राजनीति


भारतीय दूतावास अगाडि नाराः कालापानी हाम्रो हो, ‘ब्याक अफ इन्डिया’

भारतीय दूतावास अगाडि नाराः कालापानी हाम्रो हो, ‘ब्याक अफ इन्डिया’

नेपालखबर
कात्तिक २२, २०७६ शुक्रबार ८:१०,

 सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले भारतले कालापानी, लिपुलेक लगायतको नेपाली भूमिलाई आफ्नो नयाँ नक्सामा समावेश गरेको विरोधमा भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेको छ।

शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म १ घण्टा विद्यार्थीहरुले लैनचौरस्थित भारतीय दूतावास धर्ना दिनुका साथै प्रदर्शन गरेका हुन्।

अस्कल क्याम्पसबाट सुरु भएको जुलुस लैनचौर पुगी एक घण्टाको धर्नापछि कोणसभामा परिणत भएको अनेरास्ववियुका नेता विजय गौतमले जानकारी दिए।

धर्नामा रहेका विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक र कालापानी हाम्रै हो’, ‘नेपालको भूमि मिच्न दिँदैनौँ’, ‘भारतीय विस्तारबाद मूर्दावाद’ लगायतका नारा लगाएका थिए।

धर्नापछि आयोजित कोणसभालाई अनेरास्ववियका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सम्बोधन गरेका थिए।

उनीहरुले नेपालको भूमि एक इन्च पनि मिच्न नदिने भन्दै सीमा मिचिएको विषयलाई अन्तराष्ट्रियकरण गर्ने चेतावनी दिए।

‘भारत हाम्रो छिमेकी हो, हामीले जस्तै उसले पनि आफ्नो छिमेकीको सम्मान गर्न सिक्नुपर्छ’, कोणसभामा संयोजक महरले भने, ‘हामी हाम्रो एक इन्च भूभाग पनि दायाँ बायाँ हुन दिँदैनौँ।’

काकेणसभालाई सम्बोधन गर्दै सहसंयोजक तामाङले भारतले सीमा मिचेको विषयलाई अनेरास्ववियले अन्तराष्ट्रियकरण गर्ने बताए।

अनेरास्ववियुले भारतले सीमा मिचेको विषयमा आइतबार पराराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण गराउने र सोमबार संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा निवेदन दिने कार्यक्रम रहेको नेता विजय गोतमले जानकारी दिए।

‘सीमा मिचेको यो पहिलो पटक होइन्, भारतले नेपाललाई हेपेर पटक–पटक यस्ता गतिविधि गर्दै आएको छ’, नेपालखबरसँग कुरा गर्दै गौतमले भने, ‘हामीले गरेको खबरदार र अनुरोधनले नभएपछि यसलाई अन्तराष्ट्रियकरण गर्न लागेका हौँ।’

शुक्रबार बिहान नै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंधले पनि दूतावास अगाडि विरोध प्रदर्शन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad