कारोबार


अमेरिकी अर्बपति ब्लुमबर्ग पनि राष्ट्रपति बन्ने दौडमा, उम्मेदवारीको तयारी थाले

अमेरिकी अर्बपति ब्लुमबर्ग पनि राष्ट्रपति बन्ने दौडमा, उम्मेदवारीको तयारी थाले

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ८:३०,

संयुक्तराज्य अमेरिकाको न्युयोर्क सहरका पूर्वमेयर एवं अर्बपति व्यापारी माइकल ब्लूमबर्ग सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार हुन तयारी थालेका छन्।

डेमोक्रेटिक पार्टीका तर्फबाट झण्डै डेढ दर्जन आकांक्षी प्रारम्भिक चुनावी दौडमा छन्। अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ७७ वर्षीय ब्लूमबर्गले यसै साता एक अमेरिकी राज्यबाट चुनावका लागि दरखास्त दिने तयारी गरेका हुन्।

ब्लूमबर्गले गत मार्चमा आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका थिए, तर अन्ततः चुनावी दौडमा उत्रिने तयारी गरेका छन्। तैपनि, ब्लूमबर्गका एक जना सल्लाहकारले ब्लूमबर्गले यससम्बन्धी निर्णय नगरिसकेको बताएका छन्।

अमेरिकी अर्बपति व्यापारी समेत रहेका ब्लूमबर्गले आफ्ना सहयोगीलाई अमेरिकी राज्य अलाबामाबाट डेमोक्रेटिक पार्टीको प्राथमिक चुनावी प्रतिस्पर्धाका लागि आफ्नो हस्ताक्षरसहित आवेदन गर्न पठाएका छन्। अलाबामा राज्यमा आवेदन गर्ने शुक्रबार अन्तिम म्याद हो।

अलाबामा राज्यमा पहिलो प्राथमिक चुनाव हुने मात्र होइन, आवेदनको म्याद पनि यहाँ पहिले सकिन्छ ।

डेमोक्रेटिक पार्टीबाट मनोनयन भएमा सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा ब्लूमबर्गको भीडन्त अर्का अमेरिकी अर्बपति व्यापारी एवं राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ।

अमेरिकी धनाढ्य ब्लूमबर्गको चुनावी दौडले हालसम्म डेमोक्रेटिक पार्टीका तर्फबाट अग्रपंक्तिमा देखिएका जो बाइडेनमाथि मुख्य चुनौती खडा गर्नेछ।

अमेरिकी वित्तीय राजधानी वालस्ट्रिट निकट मानिएका ब्लूमबर्गले राष्ट्रपतिको दौडमा रहका अर्का प्रभावशाली उम्मेदवारहरु एलिजाबेथ वारेन र बर्नी स्यान्डर्सलाई बामपन्थी झुकाव राख्ने भन्दै आलोचना पनि गर्ने गरेका छन्।

न्यूयोर्क पोस्टमा छापिएको एक समाचारमा ब्लूमबर्गका निकटस्थले “ब्लूमबर्गको विचारमा जो बाइडेन कमजोर छन् र स्यान्डर्स एवं वारेनले चुनाव जित्दैनन् ।”

ब्लूमबर्गको उपस्थितिले डेमोक्रेटिक पार्टीभित्र राष्ट्रपतिको उम्मेदवार हुन चाहनेका आकांक्षीको भीडमा अरु एक व्यक्ति थपिनेछन् । हाल १७ जना नेता उम्मेदवारी दौडमा छन् ।

एलिजाबेथ वारेनले ट्वीट गर्दै ब्लूमबर्गलाई चुनावी दौडमा स्वागत गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad