थ्यो’, श्रेष्ठ भन्छन्, ‘बिलेट उद्योग स्थापना गरिसकेका उद्योगलाई किलोकै १० रुपैयाँ फाइदा छ। बिलेट आयात गर्ने उद्योग कसरी चल्छन्?’

बिलेट उद्योगले पहिलाको तुलनामा कम्तीमा ४ रुपैयाँ सस्तो हुने बताए पनि १ रुपैयाँ सस्तोमा दिइराखेको श्रेष्ठ बताउँछन्। 

‘हामीले ९९ रुपैयाँ लगायौँ भने बिलेट उद्योगवालाले ९८ रुपैयाँ लगाउँछन्’, उनी भन्छन्, ‘हामी ९८ मा झार्दा ती उद्योगीले ९७ रुपैयाँमा झार्छन्।’

किन असन्तुष्टि? 
बिलेट उद्योगले नेपाली छड उद्योगलाई आफ्नो बिलेट प्रयोग गर्न भने पनि महंगो मूल्य लगाउने गरेका छन्। 

‘नेपाली बिलेट उद्योगीले कलकत्ताबाट नेपाल ल्याउँदा बिलेटको जति मूल्य पर्छ त्यतिमा दिन्छु भन्छन्’, श्रेष्ठले भने, ‘गुणस्तर कस्तो हुन्छ थाहा छैन अनि तीबाट बिलेट किनेर छडमा उनीहरुसँगै प्रतिस्पर्धा गर्नुपर्ने?’

सरकारको नीति परिवर्तनसँगै स्पञ्ज आइरनको आयात पनि ह्वात्तै बढ्यो। १ वर्षमा हुने आयात करिब १ महिनामै आयात भयो। 

‘हामीले यो नीति हटाउनुपर्छ भनेर आवाज उठाउँदै गर्दा बिलेट उद्योगीले बढी नाफा कमाइन्छ भन्दै खपतभन्दा बढी आयात गरे’, उनी भन्छन्, ‘उद्योगमा स्पञ्ज आइरन थुपारेका छन्। अहिले आयात घट्दै गएको छ।’

व्यावसायिक एकता तोडियो
पछिल्लो समय सीमित उद्योगी मिलेर व्यावसायिक एकता तोडेको श्रेष्ठले बताए। व्यवसायीले नीतिगत लबिङ गर्दा आफ्नो मात्रै होइन समग्र उद्योगलाई फाइदा हुने गरी नीति परिवर्तन गर्नुपर्ने उनको भनाइ छ। 

‘सिमेन्ट उद्योगीले लबिङ गर्दा सबै उद्योगीलाई फाइदा हुने नीति बने तर हाम्रोमा केही उद्योगीले मात्रै फाइदा पाए’, श्रेष्ठको गुनासो छ, ‘एउटै क्षेत्रभित्र सीमितले पाउँदा व्यावसायिक एकता भाँडिन्छ नि! भोलि अरु व्यवसायीले पनि आफूलाई मात्र फाइदा हुने नीति अवलम्बन गर्दा व्यावसायिक क्षेत्र के होला?’

सरकारको स्टिल उद्योगसम्बन्धी नीतिले उद्योग बन्दै गराउने अवस्था आएको श्रेष्ठ बताउँछन्। 

‘मन्त्रीलाई चुनौती दिएको छु। यो नीति व्यवसायीको हितमा छैन। तपाईंले सच्याउनुभएन भने पनि तपाईं हटेपछि यो नीति परिवर्तन हुन्छ भनेको छु’, श्रेष्ठले भने।  

तत्काल डेढ अर्ब बढी लगानी गर्न नसक्ने उद्योग बन्द हुन्छन् 
सरकारले बिलेट उद्योगको लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात गर्दा भन्सार शुल्क र अन्तःशुल्कमा पूरै छुट दिएको छ। यस्तो अवस्थामा नेपालमा तत्काल बिलेट उद्योग स्थापना गर्न नसक्ने उद्योग बन्द हुने अवस्थामा रहेको व्यवसायीहरु बताउँछन्। 

‘छड उत्पादन क्षमताको ५० प्रतिशत लगानी गर्दा पनि डेढ अर्बदेखि २ अर्ब लागत लाग्ने देखिन्छ’, उनले भने, ‘सबै व्यवसायीले तत्कालै यत्रो रकम कसरी लगानी गर्न सक्छन्?’

अर्थमन्त्री शर्माले व्यवसायीलाई उद्योगमैत्री नभएको आरोप लगाउने गरेका छन्। माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पनि नेपाली व्यवसायीले पैसा उत्पादन क्षेत्रको सट्टा पैसामै लगानी गरेको ८औँ महाधिवेशन प्रतिवेदनमा उल्लेख गरेका छन्। सेयरबजार र घरजग्गा कारोबार गर्नेलाई प्रचण्डले आलोचना गरेका छन्। 

उद्योगमैत्री वातावरण खोइ? 
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका श्रेष्ठ सरकारले उद्योग सञ्चालन गर्ने वातावरण नबनाउँदा सेयरबजार र घरजग्गा कारोबार बढी हुने बताउँछन्। 

सरकारले उद्योगमैत्री वातावरण नबनाउँदा उद्योगको सट्टा टे«डिङ धेरै सहज भएको उनको भनाइ छ।

‘अर्बौँ लगानी गरेर उद्योग खोल्यो। कुन मन्त्री आएर के नीति बनाउँछ। अनि उद्योगी फस्छ’, उनले स्पष्ट्याउँदै भने, ‘नेपालमा उद्योग खोलेर किन टाउको दुखाउने भन्ने वातावरण सिर्जना गरिएको छ।’

सरकारले पूर्वतयारीविनाका नीति ल्याउँदा नेपाली उद्योगीले सधैँ दुःख पाउनुपरेको उनको गुनासो छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .